YouVersion लोगो
खोज आइकन

व्यवस्था 4

4
आज्ञाकारी हुनलाई आदेश
1अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ। 2मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।
3बाल-पिओरमा याहवेहले के गर्नुभएको थियो, त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पिओरमा बालको पछि लाग्ने हरेकलाई तिमीहरूका बीचबाट याहवेह तिमीहरूका परमेश्‍वरले नाश गर्नुभयो। 4तर याहवेह तिमीहरूका परमेश्‍वरसँग विश्‍वासयोग्य रहेका जति सबै आजसम्म जीवितै छौ।
5हेर, मैले याहवेह मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ, तिमीहरूलाई उर्दीहरू र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक। 6तिमीहरूले ती होसियारीसाथ पालन गर; किनकि ती पालन गर्नाले जाति-जातिहरूले तिमीहरूका बुद्धि र समझशक्ति देख्नेछन्, र तिनीहरूले यी उर्दीहरू सुनेर भन्‍नेछन्, “वास्तवमै यो महान् जाति बुद्धिमान् र समझदार मानिसहरू रहेछन्।” 7हामीले प्रार्थना गर्दा याहवेह हाम्रा परमेश्‍वर नजिक हुनुभएजस्तै, अरू कुनचाहिँ जाति यति महान् होला, जसको ईश्‍वर तिनीहरूका नजिक रहन्छ? 8अनि मैले आज तिमीहरूलाई दिएका व्यवस्थाहरूजस्तै धार्मिक उर्दीहरू र व्यवस्थाहरू भएका अर्को कुनचाहिँ महान् जाति छ र?
9केवल होशियार बस, र आफूलाई नियालेर हेर; ताकि तिमीहरू बाँचुन्जेल तिमीहरूका आँखाले देखेका कुराहरू नबिर्सिऊन् अथवा ती तिमीहरूका हृदयबाट हराएर नजाऊन्। ती आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ। 10तिमीहरू होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरको सामु खडा भएको दिन नबिर्सनू; जुन दिन उहाँले मलाई यसरी भन्‍नुभएको थियो, “समुदायलाई मेरो कुरा सुन्‍न मेरो सामु भेला गर्; ताकि तिनीहरू यस देशमा बाँचुन्जेल मेरो आदर गर्न सिकून्। अनि तिनीहरूले आफ्ना भावी सन्तानहरूलाई पनि सिकाऊन्।” 11तिमीहरू नजिक आएर पर्वतको फेदमा उभियौ। त्यस पर्वतमा घोर अन्धकार र कालो बादल घोर अन्धकारसँगै आगोको ज्वाला आकाशसम्मै उठिरहेको थियो। 12तब याहवेह तिमीहरूसँग त्यस आगोबाट बोल्नुभयो। तिमीहरूले बोल्दै गरेका शब्दहरूको आवाज सुन्यौ; र कुनै आकृति देखेनौ, तर त्यहाँ आवाज मात्र सुनियो। 13उहाँले आफ्नो करार, आफ्ना दश आज्ञाहरू तिमीहरूले पालन गर्नू भनेर तिमीहरूलाई घोषणा गर्नुभयो। त्यसपछि ती आज्ञाहरूलाई ढुङ्गाका दुई वटा पाटीहरूमा लेखिदिनुभयो। 14अनि त्यस बेला याहवेहले मलाई तिमीहरूले यर्दन नदी पार गरेर अधिकार गर्ने देशमा पुगेर पालन गर्न उर्दीहरू र व्यवस्थाहरू सिकाउनू भन्‍ने आज्ञा दिनुभयो।
मूर्तिपूजा निषेध गरिएको
15होरेब पर्वतमा याहवेह तिमीहरूसँग आगोबाट कुरा गर्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। यसकारण तिमीहरू आफैँ होशियार बस। 16यसकारण भ्रष्‍ट भएर आफ्ना निम्ति कुनै प्रकारको प्रतिमूर्ति, पुरुष अथवा स्त्रीको रूपमा, 17अथवा पृथ्वीमा भएको कुनै पशुको अथवा आकाशमा उड्ने कुनै चराको, 18अथवा जमिनमा हिँड्ने कुनै जन्तुको अथवा पानीमा भएको माछाको प्रतिमूर्ति नबनाउनू। 19अनि तिमीहरूले आकाशतिर हेर्दा घाम, जुन र ताराहरू सबै शक्तिहरू देख्यौ भने तिनीहरूका अगि ननिहुरनू। अनि याहवेह तिमीहरूका परमेश्‍वरले आकाशमुनि भएका सबै जातिहरूलाई दिनुभएका सबै चीजहरू पूजा गर्नलाई तिमीहरू नलोभिनू। 20तर तिमीहरूका निम्ति याहवेहले तिमीहरूलाई अहिले भएजस्तै उहाँको उत्तराधिकारका मानिसहरू बन्‍न तिमीहरूलाई त्यस फलाम पगाल्ने भट्टीजस्तो इजिप्टबाट निकालेर ल्याउनुभयो।
21तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभयो। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक अधिकारझैँ दिनुहुने उत्तम देशमा जानलाई मैले यर्दन पार गर्न पाउनेछैन भनी उहाँले शपथ खानुभयो। 22म त यसै देशमा मर्नेछु। म यर्दन नदी पार गर्नेछैन; तर तिमीहरू यर्दन पार भएर त्यस उत्तम देशमा अधिकार गर्न लागेका छौ। 23यसैले याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूसँग गर्नुभएको करार नबिर्सनू। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मनाही गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाउनू। 24किनकि याहवेह तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो, डाह गर्ने परमेश्‍वर हुनुहुन्छ।
25तिमीहरूका छोराछोरी र नातिनातिना जन्मिसकेपछि र त्यस देशमा धेरै समय बसिसकेपछि, अर्थात् यदि तिमीहरू भ्रष्‍ट भएर कुनै किसिमका प्रतिमूर्ति बनायौ र याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई रिस उठायौ भने, 26म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु। तिमीहरू अधिकार गर्नलाई यर्दन नदी पार गरेर जान लागेको त्यस देशबाट चाँडै नष्‍ट हुनेछौ। तिमीहरू त्यहाँ लामो समयसम्म बस्‍न पाउनेछैनौ, तर निश्‍चय नै नष्‍ट पारिनेछौ। 27याहवेहले तिमीहरूलाई जाति-जातिहरूका बीचमा छरपस्ट पार्नुहुनेछ। अनि जुन जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र जीवित रहनेछौ। 28त्यहाँ तिमीहरूले मानिसहरूले काठ र ढुङ्गाबाट बनाएका देख्न नसक्ने, सुन्‍न नसक्ने, खान नसक्ने र सुँघ्न नसक्ने देवी-देवताहरूका पूजा गर्नेछौ। 29तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ। 30जब तिमीहरू सङ्कष्‍टमा पर्छौ र यी सबै कुराहरू तिमीहरूमा आइपर्नेछन्, तब आखिरमा तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्कनेछौ। अनि उहाँका आज्ञाहरू पालन गर्नेछौ। 31किनकि याहवेह तिमीहरूका परमेश्‍वर कृपालु परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन; न त नाश गर्नुहुनेछ अथवा तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा निश्‍चित गर्नुभएको करार उहाँले बिर्सनुहुनेछैन।
याहवेह नै परमेश्‍वर हुनुहुन्छ
32अब पहिलेका दिनहरूको बारेमा तिमीहरूका समयभन्दा धेरै पहिलेका समयको, जुन दिन परमेश्‍वरले पृथ्वीमा मानिसलाई सृष्‍टि गर्नुभयो, त्यस बारेमा सोधिहेर। आकाशका एक छेउदेखि अर्को छेउसम्मका कुराहरू सोधपुछ गरिहेर। के यस्तो महान् कुरा कहिल्यै भएको छ, अथवा के यस्तो कुनै कुरा कहिल्यै सुनिएको छ? 33के कुनै अरू मानिसहरूले तिमीहरूले सुनेको जस्तै परमेश्‍वर आगोबाट बोल्नुभएको आवाज सुनेर तिमीहरूजस्तै जीवित रहेका छन्? 34याहवेह तिमीहरूका परमेश्‍वरले इजिप्टमा तिमीहरूकै आँखाको सामु गर्नुभएका विपत्तिद्वारा, अलौकिक चिन्हहरूद्वारा, अद्‌भुत कार्यहरूद्वारा, चमत्कारद्वारा, युद्धद्वारा, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा अथवा महान् र उदेकका कामहरूद्वारा के कुनै देवताले यी कार्यद्वारा अरू जातिहरूबाट आफ्ना निम्ति एउटा जातिलाई कहिल्यै लिएको छ?
