YouVersion लोगो
खोज आइकन

प्रेरित 9:21-43

प्रेरित 9:21-43 NCV

तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?” तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाणित गरेर तिनीहरूलाई छक्‍क पारे। धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे। तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले। तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले। यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्‍वास गर्न सकेनन्। तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए। त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्‍दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले। ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए। यो कुरा अरू विश्‍वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए। त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए। पत्रुस विभिन्‍न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्‍ने पवित्र जनहरूलाई भेट्न गए। तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे। पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो। त्यसपछि लिड्डा र शारोनमा बस्‍ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के। योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्। त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्‍लो तलाको कोठामा राखियो। लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।” तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए। त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्। पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए। यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्‍वास गरे। त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।

प्रेरित 9 पढ्नुहोस्

प्रेरित 9:21-43 को लागि भिडियो