YouVersion लोगो
खोज आइकन

प्रेरित 16:1-15

प्रेरित 16:1-15 NCV

पावल डर्बी हुँदै लुस्त्रा आए। त्यहाँ तिमोथी नामका एक जना चेला बस्थे। तिनकी आमा यहूदी थिइन् र विश्‍वासी थिइन्, तर बुबाचाहिँ ग्रीक थिए। लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे। पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्‍ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्‍ने थाहा थियो। तिनीहरू सहर-सहर भएर जाँदा यरूशलेमका प्रेरितहरू र प्रधानहरूद्वारा गरिएको निर्णय मानिसहरूले पालन गरून् भनी सुनाउँदै गए। यसरी मण्डलीहरू विश्‍वासमा शक्तिशाली हुँदैगए, र तिनीहरूको संख्या दिनदिनै बढ्दैगयो। एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए। जब तिनीहरू माइसियाको सिमानामा आइपुगे, तब तिनीहरू बिथिनिया जाने प्रयास गरे; तर येशूको आत्माले तिनीहरूलाई त्यसतर्फ जान अनुमति दिनुभएन। त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे। रातको समयमा म्यासिडोनियाका एक जना मानिसले उभिएर पावललाई यसरी बिन्ती गरिरहेको तिनले दर्शन देखे, “तपाईं म्यासिडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस्।” पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्‍वरले हामीलाई बोलाउनुभएको हो भन्‍ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौँ। त्रोआसबाट जहाजमा चढी हामी सोझै सामोथ्रेसतिर लाग्यौँ, र त्यसको भोलिपल्टै नियापोलिस पुग्यौँ। त्यहाँबाट रोमी उपनिवेश र म्यासिडोनियाको त्यस क्षेत्रको एउटा प्रमुख सहर फिलिप्पी आइपुग्यौँ, र त्यहाँ हामी कैयौँ दिनसम्म बस्यौँ। शब्बाथमा सहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौँ। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौँ। हामी त्यहाँ बस्यौँ र भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ। अनि हाम्रो कुरा सुन्‍ने महिलाहरूमध्ये एक जना थिआटीरा सहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नामकी महिला थिइन्। तिनी परमेश्‍वरकी भक्त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्‍वरले तिनको हृदय खोलिदिनुभयो। जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्‍तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्‍वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्‍नुहोस्” भनेर हामीलाई कर गरिन्।

प्रेरित 16 पढ्नुहोस्

प्रेरित 16:1-15 को लागि भिडियो