YouVersion लोगो
खोज आइकन

प्रेरित 25:1-21

प्रेरित 25:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फेस्‍तस आफ्‍नो प्रान्‍तमा आएका तीन दिनपछि कैसरियाबाट यरूशलेम गए। मुख्‍य पूजाहारीहरू र यहूदीहरूका प्रमुख मानिसहरूले पावलको विरुद्धमा अभियोग लाए, र तिनलाई बाटैमा मार्ने षड्‌यन्‍त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस्‌ भन्‍ने बिन्‍ती गरे। तर फेस्‍तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्‍छा भएको कुरा व्‍यक्त गरे। उनले भने, “यसकारण तिमीहरूमध्‍येका नेताहरू त्‍यहाँ मेरो साथ जाऊन्, र त्‍यस मानिसमा केही खराबी छ भने त्‍यसलाई अभियोग लगाऊन्‌।” तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्‍दा बढ़ी नबसी कैसरिया फर्के, र त्‍यसकै भोलिपल्‍ट न्‍याय-आसनमा बसेर उनले पावललाई ल्‍याउने हुकुम गरे। तिनी आएपछि यरूशलेमबाट आएका यहूदीहरू तिनको वरिपरि उभिए, र पावलको विरुद्धमा अनेक गम्‍भीर अभियोग लगाए, जसको तिनीहरूले प्रमाण दिन सकेनन्‌। पावलले आफ्‍नो पक्षमा बोल्‍दै भने, “मैले यहूदीहरूको व्‍यवस्‍थाको विरुद्धमा, मन्‍दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।” तर फेस्‍तसले यहूदीहरूलाई खुशी तुल्‍याउनका निम्‍ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्‍यहाँ मेरो सामुन्‍ने यी कुराका विषयमा इन्‍साफ गरिओस्‌ भन्‍ने इच्‍छा गर्छौ?” तर पावलले भने, “म कैसरको न्‍याय-आसनको सामुन्‍ने खड़ा भइरहेछु, जहाँ मेरो इन्‍साफ हुनुपर्छ। यहूदीहरूलाई मैले कुनै खराबी गरेको छैनँ, सो हजूरमा राम्रै जाहेर छ। यदि म अपराधी हुँ, र मैले ज्‍यानसजाय पाउने योग्‍यको काम गरेको छु भने मर्नलाई म इन्‍कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्‍य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्‍पन सक्‍दैन। म कैसरकहाँ अपिल गर्दछु।” तब फेस्‍तसले सल्‍लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्‍यौ, तिमी कैसरकहाँ नै जानेछौ।” केही दिन बितेपछि फेस्‍तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे। तिनीहरू त्‍यहाँ निकै दिन बसेपछि फेस्‍तसले पावलको मुद्दा राजाको सामुन्‍ने यसो भन्‍दै पेश गरे, “फेलिक्‍सले राखेर गएको एक जना बन्‍दी यहाँ छ, जसको बारेमा, म यरूशलेममा छँदा, मुख्‍य पूजाहारीहरू र यहूदीहरूका धर्म-गुरुहरूले त्‍यसको विरुद्धमा अभियोग लाएर त्‍यसलाई दण्‍ड दिनुपर्छ भनी अनुरोध गरेका थिए। “अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्‍नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्‍ने मौका नपाईकन कुनै मानिसलाई त्‍यसै दण्‍डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ। जब तिनीहरू जम्‍मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्‍टै न्‍याय-आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरें। जब अभियोक्ताहरू खड़ा भए मैले ठानेझैँ तिनको मुद्दामा कुनै खराब कुराहरूको अभियोग तिनीहरूले ल्‍याउन सकेनन्‌। तर तिनीहरूको मतभेदचाहिँ तिनीहरूकै धर्मको विषयमा र मरिसकेका येशूको विषयमा रहेछ, जसलाई पावलले चाहिँ अझै जीवित छ भनी दाबी गर्दथियो। यसैले यस कुराको जाँच पड़ताल गर्ने विषयमा म अलमल्‍ल परेको हुँदा यसको बारे छलफल गर्न यरूशलेममा जान त्‍यसको इच्‍छा छ कि भनेर त्‍यसलाई मैले सोधें। तर पावलले सम्राट्‌को फैसला नभएसम्‍म हिरासतमै राख्‍नू भनी अपिल गरेको हुनाले त्‍यसलाई कैसरकहाँ नपठाउञ्‍जेल पहरामा राख्‍ने हुकुम दिएँ।”

