YouVersion लोगो
खोज आइकन

दानिएल 10:1-14

दानिएल 10:1-14 सरल नेपाली

फारस देशका राजा कोरेसले राज्‍य गरेको तेस्रो वर्षमा दानिएलकहाँ (जसलाई बेलतसजर पनि भन्‍थे) एउटा सन्‍देश आयो। त्‍यो दर्शनको सन्‍देश साँचो थियो र ठूलो युद्धको बारेमा थियो। त्‍यस सन्‍देशको अर्थ उनले दर्शनमा पाए। त्‍यस बेला म दानिएलले तीन हप्‍तासम्‍म शोक गरिरहेको थिएँ। मैले तीन हप्‍ता नबितेसम्‍म कुनै स्‍वादिष्‍ट भोजन खाइनँ, मासु खाइनँ, दाखमद्य पिइनँ, केश कोरिनँ। त्‍यस वर्षको पहिलो महिनाको चौबीसौँ दिनमा म ठूलो टाइग्रिस नदीको किनारमा खडा थिएँ। मैले मास्‍तिर हेरें र एक जना मिहिन सुती लुगा लाएका र कमरमा निखुर सुनको पेटी बाँधेका मानिसलाई देखें। उनको शरीर मणिझैँ चम्‍कन्‍थ्‍यो, अनुहार बिजुली चम्‍केझैँ उज्‍यालो थियो र आँखा राँकोझैँ बल्‍दथे। उनका हात-पाउ टल्‍काइएका काँसाझैँ टल्‍कन्‍थे र सोरचाहिँ एउटा ठूलो भीडको आवाजझैँ सुनिन्‍थ्‍यो। त्‍यो दर्शन देख्‍ने म एक जना मात्र थिएँ। मसित भएका मानिसहरूले केही देखेनन् तर तिनीहरू डराए र भागेर लुके। यो उदेकको दर्शन हेर्न म मात्र त्‍यहाँ एक्‍लै छोडिएँ। डरले ममा केही बल रहेन र मेरो अनुहार बदलियो। मलाई कसैले चिन्‍न सक्‍ने भएन। उनको सोर सुनेर म बेहोश भई जमिनमा घोप्‍टो परेर लडें। तब एउटा हातले मलाई समातेर मेरा हात र घुँडामा मलाई उभ्‍यायो। म अझै कामिरहेको थिएँ। स्‍वर्गदूतले मलाई भने, “ए दानिएल, परमेश्‍वरले तिमीलाई प्रेम गर्नुहुन्‍छ। सिधा भई उभ र मैले के भन्‍न लागेको छु, होशियारसित सुन। म तिमीकहाँ पठाइएको छु।” उनले त्‍यसो भनेपछि म काम्‍दै उभिएँ। त्‍यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्‍ने शक्ति पाउन आफैंलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु। फारस देशको शासकले एक्‍काईस दिनसम्‍म मेरो विरोध गर्‍यो। त्‍यसपछि एउटा मुख्‍य स्‍वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्‍लै छोडिएको थिएँ। अनि भविष्‍यमा तिम्रा जातिका मानिसहरूलाई के हुनेछ सो तिमीलाई बुझाउन म आएको छु। यो ती आउँदा दिनहरूको बारेमा दिइएको दर्शन हो।”

दानिएल 10 पढ्नुहोस्