YouVersion लोगो
खोज आइकन

दानिएल 4:28-37

दानिएल 4:28-37 NNRV

यी सबै कुराहरू राजा नबूकदनेसरमाथि घट्यो। बाह्र महिनापछि जब राजा बेबिलोनको राजदरबारको कौसीमा टहलिँदैथिए, उनले भने, “के यो महान्‌ बेबिलोन होइन, जुन मैले आफ्‍नो कीर्तिका महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्‍नो राजकीय निवासस्‍थान बनाएको छु?” यी शब्‍दहरू उनको ओठबाट नसिद्धिँदै स्‍वर्गबाट एउटा यस्‍तो वाणी आयो, “नबूकदनेसर राजा, तेरो लागि फैसला गरिएको छ: तँबाट तेरो राजकीय अधिकार खोसिएको छ। तँ मानिसहरूबाट धपाइनेछस्‌ र जङ्गली पशुहरूसित बस्‍नेछस्, तैंले गाईबस्‍तुले झैँ घाँस खानेछस्‌। तेरो लागि सात काल बित्‍नेछ, जबसम्‍म तैंले यो स्‍वीकार गर्दैनस्‌ कि मानिसहरूका राज्‍यमाथि सर्वोच्‍चकै सर्वाधिकार छ र उहाँले इच्‍छा गर्नुभएको कसैलाई पनि ती राज्‍यहरू दिनुहुन्‍छ।” नबूकदनेसरको बारेमा जो कुरो भनिएको थियो, तुरुन्‍तै पूरा भयो। उनी मानिसहरूबाट धपाइए र उनले गाईबस्‍तुले झैँ घाँस खान थाले। उनको रौँ चीलका प्‍वाँखजस्‍तै र उनका नङहरू चराका नङ्‌ग्राहरूजस्‍तै नहोउञ्‍जेल उनको शरीर आकाशको शीतले भिज्‍यो। त्‍यो समयको अन्‍तमा म, नबूकदनेसरले आफ्‍नो आँखा उठाएर स्‍वर्गतिर हेरे, र मेरो होश फर्क्‍यो। तब मैले सर्वोच्‍चको प्रशंसा गरें, सदासर्वदै जिउनुहुने उहाँलाई मैले आदर र महिमा गरें। उहाँको प्रभुत्‍व अनन्‍तको प्रभुत्‍व हो, उहाँको राज्‍य पुस्‍तादेखि पुस्‍तासम्‍म रहिरहन्‍छ। पृथ्‍वीका सबै मानिसहरू व्‍यर्थका गनिन्‍छन्‌। स्‍वर्गका शक्तिहरूलाई र पृथ्‍वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्‍छ। कसैले पनि उहाँको हात रोक्‍न सक्‍दैन, वा “तपाईंले के गर्नुभयो” भनी कसैले पनि सोध्‍न सक्‍दैन। मेरो होश फर्केकै समयमा, मेरो राज्‍यका गौरवको लागि मेरो आदर र प्रताप मकहाँ फर्केर आयो। मेरा सल्‍लाहकारहरू र भारदारहरूले मलाई खोज्‍न थाले, र म आफ्‍नो सिंहासनमा फर्कें र पहिलेको भन्‍दा पनि महान्‌ भएँ। अब म, नबूकदनेसरले स्‍वर्गका महाराजाको प्रशंसा, बढ़िबढ़ाउ र महिमा गर्दछु, किनभने उहाँले जे गर्नुहुन्‍छ ठीक गर्नुहुन्‍छ, र उहाँका सबै मार्गहरू न्‍यायसङ्गत छन्‌। अनि उहाँले घमण्‍डीहरूलाई नम्र बनाउन सक्‍नुहुन्‍छ।