YouVersion लोगो
खोज आइकन

दानिएल 7:1-14

दानिएल 7:1-14 सरल नेपाली

बेलसजर बेबिलोनका राजा भएको पहिलो वर्ष राती मैले एउटा सपना देखें र दर्शन पाएँ। त्‍यो सपनाको विषयमा मैले देखें र त्‍यो रात मैले देखेका कुराको वर्णन यस्‍तो छ: चारै दिशाबाट बतास आएर समुद्रको पानीमाथि प्रहार गरिरहेको थियो। समुद्रबाट चार वटा ठूल्‍ठूला भिन्‍दा-भिन्‍दै प्रकारका जन्‍तुहरू निस्‍किआए। पहिलो जन्‍तु सिंहजस्‍तो देखिन्‍थ्‍यो; तर त्‍यसको चिलका जस्‍ता पखेटाहरू थिए। मैले हेर्दा-हेर्दै ती पखेटाहरू उखेलिए। त्‍यो जन्‍तु उचालियो र मानिसझैँ दुई खुट्टामा उभ्‍याइयो अनि त्‍यसलाई मानिसको मन दिइयो। दोस्रो जन्‍तु पछिल्‍ला खुट्टामा उभिएको भालुजस्‍तै थियो। त्‍यसले आफ्‍ना दाँतले तीन वटा करङहरू च्‍यापेको थियो। तब एउटा सोरले त्‍यसलाई भन्‍यो, “जा, पेटभरी मासु खा!” मैले हेर्दा-हेर्दै तेस्रो जन्‍तु देखा पर्‍यो। त्‍यो हेर्दा चितुवाझैँ देखिन्‍थ्‍यो तर त्‍यसको ढाडमा चराको झैँ चार वटा पखेटा थिए र त्‍यसका चार वटा टाउका थिए। त्‍यसलाई अख्‍तियार दिएको थियो। म हेर्दै नै थिएँ, चौथो जन्‍तु देखा पर्‍यो। त्‍यो अत्‍यन्‍त बलियो, डरलाग्‍दो र भयङ्कर थियो। त्‍यसको फलामका ठूल्‍ठूला दाँतले आफ्‍ना शिकार कर्‍याक-कुरुक चपाउँथ्‍यो र त्‍यसले पैतालाले कुल्‍चन्‍थ्‍यो। त्‍यो अरू जन्‍तुजस्‍तो थिएन र त्‍यसका दश वटा सिङ थिए। मैले हेर्दा-हेर्दै ति सिङहरूका बीचमा अर्को एउटा सिङ पलाएको देखें। त्‍यो नयाँ सिङले पहिलेका तीन वटा सिङ उखेलिदियो। त्‍यस सिङमा मानिसका जस्‍ता आँखा र ठूल्‍ठूला कुरा गर्ने मुख थिए। मैले हेर्दाहेर्दै सिंहासनहरू राखिए। एउटा सिंहासनमा अमर जीवन भएको व्‍यक्ति बसे। उनका वस्‍त्र हिउँजस्‍तै र केशचाहिँ सफा ऊनजस्‍तै सेता थिए। तिनको बल्‍दो सिंहासन आगोले दन्‍केका पाङ्ग्राहरूमाथि राखिएको थियो अनि त्‍यस सिंहासनबाट आगोको खोला निस्‍किरहेको थियो। हजारौं-हजार मानिसहरू उनको सेवा गर्न हाजिर थिए। उनका सामुन्‍नेमा लाखौं-लाख मानिसहरू खडा थिए। न्‍यायको दरबार त्‍यहाँ बस्‍यो र पुस्‍तकहरू खोलिए। मैले हेरिरहेको बेला त्‍यो सानो सिङले ठूल्‍ठूला घमण्‍डका कुरा गरेको सुनें। हेर्दाहेर्दै चौथो जन्‍तु मारियो र त्‍यसको लाश आगोमा हालियो र भस्‍म पारियो। अरू जन्‍तुहरूबाट तिनीहरूको अख्‍तियार खोसियो तर केही समयको लागि तिनीहरूलाई बाँच्‍न दिइयो। रातको यस दर्शनमा मैले मानव पुत्रजस्‍तै एउटा रूप देखें। उनी आइरहेका थिए र उनलाई चारैपट्टि बादलले घेरेको थियो। उनी ती अमर जीवन भएको व्‍यक्तिकहाँ गए र उनको अघि हाजिर भए। जाति-जाति र कुल-कुलका अनि विभिन्‍न भाषा बोल्‍नेहरू सबैले उनको सेवा गरून् भनी उनलाई अधिकार, आदर र राज्‍य-शक्ति दिइयो। उनको अधिकार सदाकाल रहनेछ र उनको राज्‍यको अन्‍त्‍य कहिल्‍यै हुनेछैन।

दानिएल 7 पढ्नुहोस्