YouVersion लोगो
खोज आइकन

दानिएल 7:1-14

दानिएल 7:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा दानिएल आफ्‍नो ओछ्यानमा पल्‍टिरहँदा तिनले सपना र दर्शनहरू देखे। तिनले त्‍यस सपनाको सार लेखे। दानिएलले भने, “मेरो दर्शनमा राती मैले हेरिरहँदा मेरो अगि आकाशका चार बतासहरूले ठूलो समुद्रलाई मन्‍थन गरिएका थिए। एक-अर्काबाट फरक चार ठूला पशुहरू समुद्रबाट निस्‍के। “पहिलोचाहिँ सिंहजस्‍तै थियो, र त्‍यसका पखेटाहरू चीलका जस्‍तै थिए। त्‍यसका पखेटाहरू नचुँड़ाएसम्‍म मैले हेरिरहें, र त्‍यो मानिसजस्‍तै दुई खुट्टाले उभिने गरी जमिनबाट उठ्यो र त्‍यसलाई एक जना मानिसको हृदय दिइयो। “अनि मेरो अगि दोस्रो पशु थियो, जुनचाहिँ भालूजस्‍तै देखिन्‍थ्‍यो। त्‍यसलाई शरीरको एकपट्टिबाट उठाइयो, र त्‍यसको मुखको दाँतहरूका बीचमा तीन वटा करङहरू थिए। त्‍यसलाई यस्‍तो आज्ञा दिइयो: ‘उठ्‌ र खानसक्‍ने जत्ति मासु खा!’ “त्‍यसपछि मैले हेरें, र त्‍यहाँ मेरो अगि अर्को पशु थियो, जुनचाहिँ चितुवाजस्‍तै देखिन्‍थ्‍यो। अनि त्‍यसको पिठिउँमा चराको जस्‍तै चार वटा पखेटाहरू थिए। त्‍यस पशुका चार वटा टाउकाहरू थिए, र त्‍यसलाई शासन गर्ने अधिकार दिइयो। “त्‍यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्‍दो र अत्‍यन्‍तै शक्तिशाली चौथो पशु थियो। त्यसका ठूला-ठूला फलामका दाँतहरू थिए। त्‍यसले आफ्‍नो शिकारलाई चकनाचूर पारी खाइदिन्‍थ्‍यो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्थ्‍यो। अघिका पशुहरूभन्‍दा त्‍यो फरक थियो र त्‍यसका दश वटा सीङहरू थिए। “जसै म ती सीङहरूका बारेमा विचार गर्दैथिएँ, मेरो अगि एउटा सानो सीङ थियो, जुनचाहिँ तिनीहरूमध्‍येबाट उम्रेको थियो, र पहिलेका सीङहरूमध्‍ये तीन वटाचाहिँ त्‍यसको सामु जरैसमेत उखेलिए। मानिसका आँखाजस्‍तै त्‍यस सीङका आँखा थिए, र अहङ्कारी कुरा गर्ने त्‍यसको मुख थियो। जसै मैले हेरें, सिंहासनहरू बसालिए, र अति प्राचीन आफ्‍नो सिंहासनमा बस्‍नुभयो। उहाँका लुगा हिउँजस्‍तै सेता थिए, उहाँको शिरको केश ऊनजस्‍तै सेतो थियो। उहाँको सिंहासनमा बलिरहेको आगोको ज्‍वाला थियो, र त्‍यसका चक्‍काहरूमा दन्‍केको आगो थियो। उहाँको सामुबाट आइरहेको आगोको एउटा नदी बगिरहेको थियो। हजारौँ हजारले उहाँको सेवा गर्थे; दश हजार गुणा दश हजार उहाँको सामु उभिएका थिए। न्‍यायको निम्‍ति अदालतको बैठक बसेको थियो, र पुस्‍तकहरू खोलिए। “तब यो सीङ बोलिरहेको अहङ्कारपूर्ण शब्‍दहरूको कारणले गर्दा मैले त्‍यसलाई हेर्दैरहें। त्‍यो पशु मारिएर त्‍यसको शरीर नष्‍ट पारी आगोको ज्‍वालामा नफ्‍याँकिएसम्‍म मैले हेर्दैरहें। अरू पशुहरूको अधिकार खोसिएको थियो, तर केही समयको लागि तिनीहरूलाई बाँच्‍न दिइयो। “राती मैले मेरो दर्शनमा हेरें, र त्‍यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्‍तै हुनुहुन्‍थ्‍यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्‍थित गराइनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्‍ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्‍व अनन्‍तसम्‍म रहने प्रभुत्‍व छ, जुनचाहिँ कहिल्‍यै टल्‍नेछैन, र उहाँको राज्‍य त्‍यो हो जुन कहिल्‍यै नष्‍ट हुनेछैन।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्

दानिएल 7:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

बेबिलोनका राजा बेलसजरको शासनकालको पहिलो वर्षमा दानिएल आफ्नो पलङमा ढल्किरहेको बेलामा, तिनले एउटा सपना देखे, र तिनको मनमा दर्शनहरू आए। तब तिनले आफ्नो सपना सारांशमा लेखे। दानिएलले भने: “मेरो रातको दर्शनमा मैले यस्तो देखेँ, मेरो सामु आकाशका चारै दिशाका बतासले महासमुद्रलाई घोलिरहेका थिए। त्यस समुद्रबाट एक-अर्काबाट भिन्दा-भिन्दै चार वटा विशाल पशुहरू बाहिर निस्केर आए। “पहिलो पशु सिंहजस्तै थियो, र त्यसका पखेटाहरू चीलका जस्तै थिए। त्यसका पखेटाहरू नउखेलिउन्जेल मैले हेरिरहेँ; अनि त्यो भुइँबाट माथि उठाइयो। त्यसपछि त्यो पशु मानिसझैँ दुई खुट्टामा उभियो र त्यसलाई मानिसको हृदय दिइयो। “त्यसपछि मैले दोस्रो पशु देखेँ, जुनचाहिँ भालुजस्तै देखिन्थ्यो। त्यो पशु पछाडिको दुई खुट्टामा उभिएको थियो; अनि त्यसको मुखमा दाँतहरूको बीचमा तीन वटा दाह्राहरू थिए। त्यस भालुलाई यसो भनियो, ‘उठ्, र प्रशस्त मासु खा!’ “त्यसपछि मैले मेरो सामु अर्को पशु देखेँ, त्यो चितुवाजस्तै देखिन्थ्यो। अनि त्यसको पिठिउँमा चराका जस्तै चार वटा पखेटाहरू थिए। त्यस जनावरका चार वटा शिरहरू थिए; अनि त्यसलाई चाहिँ शासन गर्ने अधिकार दिइयो। “त्यसपछि रातको दर्शनमा मैले देखेँ, मेरो सामु चौथो पशु थियो—त्योचाहिँ डरलाग्दो, भयङ्कर र अति शक्तिशाली थियो। त्यसका फलामका ठूला-ठूला दाँतहरू थिए; त्यसले आफ्ना शिकारहरूलाई टुक्रा-टुक्रा पारेर खान्थ्यो, र छोडिएका मासुलाई खुट्टाले कुल्चिन्थ्यो। त्यो पशु पहिलेका अरू सबै पशुहरूभन्दा बेग्लै थियो; अनि त्यसका दश वटा सिङहरू थिए। “जब मैले ती सिङहरूको बारेमा सोचिरहेको थिएँ, तब मेरो सामु अर्को एउटा सानो सिङ थियो, जुनचाहिँ ती सिङहरूको बीचबाट आएको थियो; अनि पहिलेका सिङहरूमध्येबाट तीन वटा सिङचाहिँ सानो सिङकै सामु जरैसमेत उखेलिए। त्यस सानो सिङको आँखा मानिसका जस्ता आँखा थिए, र त्यसमा अहङ्कारी कुराहरू बोल्ने एउटा मुख थियो। “मैले हेर्दाहेर्दै, “सिंहासनहरू ठिक ठाउँमा बसालिए; अनि अति प्राचीन आफ्नो सिंहासनमाथि बिराजमान हुनुभयो, उहाँका कपडा हिउँजस्तै सेता थिए; उहाँको शिरको केश ऊनजस्तै सेतो थियो। उहाँको सिंहासन दन्किरहेको आगोको ज्वालाजस्तै थियो; अनि त्यसका चक्‍काहरू जलिरहेका आगोजस्ता थिए। उहाँको सामुबाट निस्केर आएको एउटा आगोको नदी बगिरहेको थियो। हजारौँ-हजार स्वर्गदूतले उहाँको सेवाटहल गर्दैथिए; दश हजार गुणा दश हजार स्वर्गदूतहरू उहाँको सामु सेवा गर्न खडा थिए। न्यायाधीश बस्‍नुभयो, र पुस्तकहरू खोलिए। “त्यसपछि मैले हेरिरहेँ; किनकि सिङले अहङ्कारी कुराहरू बोलिरहेको थियो। त्यो चौथो पशु मारिएर त्यसको शरीरलाई नष्‍ट पारेर बलिरहेको आगोमा नफालिएसम्म मैले हेरिरहेँ। (अरू पशुहरूको अधिकार खोसिएको थियो, तर तिनीहरूलाई तोकिएको केही समयका निम्ति जिउन दिइयो।) “राति मेरो दर्शनमा मैले देखेँ; अनि त्यहाँ मेरो सामु आकाशका बादलहरूका साथमा मानिसको पुत्रजस्तै आइरहनुभएको थियो। उहाँ अति प्राचीनकहाँ आउनुभयो र उहाँको उपस्थितिमा लगिनुभयो। उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्‍ट हुनेछैन।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्

दानिएल 7:1-14 पवित्र बाइबल (NERV)

बाबेलको राजा बेलसजरको शासन कालको पहिलो बर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो। तब मैले चारवटा ठूल्ठूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए। “तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पखेंटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पखेंटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो। “तब मैले भालू जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा करङ्गहरू थिए। त्यस भालूलाई आदेश दिइयो, ‘उठ् अनि तँलाई जति चाहिन्छ सबै मासु खा।’ “त्यसपछि मैले देखें त्यहाँ मेरो सामुन्ने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पखेंटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो। “यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्रै डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गहरू दशवटा थिए। “अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो। “मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए। उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे, अनि किताबहरू खोले। “मैले हेरिरहेको थिएँ कि त्यो सानो सींङले अभिमानी शब्दहरू प्रयोग गरिरहेको थियो। त्यसैले कठोर जनावरले त्यो चौथो जनावरलाई मारिदियो अनि त्यसको शरीर बल्दै गरेको आगोमा फ्याँकिदियो। अरू जनवारहरूको सर्वाधिकार खोसियो, ता पनि केही समय सम्म तथा ऋतुका निम्ति तिनीहरूलाई अझ बाँच्न दिइयो। “मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो। “एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ, त्यो नष्ट हुनेछैन।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्

दानिएल 7:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

बेलसजर बेबिलोनका राजा भएको पहिलो वर्ष राती मैले एउटा सपना देखें र दर्शन पाएँ। त्‍यो सपनाको विषयमा मैले देखें र त्‍यो रात मैले देखेका कुराको वर्णन यस्‍तो छ: चारै दिशाबाट बतास आएर समुद्रको पानीमाथि प्रहार गरिरहेको थियो। समुद्रबाट चार वटा ठूल्‍ठूला भिन्‍दा-भिन्‍दै प्रकारका जन्‍तुहरू निस्‍किआए। पहिलो जन्‍तु सिंहजस्‍तो देखिन्‍थ्‍यो; तर त्‍यसको चिलका जस्‍ता पखेटाहरू थिए। मैले हेर्दा-हेर्दै ती पखेटाहरू उखेलिए। त्‍यो जन्‍तु उचालियो र मानिसझैँ दुई खुट्टामा उभ्‍याइयो अनि त्‍यसलाई मानिसको मन दिइयो। दोस्रो जन्‍तु पछिल्‍ला खुट्टामा उभिएको भालुजस्‍तै थियो। त्‍यसले आफ्‍ना दाँतले तीन वटा करङहरू च्‍यापेको थियो। तब एउटा सोरले त्‍यसलाई भन्‍यो, “जा, पेटभरी मासु खा!” मैले हेर्दा-हेर्दै तेस्रो जन्‍तु देखा पर्‍यो। त्‍यो हेर्दा चितुवाझैँ देखिन्‍थ्‍यो तर त्‍यसको ढाडमा चराको झैँ चार वटा पखेटा थिए र त्‍यसका चार वटा टाउका थिए। त्‍यसलाई अख्‍तियार दिएको थियो। म हेर्दै नै थिएँ, चौथो जन्‍तु देखा पर्‍यो। त्‍यो अत्‍यन्‍त बलियो, डरलाग्‍दो र भयङ्कर थियो। त्‍यसको फलामका ठूल्‍ठूला दाँतले आफ्‍ना शिकार कर्‍याक-कुरुक चपाउँथ्‍यो र त्‍यसले पैतालाले कुल्‍चन्‍थ्‍यो। त्‍यो अरू जन्‍तुजस्‍तो थिएन र त्‍यसका दश वटा सिङ थिए। मैले हेर्दा-हेर्दै ति सिङहरूका बीचमा अर्को एउटा सिङ पलाएको देखें। त्‍यो नयाँ सिङले पहिलेका तीन वटा सिङ उखेलिदियो। त्‍यस सिङमा मानिसका जस्‍ता आँखा र ठूल्‍ठूला कुरा गर्ने मुख थिए। मैले हेर्दाहेर्दै सिंहासनहरू राखिए। एउटा सिंहासनमा अमर जीवन भएको व्‍यक्ति बसे। उनका वस्‍त्र हिउँजस्‍तै र केशचाहिँ सफा ऊनजस्‍तै सेता थिए। तिनको बल्‍दो सिंहासन आगोले दन्‍केका पाङ्ग्राहरूमाथि राखिएको थियो अनि त्‍यस सिंहासनबाट आगोको खोला निस्‍किरहेको थियो। हजारौं-हजार मानिसहरू उनको सेवा गर्न हाजिर थिए। उनका सामुन्‍नेमा लाखौं-लाख मानिसहरू खडा थिए। न्‍यायको दरबार त्‍यहाँ बस्‍यो र पुस्‍तकहरू खोलिए। मैले हेरिरहेको बेला त्‍यो सानो सिङले ठूल्‍ठूला घमण्‍डका कुरा गरेको सुनें। हेर्दाहेर्दै चौथो जन्‍तु मारियो र त्‍यसको लाश आगोमा हालियो र भस्‍म पारियो। अरू जन्‍तुहरूबाट तिनीहरूको अख्‍तियार खोसियो तर केही समयको लागि तिनीहरूलाई बाँच्‍न दिइयो। रातको यस दर्शनमा मैले मानव पुत्रजस्‍तै एउटा रूप देखें। उनी आइरहेका थिए र उनलाई चारैपट्टि बादलले घेरेको थियो। उनी ती अमर जीवन भएको व्‍यक्तिकहाँ गए र उनको अघि हाजिर भए। जाति-जाति र कुल-कुलका अनि विभिन्‍न भाषा बोल्‍नेहरू सबैले उनको सेवा गरून् भनी उनलाई अधिकार, आदर र राज्‍य-शक्ति दिइयो। उनको अधिकार सदाकाल रहनेछ र उनको राज्‍यको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।

शेयर गर्नुहोस्
दानिएल 7 पढ्नुहोस्