YouVersion लोगो
खोज आइकन

प्रेरित 4:18-30

प्रेरित 4:18-30 NCV

त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र डाके, र येशूको नाउँमा कुनै पनि अवस्थामा प्रचार नगर्ने र नसिकाउने आदेश दिए। तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “आफै न्याय गर्नुहोस्, परमेश्‍वरको साटो तपाईंहरूको आदेशको पालना गर्नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ सही हुनेछ? किनकि जे कुरा हामीले देख्यौं र सुन्यौं त्यो वचन नबोली हामी बस्‍न सक्दैनौं।” यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी दण्ड सजाय दिने यसको निर्णय तिनीहरूले गर्न सकेनन् किनकि त्यहाँ जे घटना भएको थियो त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए। किनकि आश्‍चर्य तवरले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी नै थियो। उनीहरूलाई छोडिएपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए र मुख्य पूजाहारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए। तिनीहरूले ती कुरा सुनिसकेपछि, सबैले एकैसाथ उच्‍च सोरमा परमेश्‍वरमा प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुभयो। तपाईंको सेवक हाम्रा पुर्खा दाविदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो: “ ‘किन मानिसहरू क्रोधित हुन्छन् र मानिसहरूले व्यर्थमा षड्यन्त्र गर्छन्? प्रभु र उहाँका अभिषिक्‍त जनका विरुद्धमा पृथ्वीका राजाहरू उभिएका छन् र शासकहरू एकजुट भएर भेला भएका छन्।’ तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्‍चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो शहरमा भेटघाट गरेका थिए। तिनीहरूले त्यही गरे जुन तपाईंको शक्‍ति र इच्छाले यसै गर्ने भनेर पहिले नै निर्णय गरिसकेको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्नसक्ने बनाउनुहोस्। तपाईंको पवित्र सेवक येशूको नाउँद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन र अद्भुत चिन्हहरू देखाउन र आश्‍चर्यपूर्ण कामहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”

प्रेरित 4 पढ्नुहोस्

Video for प्रेरित 4:18-30

प्रेरित 4:18-30 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति