YouVersion लोगो
खोज आइकन

प्रेरितहरूका काम 9:21-43

प्रेरितहरूका काम 9:21-43 NERV

सबै मानिसहरू शावलको त्यस्तो कुरा सुनेर छक्क परे। तिनीहरूले भने, “यो त्यही मानिस होइन जो यरूशलेममा थियो अनि यही नाउँमा विश्वास गर्ने मानिसहरूलाई नष्ट गर्ने प्रयास गर्दै थियो? के ऊ यहाँ येशूका चेलाहरूलाई पक्रन अनि तिनीहरूलाई यरूशलेममा मुख्य पूजाहारीहरूकहाँ लान आएको होइन?” तर शावल झन् झन प्रभावशाली भए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिद्ध गर्दै दमीशकमा बस्ने यहूदीहरूलाई अलमल्ल पारिदिए। धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए। यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए। एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे। त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्। तर बर्णाबासले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने। अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे। शावल प्रायः ती यहूदीहरूसँग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे। जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए। त्यसरी चारैतिर यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो। पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे। लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो। लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए। जोप्पा भन्ने शहरमा येशूका एकजना चेली थिए। उनको नाउँ तबिता थियो। उनको ग्रीक नाउँ डोरकस् थियो जसको अर्थ हो “हरिणी”। तिनले मानिसहरूका लागि सदैव असल कामहरू गरेकी थिईन् अनि खाँचो परेकाहरूलाई सधैँ पैसा दिन्थिन्। पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए। जोप्पामा भएका चेलाहरूले पत्रुस लिड्डामा थियो भन्ने सुने। लिड्डा जोप्पाको छेउमा थियो। यसर्थ तिनीहरूले पत्रुसकहाँ दुइजना मानिसहरू पठाए। तिनीहरूले उनलाई बिन्ती गरे, “दया गरेर हामी भएको ठाउँमा छिटो आउनुहोस्।” पत्रुस तयार भए अनि तिनीहरूसँग लागे। जब तिनी आइपुगे तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। सबै विधवाहरू पत्रुसका वरिपरि रूँदै उभिए। तिनीहरू रोई-कराई विलाप गरिरहेका थिए। तबिता जीउँदो हुँदा बनाएकी कोटहरू साथै अन्य पोषाकहरू तिनीहरूले देखाए। पत्रुसले ती सबैजनालाई कोठा बाहिर पठाए। उनले घुँडा टेके अनि प्रार्थना गरे। त्यसपछि तिनी तबीताको मृतशरीरपट्टी फर्किए र भने, “तबीता जुरूक्क उठ!” उनले आँखाहरू खोलिन्। जब तिनले पत्रुसलाई देखिन्, तिनी उठेर बसिन्। पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए! जोप्पाको चारैतिरका मानिसहरूले त्यो घट्नाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे। पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसँग बसे।

प्रेरितहरूका काम 9:21-43 को लागि भिडियो