शेयर गर्नुहोस्
प्रेरित 25 पढ्नुहोस्

प्रेरित 25:1-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस प्रान्तमा आएको तीन दिनपछि फेस्तस कैसरियाबाट यरूशलेम गए। त्यहाँ मुख्य पुजारी र यहूदी अगुवाहरू तिनका सामु आए र पावलका विरुद्ध आरोपहरू लगाए। तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए। फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु। तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीँ आरोपहरू लगाऊन्।” दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए। जब पावल त्यहाँ आए, यरूशलेमबाट आएका यहूदीहरू उनका चारैतिर उभिए। अनि उनका विरुद्ध धेरै गम्भीर आरोपहरू लगाए, तर तिनीहरूले ती प्रमाणित गर्न सकेनन्। त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्‍न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।” यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?” पावलले जवाफ दिए: “अहिले म सिजरको अदालतसमक्ष उभिएको छु; मेरो मुद्दाको सुनुवाइ पनि यहीँ नै हुनुपर्दछ। तपाईंहरू आफैँलाई राम्रो थाहा छ, मैले यहूदीहरूका विरुद्ध केही खराबी गरेको छैनँ। यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।” आफ्नो सभासँग सल्‍लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।” त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए। तिनीहरू त्यहाँ धेरै दिन बस्‍ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाएको एक जना मानिस यहाँ छ। म यरूशलेममा गएका बेलामा मुख्य पुजारीहरू र यहूदीहरूका प्रधानहरूले उसको विरुद्धमा थुप्रै आरोपहरू लगाएर उसलाई दण्ड दिइयोस् भनी माग गरे। “त्यस बेला मैले तिनीहरूलाई भनेँ, कि कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई सुम्पने प्रथा रोमी व्यवस्थामा छैन। जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्‍नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै मैले अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ। जब उसका आरोपीहरू उभिएर बोल्न थाले, तब मैले अपेक्षा गरेबमोजिम तिनीहरूले एउटै पनि अपराधको आरोप उसलाई लगाउन सकेनन्। त्यसको साटो तिनीहरूका आफ्नै धर्मको बारेमा र येशू नामको एक जना मरेको व्यक्ति, जसलाई पावलले जिउँदै भएको दाबी गरेको बारेमा तिनीहरूका केही मतभेद थियो। यस्ता कुराहरू कसरी छानबिन गर्ने भनी म अलमल परेँ; त्यसैले यरूशलेम गएर यी आरोपहरूका सुनुवाइमा त्यो मानिस त्यहाँ जान चाहन्छ कि चाहँदैन भनेर उसलाई मैले सोधेँ। तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्‍ने उजुर गरेकोले, त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।”

शेयर गर्नुहोस्
प्रेरित 25 पढ्नुहोस्

प्रेरित 25:1-21 पवित्र बाइबल (NERV)

फेस्तस राज्यपाल भए, अनि तिन दिन पछि उनी सिजरियाबाट यरूशलेम गए। मुख्य पूजाहारीहरू र अति मुख्य यहूदी अगुवाहरूले पावलको विरुद्ध तिनीहरूको मुद्दा पेश गरे। तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए। तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु। तिमीहरूका अगुवाहरू पनि मसँग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिनै गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।” फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे। पावल न्यायालायमा आए। यरूशलेमबाट आएका यहूदीहरू उनको वरिपरि उभिए। यहूदीहरूले पावलको विरोधमा निकै दोष देखाई धेरै अनि गम्भीर आरोपहरू ल्याए। तर तिनीहरूले त्यसको प्रमाण दिन सकेनन्। तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।” तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?” पावलले भने, “म अहिले सिजरको न्यायालय अघि उभिएकोछु, अनि यस ठाउँमा मैले न्याय पाउनु पर्छ। मैले यहूदीहरूका विरूद्ध केही गल्ती काम गरेको छैनः यो सत्य तपाईं राम्ररी जान्नु हुन्छ। यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।” फेस्तसले आफ्ना महासभासँग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।” केही दिनपछि राजा अग्रिपा र वर्णिस फेस्तसलाई भेट्न सिजरिया आए। तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ। जब म यरूशलेम गएँ त्यहाँका मुख्य पूजाहारीहरू र बुढा यहूदी अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छ्न्। तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसँग मुखा-मुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।’ “यसर्थ ती यहूदीहरू मसँग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसें अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ। यहूदीहरू उठे अनि आरोप लगाए। तर यहूदीहरूले कुनै नराम्रो अपराधको लागी दोषाएनन् जुन आशा गरेको थिएँ। जुन कुरा तिनीहरूले भने त्यो आरोप खाली तिनीहरूको आफ्नै धर्मको विषय माथि मतभेद र येशू नाउँ भएको मानिसको विषयमा मात्र थियो। येशू मरे तर पावल भन्दछ ऊ अझै पनि जिउँदो छन्। म यस विषयमा धेरै कुरा जान्दिन, यसैकारण मैले प्रश्नहरू गरिनँ। तर मैले पावललाई भने, ‘के तिमी यरूशलेम जान्छौ, यी कुराहरूमा त्यहाँ न्याय गराउन?’ तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यहीं राख्नु।”

