YouVersion लोगो
खोज आइकन

व्यवस्था 28:2-13

व्यवस्था 28:2-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌: तिमीहरूले सहरमा आशिष्‌ पाउनेछौ, र गाउँ-बस्‍तीमा आशिष्‌ पाउनेछौ। तिमीहरूका सन्‍तानमाथि आशिष्‌ पर्नेछ, साथै खेतका उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि। तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्‌ने आरीमा आशिष्‌ पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष्‌ पाउनेछौ। तिमीहरूका विरुद्धमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्‍त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्‍नेछन्‌। परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्‍नो लागि एक पवित्र जाति बनाएर स्‍थापित गर्नुहुनेछ। तब पृथ्‍वीका समस्‍त मानिसहरूले तिमीहरू परमप्रभुका नाउँले कहलिएका हौ भनी थाहा पाउनेछन्‌ र तिमीहरूसँग डराउनेछन्‌। तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका सन्‍तान, गाईबस्‍तु र भूमिको उब्‍जनीमाथि परमप्रभुले प्रशस्‍त उन्‍नति दिनुहुनेछ। परमप्रभुले आकाश, आफ्‍नो प्रशस्‍तताको भण्‍डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष्‌ दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्‍यान दिएर ती होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्‍छर होइन तर शिर तुल्‍याउनुहुनेछ। तिमीहरू सधैँ टुप्‍पामा हुनेछौ, कहिल्‍यै फेदमा पर्नेछैनौ।

शेयर गर्नुहोस्
व्यवस्था 28 पढ्नुहोस्

व्यवस्था 28:2-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यी सबै आशिष्‌हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्: याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ। याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्‍नबाली, तिमीहरूका बथान र बगालका बच्‍चाहरूमा आशिष् दिनुहुनेछ। तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ। तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ। तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्। याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गर्‍यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ। तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्। तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ। तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ। याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्‍यौ भने तिमीहरू सधैँ उच्‍चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।

शेयर गर्नुहोस्
व्यवस्था 28 पढ्नुहोस्

व्यवस्था 28:2-13 पवित्र बाइबल (NERV)

यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्। “शहरमा र गाउँ-बस्तीमा परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ। परमप्रभुले तिमीहरूका धेरै नानीहरू होस् भनी आशिष दिनु हुनेछ। परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ, जसले गर्दा उब्जाऊ बेशी हुनेछ। परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ, र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्। परमप्रभुले तिमीहरूको डालाहरू र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ, अनि सधैँ खाद्य पर्दाथले भर्नु हुनेछ। परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ। “तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्। “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ। यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुशरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ। तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्। “तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ। आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन। परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैँमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ।

शेयर गर्नुहोस्
व्यवस्था 28 पढ्नुहोस्

व्यवस्था 28:2-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान र तिमीहरूले यी सबै आशिष्‌हरू पाउनेछौ: “परमप्रभुले तिम्रा सहर र खेतबारीहरूलाई आशिष् दिनुहुनेछ। “परमप्रभुले तिमीहरूलाई धेरै छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू र प्रशस्‍त अन्‍नबाली दिएर आशिष् दिनुहुनेछ। “परमप्रभुले तिम्रा उब्‍जनीका अन्‍न र तीबाट तयार गरिएका भोजनमाथि आशिष् दिनुहुनेछ। “परमप्रभुले तिम्रा हर काममा आशिष् दिनुहुनेछ। “तिम्रा बैरीले हमला गरेको बेलामा परमप्रभुले तिनको हार गराउनुहुनेछ। तिनीहरूले एक बाटोबाट हमला गर्न आउनेछन् तर सात बाटो भएर भाग्‍नेछन्। “परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा काममा आशिष् दिनुहुनेछ र ढुकुटीहरू अन्‍नले भरिदिनुहुनेछ। अनि उहाँले दिन लाग्‍नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ। “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मान्‍यौ र उहाँले आज्ञा गर्नुभएको हर कुरा गर्‍यौ भने उहाँले आफ्‍नो प्रतिज्ञाअनुसार तिमीहरूलाई आफ्‍नो निजी प्रजा बनाउनुहुनेछ। तब पृथ्‍वीका सारा जातिले तिमीहरूलाई परमप्रभुले आफ्‍नो निजी प्रजा गरी चुन्‍नुभएको छ भनी देख्‍नेछन् र तिमीहरूसित डराउनेछन्। तिम्रा पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा परमप्रभुले तिमीहरूलाई धेरै-धेरै सन्‍तान र गाई-वस्‍तु अनि प्रशस्‍त अन्‍नबाली दिनुहुनेछ। आकाशको आफ्‍नो भरिभराउ भण्‍डारबाट वर्षा ऋतुमा उहाँले पानीको झरी दिनुहुनेछ र तिम्रा सबै काममा आशिष् दिनुहुनेछ र तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ। तर तिमीहरूले चाहिँ उनीहरूबाट केही कुरा ऋण लिनुपर्नेछैन। परमप्रभु तिम्रा परमेश्‍वरले धेरै जातिहरूका बीचमा तिमीहरूलाई पछ्याउनेहरू होइन तर अगुवाहरू बनाउनुहुनेछ। मैले आज तिमीहरूलाई दिँदैगरेका उहाँका आज्ञाहरू तिमीहरूले विश्‍वासयोग्‍यतासाथ पालन गर्‍यौ भने सधैँ तिम्रो फलिफाप हुनेछ, कुनै कुरामा कहिल्‍यै असफल हुनेछैनौ।

शेयर गर्नुहोस्
व्यवस्था 28 पढ्नुहोस्