तिनले भने: “याहवेह सीनै पर्वतबाट आउनुभयो, र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो; उहाँ पारान पर्वतबाट चम्कनुभयो। उहाँको पर्वतको ओरालो, दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो। निश्चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ; सबै पवित्र जनहरू तपाईंका हातमा छन्। तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्; र तपाईंबाट नै अर्तीहरू प्राप्त गर्दछन्। याकोबका मानिसहरूका सम्पत्ति भनेको नै मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्। उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए। “रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्; न त त्यसका मानिसहरू थोरै होऊन्।” अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!” लेवीको बारेमा तिनले भने: “तपाईंको तुम्मीम र ऊरीम तपाईंको विश्वासयोग्य सेवकका हुन्। तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो; तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो। त्यसले आफ्नो बुबा र आमालाई भन्यो, ‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’ त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन, र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन; तर त्यसले तपाईंको वचनमा ध्यान दियो, र तपाईंको करारको रक्षा गर्यो। त्यसले याकोबलाई तपाईंको विधि र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ। त्यसले तपाईंको सामु धूप र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ। हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्, र त्यसका हातका परिश्रमहरूमा प्रसन्न हुनुहोस्। त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्, र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!” बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।” योसेफको बारेमा तिनले भने: “याहवेहले त्यसको भूमिलाई माथि आकाशका बहुमूल्य शीत र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ; सूर्यले ल्याउने उत्तम कुराहरूले, र चन्द्रमाबाट प्राप्त हुने अति असल कुराहरूले; प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले, अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले; पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले, अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले। यी सबै योसेफको शिरमाथि, तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्। वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ; त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्। ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्नेछ; पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि, ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्; मनश्शेका हजारौँ-हजारझैँ छन्।” जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्। तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्त धनमा भोज गर्नेछन्।” गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ। त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो; अगुवाको भाग त्यसका निम्ति राखिएको थियो। जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए, तब त्यसले याहवेहका धार्मिक इच्छा र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।” दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।” नप्तालीको बारेमा तिनले भने: “नप्ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।” आश्शेरको बारेमा तिनले भने: छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो; त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्; र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्। तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्। अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्। यशूरूनका परमेश्वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ। अनन्तका परमेश्वर तेरो शरणस्थान हुनुहुन्छ, र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्। उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ। उहाँले भन्नुहुन्छ, “तिनीहरूलाई नष्ट पार्!”
व्यवस्था 33 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 33:2-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू