फेस्तस आफ्नो मुलुकबाट आएको तीन दिनपछि नै कैसरियाबाट यरूशलेम गए। त्यहाँ हुँदाखेरि मुख्य पूजाहारी र यहूदी नेताहरूले उनलाई पावलको विरोधमा आफ्ना कुरा सुनाए र पावललाई यरूशलेम पठाइदिनुहोस् भनी बिन्ती चढाए किनभने तिनीहरूले पावललाई बाटोमा आउँदाआउँदै मार्ने योजना बनाउँदै थिए। तर फेस्तसले तिनीहरूलाई यस्तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्यहाँ जाँदै छु। तिमीहरूमध्येको कोही शासकहरू मसँगै जान चाहन्छन् भने पठाइदेओ। यदि पावलले केही बिराएको छ भने तिनीहरूले त्यहाँ नै उजुर गर्न सक्छन्।” आठ-दश दिनसम्म यरूशलेममा बसेपछि फेस्तस कैसरियामा फर्किए। भोलिपल्टै उनले न्याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्याउनू’ भनेर हुकुम दिए। पावल आइपुगेपछि यरूशलेमबाट आएका यहूदीहरूले उनलाई चारैतिरबाट घेरेर थरी-थरीका दोष लगाए। तर तिनीहरूले कुनै पनि दोषको प्रमाण दिन सकेनन्। पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्त्रको विरोधमा न मन्दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।” यहूदीहरूलाई खुसी पार्ने इच्छाले फेस्तसले पावललाई भने, “म तिमीलाई यरूशलेम पठाइदिन्छु अनि यी कुराको बारेमा म तिम्रो न्याय त्यहीँ नै गर्नेछु, हुँदैन र?” तर पावलले भने, “म रोमी महाराजाको न्यायालयको अगाडि उभिरहेको छु। यहीँ नै मेरो न्याय हुनुपर्छ। मैले यहूदीहरूको विरोधमा कुनै खराबी गरेको छैन भन्ने कुरा हजुरलाई पनि थाहा छ। यदि मैले ऐन-कानुनलाई मिचेको छु र ज्यानसजाय पाउनुपर्ने कुनै अपराध गरेको छु भने म मर्नलाई पनि तयार छु। तर यहूदीहरूले लगाएका कुनै पनि दोष साँचो छैन भने मलाई तिनीहरूको हातमा कसैले पनि सुम्पन सक्दैन। म रोमी महाराजाको अगाडि नै बिन्ती चढाउने अधिकार माग्छु।” तब फेस्तसले उनका सल्लाहकारहरूसँग सल्लाह गरे अनि पावललाई भने, “तिमीले महाराजाको अगाडि नै बिन्ती चढाउने माग गर्यौ। त्यसो हुँदा म तिमीलाई महाराजाकहाँ नै पठाइदिनेछु।” केही दिनपछि राजा अग्रिपास र उनकी बहिनी बरनिकी फेस्तसको स्वागत गर्न कैसरियामा आए। तिनीहरू केही दिन कैसरियामा बसेपछि फेस्तसले तिनीहरूलाई पावलको कुरा यसरी सुनाए, “यहाँ फेलिक्सले नै थुनेका एउटा मानिस छ। म यरूशलेम गएको बेलामा यहूदीहरूका मुख्य पूजाहारी र अरू अगुवाहरूले उसको विरोधमा दोष लगाएका थिए र उसलाई दण्ड दिनुपर्छ भने। तर मैले तिनीहरूलाई भनें, ‘मानिसलाई दोषी नठहराएसम्म रोमी सरकारको दण्ड दिने चलन छैन। दोष लगाइएको मानिसले दोष लगाउनेका अगाडि आफ्नो कुरा सुनाउने मौका पाउनुपर्छ’। तिनीहरू यहाँ आएपछि मैले ढीलो नगरी भोलिपल्टै पावललाई न्यायालयमा ल्याउने आज्ञा दिएँ। पावलका विरोधीहरूले उसले अपराध गरेको कुनै खास दोष लगाउँछन् होला भन्ने सम्झेको थिएँ, तर तिनीहरूले त्यस्तो कुनै दोष लगाउन सकेनन्। उनीहरूकै धर्म र मरिसकेको येशू भन्ने मानिसको बारेमा मात्रै तिनीहरूको पावलसँग झगडा थियो। पावलचाहिँ मरेको येशू बिउँतनुभएको छ भनेर जिद्दी गर्दोरहेछ। यी कुराको बारेमा मैले त केही सोधपूछ गर्न पनि सकिनँ। त्यसो हुँदा मैले उसलाई ‘यरूशलेम गएर तिम्रो न्याय त्यहीँ नै गरे हुन्छ कि’ भनेर सोधें। तर उसले रोमी सम्राटबाट न्याय पाऊँ भनी बिन्ती गर्यो र मैले सम्राटकहाँ नपठाएसम्म उसलाई राम्ररी पहरा दिएर यहीँ नै राख्ने आज्ञा दिएको छु।”
प्रेरित 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 25:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू