प्रेरित 5:17-26

प्रेरित 5:17-26 NCV

प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो। अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए। तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले। अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।” तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए। तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने, “हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।” मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे। त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।” यो कुरा सुन्‍नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्‍ने डर थियो।

प्रेरित 5 पढ्नुहोस्

प्रेरित 5:17-26 को लागि भिडियो