त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए। त्यहाँ मुख्य पुजारी र यहूदी अगुवाहरू तिनका सामु आए र पावलका विरुद्ध आरोपहरू लगाए। तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए। फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु। तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीँ आरोपहरू लगाऊन्।” दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए। जब पावल त्यहाँ आए, यरूशलेमबाट आएका यहूदीहरू उनका चारैतिर उभिए। अनि उनका विरुद्ध धेरै गम्भीर आरोपहरू लगाए, तर तिनीहरूले ती प्रमाणित गर्न सकेनन्। त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।” यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?” पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ। यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।” आफ्नो सभासँग सल्लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।” त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए। तिनीहरू त्यहाँ धेरै दिन बस्ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाएको एक जना मानिस यहाँ छ। म यरूशलेममा गएका बेलामा मुख्य पुजारीहरू र यहूदीहरूका प्रधानहरूले उसको विरुद्धमा थुप्रै आरोपहरू लगाएर उसलाई दण्ड दिइयोस् भनी माग गरे। “त्यस बेला मैले तिनीहरूलाई भनेँ, कि कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई सुम्पने प्रथा रोमी व्यवस्थामा छैन। जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै मैले अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ। जब उसका आरोपीहरू उभिएर बोल्न थाले, तब मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्। त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नामको एक जना मरेको व्यक्ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो। यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेँ; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधेँ। तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्ने उजुर गरेकोले, त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।”
प्रेरित 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 25:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू