YouVersion लोगो
खोज आइकन

व्यवस्था 5:6-22

व्यवस्था 5:6-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ। “मबाहेक अरू कुनै देवी-देवताहरू नमान्‍नू। “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु। “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। “परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू। छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌। तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्‍याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्‍वरले शबाथ मान्‍न तिमीहरूलाई आज्ञा गर्नुभएको हो। परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा दिनुभएझैँ आफ्‍ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्‍यहाँ तिमीहरूको भलो होस्‌। “हत्‍या नगर्नू। “व्‍यभिचार नगर्नू। “चोरी नगर्नू। “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। “आफ्‍नो छिमेकीका पत्‍नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्‍यसको कुनै पनि वस्‍तुको लालच नगर्नू।” यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्‍धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।

शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्

व्यवस्था 5:6-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“म नै याहवेह, तेरा परमेश्‍वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ। “मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू। आफ्ना निम्ति खोपेर माथि आकाशको, तल पृथ्वीको, र पानी मुनिको कुनै पनि वस्तुको कुनै मूर्ति नबनाउनू। तिनीहरूका सामु ननिहुरनू अथवा तिनीहरूको आराधना नगर्नू; किनकि म, याहवेह तेरा परमेश्‍वर, डाह गर्ने परमेश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका पापको दण्ड तिनीहरूका छोराछोरीका तेस्रो र चौथो पुस्तामाथि दिन्छु; तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेका हजारौँ पुस्तामाथि प्रेम देखाउँछु। तैँले याहवेह, आफ्ना परमेश्‍वरको नामको गलत प्रयोग नगर्नू; किनकि उहाँको नाम व्यर्थैमा लिनेलाई याहवेहले निर्दोष ठहराउनुहुनेछैन। शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू। छ दिनसम्म तैँले परिश्रम गरेर आफ्ना सबै काम गर्नू; तर सातौँ दिन याहवेह तेरा परमेश्‍वरका निम्ति शब्बाथ हो। यस दिन तैँले केही काम नगर्नू, न त तैँले, तेरा छोरा वा छोरीले, न तेरा सेवक वा सेविकाले, न त तेरा गोरुले, गधाले, वा तेरा कुनै पशुले, न तेरा सहरभित्र भएका परदेशीले, न त कसैले केही काम गर्नू, ताकि तँसँगै तेरा सेवक-सेविकाले आराम पाऊन्। तिमीहरू इजिप्टमा दास हुँदा कसरी याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो शक्तिशाली हात र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई शब्बाथ मान्‍न आज्ञा गर्नुभएको हो। तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्‍वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्। तैँले मानव हत्या नगर्नू। तैँले व्यभिचार नगर्नू। तैँले चोरी नगर्नू। तैँले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू। तैँले आफ्नो छिमेकीको घर वा जमिनको लालच नगर्नू। तैँले आफ्नो छिमेकीको पत्नीको लालच नगर्नू, अथवा आफ्नो छिमेकीको सेवक वा सेविका, गोरु वा गधा, अथवा त्यससित भएको कुनै कुराको पनि लालच नगर्नू।” याहवेहले पर्वतमा भेला भएका सारा समुदायलाई आगो, बादल र घोर अन्धकारबाट चर्को सोरले घोषणा गर्नुभएका आज्ञाहरू यिनै हुन्; अनि उहाँले अरू केही थप्नुभएन। त्यसपछि उहाँले दुई वटा ढुङ्गाका पाटीहरूमा ती लेख्नुभयो, र मलाई दिनुभयो।

शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्

व्यवस्था 5:6-22 पवित्र बाइबल (NERV)

‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ। ‘तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन। ‘तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु। ‘यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन। ‘विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो। सातामा छ दिन आफ्नो काम गर। तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन। यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ। ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ। ‘तिमीहरूले कसैको हत्या गर्नु हुँदैन। ‘तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन। ‘तिमीहरूले कुनै चीज चोर्नु हुँदैन। ‘तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन। ‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।’” मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।

शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्

व्यवस्था 5:6-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरू कमारा-कमारी भई बसेका देश मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याएँ। “मबाहेक अरू कुनै ईश्‍वरलाई तिमीहरूले नपुज्‍नू। “ ‘तिमीहरूले आफ्‍नो लागि स्‍वर्ग र पृथ्‍वी वा पृथ्‍वीमुनिका पानीमा भएका कुनै पनि कुराको मूर्ति नबनाउनू। कुनै मूर्तिको अघि तिमीहरूले टाउको ननिहुराउनू अनि त्‍यसलाई नपुज्‍नू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ र यस्‍तो विरोधीलाई सहँदिनँ। मलाई घृणा गर्नेहरू र तिनका सन्‍तानमाथि तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड दिन्‍छु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञा मान्‍नेहरूमाथि हजारौँ पुस्‍तासम्‍म म आफ्‍नो प्रेम देखाउँछु। “व्‍यर्थैमा मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वरले मेरो नाम दुरुपयोग गर्नेहरूलाई दण्‍ड दिनेछु। “म तिम्रा परमेश्‍वर परमप्रभुले आज्ञा गरेअनुसार विश्रामको दिन मान्‍नू र त्‍यसलाई पवित्र राख्‍नू। तिमीहरूले छ दिनसम्‍म काम गर्नेछौ, तर सातौँ दिन मलाई अर्पण गरेको विश्रामको दिन हो। त्‍यो दिन कसैले काम नगर्नू– तिमीहरू, तिम्रा छोरा-छोरीहरू, कमारा-कमारी, जीव-जन्‍तु, तिम्रा देशमा बास गर्ने विदेशी कसैले काम नगरोस्। तिम्रा कमारा-कमारीहरूले पनि तिमीहरूले झैँ विश्राम गर्नुपर्छ। याद राख कि मिश्रमा तिमीहरू कमारा-कमारी थियौ र म परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो महान् शक्ति र बलले तिमीहरूलाई बचाइ ल्‍याएँ। त्‍यसैकारण म तिमीहरूलाई विश्रामको दिन मान्‍न आज्ञा गर्दछु। “म तिम्रा परमेश्‍वर परमप्रभुले आज्ञा गरेअनुसार आ-आफ्‍ना आमा-बुबालाई आदर गर। त्‍यसो गरे, सबै कुरामा तिमीहरूलाई भलो हुनेछ र मैले तिमीहरूलाई दिन लागेको देशमा धेरै दिनसम्‍म बाँच्‍न सक्‍नेछौ। “हत्‍या नगर! “व्‍यभिचार नगर! “चोरी नगर! “कसैलाई झूटो दोष नलगाऊ। “अर्काकी स्‍वास्‍नीको लालच नगर, उसको घर वा जमिन, कमारा-कमारी, गाई-वस्‍तु, गधाहरू र ऊसँग भएका अरू कुनै कुराको लालच नगर।’ “पर्वतमा भेला भएका बेलामा तिमीहरू सबैलाई परमप्रभुले दिनुभएका आज्ञाहरू यी नै हुन्। आगो र बाक्‍लो बादलका बीचबाट उहाँ बोल्‍नुहुँदा अरू होइन तर यी नै आज्ञाहरू दिनुभएको थियो। त्‍यसपछि ती आज्ञा उहाँले दुईवटा ढुङ्गाका पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो।

शेयर गर्नुहोस्
व्यवस्था 5 पढ्नुहोस्