YouVersion लोगो
खोज आइकन

प्रेरित 27:13-25

प्रेरित 27:13-25 NCV

दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्‍ने तिनीहरूले सोंचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले। तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापूबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो। त्यस आँधीको चपेटामा जहाज पर्‍यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन; त्यसैले हामीले त्यसलाई जतातिर जान्छ त्यतैतिर जाओस् भनेर छोडिदियौं। हामीले कौडा भन्‍ने एउटा सानो टापूको आडबाट जाँदै गर्दा बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौं। मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्‍ने बलौटे धापमा भासिएला भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफै चल्न दिए। भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्‍याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे। तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए। जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन् र आँधीबेहरीले लगातार चलिरह्‍यो, तब हामीले बाँचौंला भन्‍ने सबै आशा नै त्यागिदियौं। मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरूहो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्‍लाहलाई तपाईंहरूले मान्‍नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो। तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्, किनकि तपाईंहरूमध्ये एकजनालाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्‍ट हुनेछ। किनकि जुन परमेश्‍वरको म हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राती मेरा छेउमा आएर उभिए, अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्दछ; र तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्‍वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’ त्यसैले मित्रहरूहो, धैर्य धारण गरेर बस्‍नुहोस्, किनकि परमेश्‍वरले मलाई जे भन्‍नुभएको छ त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्‍वास छ।

प्रेरित 27 पढ्नुहोस्

Video for प्रेरित 27:13-25