अनि यिनीहरूलाई बोलाएर “अब उप्रान्त येशूको नाउँमा नबोल्नू र कुनै शिक्षा नदिनू” भनी तिनीहरूले आज्ञा दिए। तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्। किनकि हामीले देखेका र सुनेका कुराहरू हामी नबोली सक्दैसक्दैनौं।” तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। किनकि जुन मानिस आश्चर्य कामद्वारा निको पारिएको थियो, त्यसको उमेर चालीस वर्षभन्दा बढ़ी थियो। छुटकारा पाएर तिनीहरू आफ्ना साथीहरूकहाँ आए, र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्वरतिर आफ्ना सोर उचाली भने, “हे प्रभु, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका यावत् थोक बनाउनुभयो, जसले पवित्र आत्माद्वारा आफ्ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्नुभयो, ‘अन्यजातिहरू किन झोकिए, र मानिसहरूले व्यर्थका कुराहरू किन कल्पना गरे? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’ किनभने साँच्चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्तियस पिलातस दुवै जना, अन्यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो। अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्, र तपाईंका दासहरूलाई पूरा साहससित तपाईंको वचन बोल्न दिनुहोस्, र निको पार्नलाई तपाईंले आफ्नो बाहुली फैलाउनुहुँदा, आफ्ना पवित्र सेवक येशूको नाउँद्वारा चिन्ह र आश्चर्य कामहरू होऊन्।”
प्रेरित 4 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 4:18-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू