YouVersion लोगो
खोज आइकन

व्यवस्था 28:2-13

व्यवस्था 28:2-13 NCV

यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यी सबै आशिष्‌हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्: याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ। याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्‍नबाली, तिमीहरूका बथान र बगालका बच्‍चाहरूमा आशिष् दिनुहुनेछ। तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ। तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ। तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्। याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ। तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्। तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ। तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ। याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्‍यौ भने तिमीहरू सधैँ उच्‍चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।

व्यवस्था 28 पढ्नुहोस्