35याहवेह नै परमेश्‍वर हुनुहुन्छ; उहाँबाहेक अर्को परमेश्‍वर कोही छैन भनी बुझाउनलाई यी सबै कुराहरू तिमीहरूलाई देखाइएका हुन्। 36तिमीहरूलाई शिक्षा दिनलाई स्वर्गबाट उहाँले तिमीहरूलाई आफ्नो सोर सुन्‍न लगाउनुभयो। पृथ्वीमा उहाँले तिमीहरूलाई आफ्नो महान् आगो देखाउनुभयो र आगोको बीचबाट तिमीहरूले उहाँका शब्दहरू सुन्यौ। 37उहाँले तिमीहरूका पितापुर्खाहरूलाई प्रेम गर्नुभएको कारण तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो। उहाँले तिमीहरूलाई उहाँको उपस्थिति र उहाँको महान् शक्तिद्वारा इजिप्टबाट बाहिर निकालेर ल्याउनुभयो। 38उहाँले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई तिमीहरूकै सामु धपाउन र तिनीहरूको देशमा तिमीहरूलाई ल्याउनुभएको थियो, र त्यो तिमीहरूलाई पैतृक अधिकारको रूपमा दिनलाई यस्तो गर्नुभएको थियो; जुन आजसम्मै तिमीहरूसँग छँदैछ।
39माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्‍वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर। 40मैले आज तिमीहरूलाई दिएका उहाँका उर्दीहरू र आज्ञाहरू पालन गर; ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सधैँका निम्ति दिनुभएको देशमा तिमीहरू र तिमीहरूका भावी सन्तानहरूलाई असल होस्।
शरणका लागि सहरहरू
41तब मोशाले यर्दन नदीको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे। 42यदि कसैले योजना गरेर जानाजानी होइन, तर अनजानमा आफ्नो छिमेकीलाई मारेको छ भने त्यो मानिस ती सहरहरूमा भागेर जाओस्। हत्याराले यी सहरहरूमध्ये कुनै एक सहरमा भागेर आफ्नो प्राण बचाओस्। 43ती शरणका सहरहरू यिनै थिए: रूबेनीहरूका निम्ति उजाडस्थानको मरुभूमिमा रहेको बेसेर सहर; गादीहरूका निम्ति गिलादमा भएको रामोत सहर र मनश्शेहरूका निम्ति बाशानमा भएको गोलान सहर।
व्यवस्थाको परिचय
44मोशाले इस्राएलीहरूको सामु राखिदिएको व्यवस्था यही हो। 45तिनीहरू इजिप्टबाट निस्केर आएपछि मोशाले तिनीहरूलाई दिएका नियमहरू, उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्। 46त्यस बेला तिनीहरू हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा यर्दन नदीको पूर्वपट्टिको बेथ-पोर सहरको नजिक बेँसीमा थिए। इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा मोशाले सीहोन राजालाई पराजित गरेका थिए। 47तिनीहरूले यर्दन नदीको पूर्वपट्टि भएका एमोरीहरूका दुई जना राजाहरू अर्थात् सीहोन र बाशानका राजा ओगका देशहरूलाई अधीनमा लिए। 48यो देश अर्नोन बेँसीमा भएको अरोएर सहरदेखि सिरियोन#4:48 केही प्राचीन पा.लि.हरूमा सियोन पर्वत (अर्थात् हेर्मोन) सम्म फैलिएको थियो। 49अनि पिसगाको भीरदेखि मुन्तिर मृत सागर#4:49 मूल भाषामा अराबा सागर हुँदै यर्दन नदीको पूर्वपट्टिको सम्पूर्ण अराबा मैदानसम्म थियो।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 4: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्