YouVersion लोगो
खोज आइकन

व्यवस्था 4:1-14

व्यवस्था 4:1-14 NNRV

अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्‍यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ। मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्‍वरका आज्ञाहरू पालन गर्नू। बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्‍यो तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्‍ने सबै मानिसहरूलाई परमप्रभु परमेश्‍वरले तिमीहरूका मध्‍येबाट नाश गर्नुभयो। तर परमप्रभु तिमीहरूका परमेश्‍वरसित लागिरहने तिमीहरूमध्‍येको प्रत्‍येक आजसम्‍म जीवित छ। हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु। तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्‍नेछन्, “अवश्‍य यस महान्‌ जातिका मानिसहरू खूबै बुद्धिमान्‌ र समझदार रहेछन्‌” हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्‍वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्‍वर यति नजिक भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ? मैले तिमीहरूलाई आज दिने यो व्‍यवस्‍थाजस्‍तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान्‌ जाति छ? तर होशियार बस र आफ्‍नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्‌। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ। होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने उभिएको दिनको सम्‍झना गर, जब उहाँले मलाई भन्‍नुभयो, “मेरा वचन सुन्‍नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्‍यस देशमा बाँचुञ्‍जेल तिनीहरूले मेरो डर मान्‍न सिकून्‌ अनि ती वचन आफ्‍ना छोराछोरीहरूलाई पनि सिकाऊन्‌।” पर्वतमा आगो दन्‍केर आकाशसम्‍मै पुग्‍यो, र बाक्‍लो बादल आएर त्‍यहाँ घोर अन्‍धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ। तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्‍नुभयो। त्‍यस बेला तिमीहरूले शब्‍दको आवाज मात्र सुन्‍यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्‍यौ। उहाँले आफ्‍नो करार, आफ्‍ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो। यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्‍ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्‍यस बेला मलाई दिनुभयो।