YouVersion लोगो
खोज आइकन

प्रेरित 18:1-11

प्रेरित 18:1-11 NCV

यसपछि पावल एथेन्सलाई छोडेर कोरिन्थमा गए। त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए। तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे। पावलले हरेक शब्बाथमा सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे। जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे। तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।” त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्‍वरको भक्ति गर्ने मानिस थिए। सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्‍वास गरे; त्यसै गरी पावललाई सुन्‍नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्‍वास गरे र तिनीहरूले बप्‍तिस्मा लिए। एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग; किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।” यसरी पावलले तिनीहरूलाई परमेश्‍वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे।

प्रेरित 18 पढ्नुहोस्

Video for प्रेरित 18:1-11