शेयर गर्नुहोस्
प्रेरित 25 पढ्नुहोस्

प्रेरित 25:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फेस्‍तस आफ्‍नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए। त्‍यहाँ हुँदाखेरि मुख्‍य पूजाहारी र यहूदी नेताहरूले उनलाई पावलको विरोधमा आफ्‍ना कुरा सुनाए र पावललाई यरूशलेम पठाइदिनुहोस् भनी बिन्‍ती चढाए किनभने तिनीहरूले पावललाई बाटोमा आउँदाआउँदै मार्ने योजना बनाउँदै थिए। तर फेस्‍तसले तिनीहरूलाई यस्‍तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्‍यहाँ जाँदै छु। तिमीहरूमध्‍येको कोही शासकहरू मसँगै जान चाहन्‍छन् भने पठाइदेओ। यदि पावलले केही बिराएको छ भने तिनीहरूले त्‍यहाँ नै उजुर गर्न सक्‍छन्।” आठ-दश दिनसम्‍म यरूशलेममा बसेपछि फेस्‍तस कैसरियामा फर्किए। भोलिपल्‍टै उनले न्‍याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्‍याउनू’ भनेर हुकुम दिए। पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले उनलाई चारैतिरबाट घेरेर थरी-थरीका दोष लगाए। तर तिनीहरूले कुनै पनि दोषको प्रमाण दिन सकेनन्। पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्‍त्रको विरोधमा न मन्‍दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।” यहूदीहरूलाई खुसी पार्ने इच्‍छाले फेस्‍तसले पावललाई भने, “म तिमीलाई यरूशलेम पठाइदिन्‍छु अनि यी कुराको बारेमा म तिम्रो न्‍याय त्‍यहीँ नै गर्नेछु, हुँदैन र?” तर पावलले भने, “म रोमी महाराजाको न्‍यायालयको अगाडि उभिरहेको छु। यहीँ नै मेरो न्‍याय हुनुपर्छ। मैले यहूदीहरूको विरोधमा कुनै खराबी गरेको छैन भन्‍ने कुरा हजुरलाई पनि थाहा छ। यदि मैले ऐन-कानुनलाई मिचेको छु र ज्‍यानसजाय पाउनुपर्ने कुनै अपराध गरेको छु भने म मर्नलाई पनि तयार छु। तर यहूदीहरूले लगाएका कुनै पनि दोष साँचो छैन भने मलाई तिनीहरूको हातमा कसैले पनि सुम्‍पन सक्‍दैन। म रोमी महाराजाको अगाडि नै बिन्‍ती चढाउने अधिकार माग्‍छु।” तब फेस्‍तसले उनका सल्‍लाहकारहरूसँग सल्‍लाह गरे अनि पावललाई भने, “तिमीले महाराजाको अगाडि नै बिन्‍ती चढाउने माग गर्‍यौ। त्‍यसो हुँदा म तिमीलाई महाराजाकहाँ नै पठाइदिनेछु।” केही दिनपछि राजा अग्रिपास र उनकी बहिनी बरनिकी फेस्‍तसको स्‍वागत गर्न कैसरियामा आए। तिनीहरू केही दिन कैसरियामा बसेपछि फेस्‍तसले तिनीहरूलाई पावलको कुरा यसरी सुनाए, “यहाँ फेलिक्‍सले नै थुनेका एउटा मानिस छ। म यरूशलेम गएको बेलामा यहूदीहरूका मुख्‍य पूजाहारी र अरू अगुवाहरूले उसको विरोधमा दोष लगाएका थिए र उसलाई दण्‍ड दिनुपर्छ भने। तर मैले तिनीहरूलाई भनें, ‘मानिसलाई दोषी नठहराएसम्‍म रोमी सरकारको दण्‍ड दिने चलन छैन। दोष लगाइएको मानिसले दोष लगाउनेका अगाडि आफ्‍नो कुरा सुनाउने मौका पाउनुपर्छ’। तिनीहरू यहाँ आएपछि मैले ढीलो नगरी भोलिपल्‍टै पावललाई न्‍यायालयमा ल्‍याउने आज्ञा दिएँ। पावलका विरोधीहरूले उसले अपराध गरेको कुनै खास दोष लगाउँछन् होला भन्‍ने सम्‍झेको थिएँ, तर तिनीहरूले त्‍यस्‍तो कुनै दोष लगाउन सकेनन्। उनीहरूकै धर्म र मरिसकेको येशू भन्‍ने मानिसको बारेमा मात्रै तिनीहरूको पावलसँग झगडा थियो। पावलचाहिँ मरेको येशू बिउँतनुभएको छ भनेर जिद्दी गर्दोरहेछ। यी कुराको बारेमा मैले त केही सोधपूछ गर्न पनि सकिनँ। त्‍यसो हुँदा मैले उसलाई ‘यरूशलेम गएर तिम्रो न्‍याय त्‍यहीँ नै गरे हुन्‍छ कि’ भनेर सोधें। तर उसले रोमी सम्राटबाट न्‍याय पाऊँ भनी बिन्‍ती गर्‍यो र मैले सम्राटकहाँ नपठाएसम्‍म उसलाई राम्ररी पहरा दिएर यहीँ नै राख्‍ने आज्ञा दिएको छु।”

शेयर गर्नुहोस्
प्रेरित 25 पढ्नुहोस्