‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ। ‘तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन। ‘तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन। कुनै मूर्तिको सेवा तथा पूजा नगर। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरूद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु। तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु। ‘यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन। ‘विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो। सातामा छ दिन आफ्नो काम गर। तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन। यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ। ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ। ‘तिमीहरूले कसैको हत्या गर्नु हुँदैन। ‘तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन। ‘तिमीहरूले कुनै चीज चोर्नु हुँदैन। ‘तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन। ‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।’” मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियौ। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।
व्यवस्थाको पुस्तक 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्थाको पुस्तक 5:6-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू