YouVersion लोगो
खोज आइकन

दानिएल 7:1-14

दानिएल 7:1-14 NCV

बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे। दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए। त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए। “पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो। “त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’ “त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो। “त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए। “जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो। “मैले हेर्दाहेर्दै, “सिंहासनहरू ठिक ठाउँमा बसालिए; अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो, उहाँका कपडा हिउँजस्तै सेता थिए; उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो; अनि त्यसका चक्‍काहरू जलिरहेका आगोजस्ता थिए। उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्‍नुभयो, र पुस्तकहरू खोलिए। “त्यसपछि मैले हेरिरहेँ; किनकि सिङले अहङ्कारी कुराहरू बोलिरहेको थियो। त्यो चौथो पशु मारिएर त्यसको शरीरलाई नष्‍ट पारेर बलिरहेको आगोमा नफालिएसम्म मैले हेरिरहेँ। (अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।) “राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्‍ट हुनेछैन।

दानिएल 7 पढ्नुहोस्