YouVersion लोगो
खोज आइकन

व्यवस्था 4:1-14

व्यवस्था 4:1-14 NCV

अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ। मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्नू। बाल-पिओरमा याहवेहले के गर्नुभएको थियो, त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पिओरमा बालको पछि लाग्ने हरेकलाई तिमीहरूका बीचबाट याहवेह तिमीहरूका परमेश्‍वरले नाश गर्नुभयो। तर याहवेह तिमीहरूका परमेश्‍वरसँग विश्‍वासयोग्य रहेका जति सबै आजसम्म जीवितै छौ। हेर, मैले याहवेह मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ, तिमीहरूलाई उर्दीहरू र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक। तिमीहरूले ती होसियारीसाथ पालन गर; किनकि ती पालन गर्नाले जाति-जातिहरूले तिमीहरूका बुद्धि र समझशक्ति देख्नेछन्, र तिनीहरूले यी उर्दीहरू सुनेर भन्‍नेछन्, “वास्तवमै यो महान् जाति बुद्धिमान् र समझदार मानिसहरू रहेछन्।” हामीले प्रार्थना गर्दा याहवेह हाम्रा परमेश्‍वर नजिक हुनुभएजस्तै, अरू कुनचाहिँ जाति यति महान् होला, जसको ईश्‍वर तिनीहरूका नजिक रहन्छ? अनि मैले आज तिमीहरूलाई दिएका व्यवस्थाहरूजस्तै धार्मिक उर्दीहरू र व्यवस्थाहरू भएका अर्को कुनचाहिँ महान् जाति छ र? केवल होशियार बस, र आफूलाई नियालेर हेर; ताकि तिमीहरू बाँचुन्जेल तिमीहरूका आँखाले देखेका कुराहरू नबिर्सिऊन् अथवा ती तिमीहरूका हृदयबाट हराएर नजाऊन्। ती आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ। तिमीहरू होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरको सामु खडा भएको दिन नबिर्सनू; जुन दिन उहाँले मलाई यसरी भन्‍नुभएको थियो, “समुदायलाई मेरो कुरा सुन्‍न मेरो सामु भेला गर्; ताकि तिनीहरू यस देशमा बाँचुन्जेल मेरो आदर गर्न सिकून्। अनि तिनीहरूले आफ्ना भावी सन्तानहरूलाई पनि सिकाऊन्।” तिमीहरू नजिक आएर पर्वतको फेदमा उभियौ। त्यस पर्वतमा घोर अन्धकार र कालो बादल घोर अन्धकारसँगै आगोको ज्वाला आकाशसम्मै उठिरहेको थियो। तब याहवेह तिमीहरूसँग त्यस आगोबाट बोल्नुभयो। तिमीहरूले बोल्दै गरेका शब्दहरूको आवाज सुन्यौ; र कुनै आकृति देखेनौ, तर त्यहाँ आवाज मात्र सुनियो। उहाँले आफ्नो करार, आफ्ना दश आज्ञाहरू तिमीहरूले पालन गर्नू भनेर तिमीहरूलाई घोषणा गर्नुभयो। त्यसपछि ती आज्ञाहरूलाई ढुङ्गाका दुई वटा पाटीहरूमा लेखिदिनुभयो। अनि त्यस बेला याहवेहले मलाई तिमीहरूले यर्दन नदी पार गरेर अधिकार गर्ने देशमा पुगेर पालन गर्न उर्दीहरू र व्यवस्थाहरू सिकाउनू भन्‍ने आज्ञा दिनुभयो।

व्यवस्था 4 पढ्नुहोस्