एक दिन जब हामी प्रार्थना स्थलतिर गइरहेका थियौँ, तब हामीले एउटी कमारी केटीलाई भेट्यौँ, जससँग जोखना हेर्ने दुष्ट आत्मा थियो। जोखना हेरेर नै त्यस केटीले आफ्ना मालिकहरूका निम्ति ठूलो कमाइ ल्याएर दिने गर्थी। त्यो केटी पावल र हाम्रो पछि-पछि लाग्दै यसो भन्दै कराई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तपाईंहरूको उद्धारको बाटो बताइरहेका छन्।” धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही। यस कुराले पावललाई दिक्क गरायो; यसैले फनक्क फर्केर तिनले त्यस दुष्ट आत्मालाई भने, “येशू ख्रीष्टको नाममा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यही क्षण त्यो दुष्ट आत्माले त्यसलाई छोडिदियो। जब त्यस कमारी केटीका मालिकहरूले आफ्नो आम्दानीको आशा मरेको थाहा पाए, तब तिनीहरूले पावल र सिलासलाई समातेर बजारबाट घिस्याउँदै अधिकारीहरूकहाँ लगे। अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्चाउँदै छन्। यिनीहरू हामी रोमीहरूले स्वीकार गर्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाउँदैछन्।” तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए। तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए। यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके। मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए। अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए। झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए। तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!” तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे। त्यसपछि तिनीहरूलाई बाहिर ल्याएर तिनले सोधे, “आदरणीय जनहरू हो, मुक्ति पाउनका निम्ति मैले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।” त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए। रातको त्यस पहरमा ती झ्यालखानाका प्रमुखले तिनीहरूलाई बाहिर लगेर तिनका घाउहरू धोइदिए। अनि तिनी र तिनका परिवारले तुरुन्तै बप्तिस्मा लिए। झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्वरमा विश्वास गरेका थिए।
प्रेरित 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 16:16-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू