तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबैजना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ, तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ। तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ। तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ। यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने इस्राएलको आशाको कारण म यस साङ्लोले बाँधिएको छु।” तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौं र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन। तर पनि तपाईंका धारणाहरू हामी सुन्न चाहन्छौं; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।” तिनीहरूले पावलसँग भेट्ने दिन तोके, अनि त्यस दिन पहिलेकोभन्दा पनि ठूलो संख्यामा मानिसहरू पावल बसेको ठाउँमा आए। तिनीहरूलाई बिहानदेखि साँझसम्म उनले परमेश्वरको राज्यको वर्णन गरे; र मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्वास दिलाउने प्रयत्न गरे। उनले भनिएका ती कुराहरूमा कतिले विश्वास गरे, र कतिले विश्वास गरेनन्। तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो: “ ‘यी मानिसहरूकहाँ जाऊ र भन, “तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू सदा देख्नेछौ, तर कहिल्यै चिन्नेछैनौ।” किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्र ता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ “त्यसकारण तपाईंहरू यो कुरो जान्नुहोस् भन्ने म चाहन्छु र परमेश्वरको मुक्ति गैरयहूदीहरूका निम्ति पठाइएको छ, अनि तिनीहरूले यो स्वीकार्नेछन्।” पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए। दुई वर्षसम्म आफूले भाडामा लिएको घरमा पावल त्यहीं बसे, र तिनलाई भेट्न आउने जति सबैजनालाई तिनले स्वागत गरे। उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिए।
प्रेरित 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 28:17-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू