प्रेरित 28:17-31
प्रेरित 28:17-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तीन दिनपछि पावलले यहूदीहरूका स्थानीय अगुवाहरूलाई बोलाइपठाए। उनीहरू जम्मा भएपछि तिनले उनीहरूलाई भने, “भाइ हो, मैले त आफ्नो देशका मानिसहरू, अथवा पिता-पुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ। तापनि बन्दी भई यरूशलेमदेखि रोमीहरूका हातमा मलाई सुम्पेको छ। उनीहरूले छानबिन गरेपछि ममा मृत्युदण्डको कुनै कारण नभेट्टाउँदा मलाई छोडिदिने मन गरेका थिए। तर यहूदीहरूले विरोध गरेका हुनाले कैसरकहाँ अपिल गर्न मलाई करै लाग्यो— मेरो जातिको विरुद्धमा कुनै अभियोग ल्याउने कुरा थिएन। यसैकारणले मैले तपाईंहरूसँग भेटेर बातचीत गर्न तपाईंहरूलाई बोलाएको हुँ। किनभने इस्राएलको आशा जो हो त्यसको निम्ति यस साङ्लामा म बाँधिएको छु।” उनीहरूले तिनलाई भने, “हामीले त तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कोही भाइहरूले आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा पनि सुनाएका वा बोलेका छैनन्। तर तपाईंको विचार के हो, सो तपाईंबाट सुन्न चाहन्छौं। किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्दछन्।” तब उनीहरूले तिनको निम्ति एउटा दिन तोकिदिए, र धेरै संख्यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्मै व्याख्यान दिए, र मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट परमेश्वरका राज्यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्वास दिलाउने चेष्टा गरे। तिनले भनेका कुरा कतिले विश्वास गरे, कतिले गरेनन्। उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्दा पावलले यो अन्तिम वक्तव्य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीकै थियो, ‘यी मानिसहरूकहाँ गएर भन्, “सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ।” किनभने यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ “यसकारण तिमीहरूलाई थाहा होस्, कि परमेश्वरको यो मुक्ति अन्यजातिहरूका निम्ति पठाइएको छ, र तिनीहरूले सुन्नेछन्।” [ अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।] पावल पूरा दुई वर्षसम्म आफ्नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्वागत गरे। तिनले खुल्लमखुल्ला र विनारोकटोक परमेश्वरका राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे।
प्रेरित 28:17-31 नेपाली समकालीन संस्करण (NCV)
तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबैजना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ, तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ। तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ। तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ। यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने इस्राएलको आशाको कारण म यस साङ्लोले बाँधिएको छु।” तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौं र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन। तर पनि तपाईंका धारणाहरू हामी सुन्न चाहन्छौं; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।” तिनीहरूले पावलसँग भेट्ने दिन तोके, अनि त्यस दिन पहिलेकोभन्दा पनि ठूलो संख्यामा मानिसहरू पावल बसेको ठाउँमा आए। तिनीहरूलाई बिहानदेखि साँझसम्म उनले परमेश्वरको राज्यको वर्णन गरे; र मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्वास दिलाउने प्रयत्न गरे। उनले भनिएका ती कुराहरूमा कतिले विश्वास गरे, र कतिले विश्वास गरेनन्। तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो: “ ‘यी मानिसहरूकहाँ जाऊ र भन, “तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू सदा देख्नेछौ, तर कहिल्यै चिन्नेछैनौ।” किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्र ता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ “त्यसकारण तपाईंहरू यो कुरो जान्नुहोस् भन्ने म चाहन्छु र परमेश्वरको मुक्ति गैरयहूदीहरूका निम्ति पठाइएको छ, अनि तिनीहरूले यो स्वीकार्नेछन्।” पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए। दुई वर्षसम्म आफूले भाडामा लिएको घरमा पावल त्यहीं बसे, र तिनलाई भेट्न आउने जति सबैजनालाई तिनले स्वागत गरे। उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिए।
प्रेरित 28:17-31 पवित्र बाइबल (NERV)
तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यू-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो। रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे। तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन। यही कारण म तिमीहरूसँग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।” यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यू-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने। हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।” पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसँग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे। कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्। तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरूको विषय सत्य छ भने। उनले भने, ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः तिमीहरू सुन्न त सुन्छौ, तर तिमीहरू बुझ्दैनौ। तिमीहरू हेर्छौ अनि देख्छौ, तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ! हो, यी मानिसहरूका मन अहिले बन्द छन्। यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन्, अनि यी मानिहरूका आँखाछन् तर सत्य हेर्न मान्दैनन्। यस्तो भएकोछ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन्, आफ्ना कानहरूले सुन्ने छैनन्, आफ्ना मनले बुझ्ने छैनन्, यस्तो भएको छ यसैले तिनीहरू मपट्टि फर्किने छैनन्।’ “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!” पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए। पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशू ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्नलाई रोक्न सकेनन्।
प्रेरित 28:17-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तीन दिनपछि पावलले रोममा बसेका यहूदीहरूका नेताहरूलाई बोलाए। तिनीहरू भेला भएपछि पावलले भने, “दाजुभाइहरू हो, मैले हाम्रो जाति र हाम्रा पिता-पुर्खादेखि चल्दैआएको रीतिरिवाजको विरोधमा केही नगरे पनि यहूदी दाजुभाइहरूले मलाई यरूशलेममा पक्रेर रोमीहरूको जिम्मामा सुम्पिदिए। रोमीहरूले केरकार गरेपछि मलाई छोडिदिन खोजे किनभने तिनीहरूले मलाई ज्यानसजाय दिनुपर्ने कुनै दोष भेटेनन्। तर यहूदी दाजुभाइहरूले जबरजस्ती गरेर मलाई छोड्न नदिएकोले मैले रोमी महाराजाकहाँ बिन्ती चढाउन करै लाग्यो। तैपनि मेरा आफ्ना यहूदी दाजुभाइको विरोधमा दोष लगाउनुपर्ने कुनै कुरा छैन। यो कुरा बुझाउन र तपाईंहरूसँग भेट गर्नको लागि मैले तपाईंहरूलाई यहाँ बोलाएको हुँ। हामी इस्राएलीहरूले आशा राखेका मुक्ति दिनुहुने राजाको निम्ति नै म यसरी साङ्लाले बाँधिएको हुँ।” यो सुनेर तिनीहरूले भने, “तपाईंका बारेमा हामीले यहूदिया देशबाट कुनै पत्र पनि पाएका छैनौं नता कुनै दाजुभाइहरूले आएर तपाईंको विरोधमा कुनै नराम्रो कुरा बोलेका वा हामीलाई सुनाएका नै छन्। तर हामी तपाईंका विचारहरू सुन्न चाहन्छौं किनभने तपाईंको समूहको विरोधमा जताततै कुरा भएको चाहिँ हामीलाई थाहा छ।” त्यसपछि उनीहरूले पावलका कुरा सुन्नलाई दिन तोके। तोकेको दिनमा पहिलो पटकभन्दा धेरै यहूदीहरू भेला भएर पावलको डेरामा आए। त्यस दिन पावलले बिहानदेखि बेलुकासम्म परमेश्वरको राज्यको बारेमा शिक्षा दिए। धर्मशास्त्रमा मोशा र अगमवक्ताहरूले लेखेका कुरा लिएर उनले येशूको बारेमा बुझाउँदै तिनीहरूलाई विश्वासमा ल्याउने कोसिस गरे। कति जनाले चाहिँ उनका कुरा बुझेर विश्वास गरे तर कतिले चाहिँ विश्वास गरेनन्। आफू-आफूमै कुरा नमिलेर तिनीहरू त्यतिकै त्यहाँबाट हिँड्न लागे। तब पावलले तिनीहरूलाई यसो भने, “पवित्र आत्माले तपाईंहरूका पुर्खाहरूलाई भन्नुभएको कुरो साँचो छ किनभने यशैया अगमवक्ताद्वारा उहाँले यसरी बोल्नुभयो– यी मानिसहरूकहाँ गएर भन, ‘सुन्न त तिमीहरू सुन्छौ, तर बुझ्दैनौ, हेर्न त हेर्छौ, तर देख्दैनौ!’ किनभने यी मानिसहरूको मन कठोर छ, यिनीहरूका कान बाक्ला भएका छन् अनि यिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्! नत्रता यिनीहरूले देख्नेथिए, सुन्ने थिए र मनले बुझ्नेथिए। अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउनेथिए र म तिनीहरूलाई निको पार्नेथिएँ।” अन्तमा पावलले भने, “यसकारण अब म तपाईंहरूलाई भन्न चाहन्छु, परमेश्वरको मुक्तिको सुसमाचार उहाँले अन्य-जातिहरूकहाँ पठाउनुभएको छ र तिनीहरूले सुन्नेछन्।” [पावलले यो कुरा भनिसकेपछि तिनीहरू एक-अर्कामा तर्कवितर्क गर्दै र बाझ्दै हिँडे।] आफैंले भाडामा लिएको त्यही डेरामा पावल दुई वर्षसम्म बसे। पावलले आफूलाई भेट्न आउने सबैको स्वागत गर्थे। उनले साहसी भएर परमेश्वरको राज्यको प्रचार गर्दै प्रभु येशू ख्रीष्टको बारेमा सिकाउँथे र कसैले पनि उनलाई रोक्दैनथे।