परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए। त्यस बेला म, दानिएलले तीन हप्तासम्म शोक गरिरहेँ। मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ। पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ; मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए। तिनको शरीर पीतमणिजस्तो, तिनको अनुहार बिजुलीजस्तो चम्किलो, तिनका आँखाहरू आगोका राँकाहरूजस्ता, तिनका पाखुराहरू र खुट्टाहरू टल्काइएको काँसाजस्तो चम्किलो र तिनको आवाज धेरै मानिसहरूका भीडको आवाजजस्तै थियो। म, दानिएलले मात्र त्यो दर्शन देखेँ; मसित भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरू यति साह्रै त्रसित भए, कि तिनीहरू भागे र आफैँ लुके। यसकारण त्यो महान् दर्शनलाई एकोहोरो हेरिरहने म मात्र एकलै छोडिएँ; ममा कुनै बल बाँकी रहेन; मेरो अनुहार मरेतुल्य पहेँलो भयो र म असहाय भएँ। तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ। तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए। तिनले मलाई भने, “हे दानिएल, जो अति सम्मानित छौ, मैले तिमीलाई भन्न लागेका कुराहरू ध्यानपूर्वक विचार गर; अनि खडा होऊ; किनकि अहिले म तिमीकहाँ पठाइएको हुँ।” जब तिनले मलाई यसो भने, तब म थरथर काम्दै उभिएँ। तब तिनले आफ्नो कुरा फेरि भने, “दानिएल, तिमी नडराऊ। तिमीले समझशक्ति पाउनलाई र परमेश्वरको सामु आफूलाई नम्र तुल्याउनलाई आफ्नो मनमा ठानेको पहिलो दिनमै तिम्रा कुराहरू सुनिएका थिए; अनि म तिम्रो प्रार्थनाको प्रत्युत्तरमा आएको हुँ। तर परसीया देशको राजकुमारले मलाई एक्काइस दिनसम्म रोकिराखे। तब प्रमुख राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई सहायता गर्न आए; किनकि म त्यहाँ परसीयाको राजासँग रोकिएको थिएँ। अब भविष्यमा तिम्रो जातिलाई के हुनेछ भनी तिमीलाई बुझाउनलाई म आएको हुँ; किनकि यो दर्शनचाहिँ धेरै दिनपछि आउने कुरासँग सम्बन्धित छ।”
दानिएल 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 10:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू