YouVersion लोगो
खोज आइकन

दानिएल 4:28-37

दानिएल 4:28-37 NCV

राजाको बारेमा भनिएका यी सबै कुराहरू राजा नबूकदनेसरको जीवनमा पूरा भए। बाह्र महिनाको अन्त्यमा जब राजा बेबिलोनको राजकीय महलको कौसीमा हिँडिरहेका थिए, तब तिनले भने, “हेर, के मैले राजकीय वासस्थानको रूपमा मेरो महान् शक्तिद्वारा मेरै ऐश्‍वर्य र कीर्तिका निम्ति मैले बनाएको महान् बेबिलोन यही होइन र?” यी शब्दहरू राजाले बोलिसक्दानसक्दै स्वर्गबाट एउटा आवाज आयो, “राजा नबूकदनेसर, तेरो निम्ति यस्तो उर्दी छ, अब मैले तेरो राजकीय अधिकार तँबाट खोसेको छु। तँ मानिसहरूबाट धपाइनेछस्, र जङ्गली जनावरहरूसित बस्‍नेछस्; तैँले गाईबस्तुले झैँ घाँस खानेछस्। सर्वोच्‍च परमेश्‍वर नै पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले आफूले इच्छा लागेका जोसुकैलाई पनि ती राज्य दिन सक्नुहुन्छ भनेर तैँले स्वीकार नगरेसम्म सात काल बितिजानेछन्।” नबूकदनेसरको बारेमा जे कुरा भनिएको थियो, त्यो तुरुन्तै त्यही घडी पूरा भयो। राजा मानिसहरूबाट धपाइए र तिनले गाईबस्तुले झैँ घाँस खाए। तिनको केश चीलका प्वाँखहरूझैँ लामा र तिनका नङहरू चराका नङ्ग्राहरूजस्ता लामा नभएसम्म तिनको शरीरलाई आकाशका शीतले भिजाइरहे। त्यस सात कालको अन्त्यमा, म नबूकदनेसरले मेरा आँखा स्वर्गतिर उठाएँ, तब मेरो समझ पहिलेजस्तै स्वस्थ र ठिक भयो। तब मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरेँ; मैले सदासर्वदै रहनुहुने परमेश्‍वरलाई आदर र महिमा दिएँ। उहाँको राज्य अनन्तको राज्य हो; उहाँको राज्य पुस्तादेखि पुस्तौँसम्म रहिरहन्छ। पृथ्वीका सबै मानिसहरू उहाँको सामु तुच्छ गनिन्छन्। स्वर्गका स्वर्गदूतहरूसँग र पृथ्वीका मानिसहरूसँग उहाँले आफ्नो इच्छा लागेअनुसार गर्नुहुन्छ। उहाँका हात कसैले पनि रोक्न सक्दैन, न त कसैले उहाँलाई यसरी भन्‍न सक्छ, “तपाईंले के गर्नुभएको?” मेरो मन मस्तिष्क पहिलेझैँ स्वस्थ र ठिक भएकै बेला मेरो राज्यको गौरवका निम्ति मेरो सम्मान र महानता मकहाँ फर्काइए। मेरा राजकीय सल्‍लाहकारहरू र प्रमुख व्यक्तिहरूले मलाई खोजे; अनि फेरि मलाई मेरो सिंहासनमा बसाइयो र म पहिलेको भन्दा अझ बढी महान् भएँ। अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्‍च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ।

दानिएल 4 पढ्नुहोस्