YouVersion लोगो
खोज आइकन

प्रेरित 16:1-15

प्रेरित 16:1-15 NNRV

पावल डर्बी र लुस्‍त्रामा पनि आए। त्‍यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए। लुस्‍त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो। तिनलाई पावलले साथमा लैजान इच्‍छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्‍ने उनीहरू सबैलाई थाहा थियो। अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्‍डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए। यसरी मण्‍डलीहरू विश्‍वासमा दह्रिला हुँदै र संख्‍यामा दिनहुँ बढ्‌दैगए। पवित्र आत्‍माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए। माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्‍माले तिनीहरूलाई जान दिनुभएन। तब माइसिया भएर तिनीहरू त्रोआसमा गए। राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्‍ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्‌।” जब तिनले यो दर्शन पाए, तुरुन्‍तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्‍चय गर्‍यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले हामीलाई बोलाउनुभएको रहेछ। तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्‍ट नियापोलिसमा आइपुग्‍यौं, र त्‍यहाँबाट फिलिप्‍पीमा आइपुग्‍यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्‍यस सहरमा केही दिन बस्‍यौं। अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्‍यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्‍यहाँ हामी बस्‍यौं र जम्‍मा भएका स्‍त्रीहरूसँग बातचीत गर्न लाग्‍यौं। अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्‍त्रको व्‍यापार गर्ने लिडिया नाउँकी एउटी ईश्‍वरभक्त स्‍त्रीले हाम्रा वचन सुनिन्‌। पावलले बोलेका कुरा ध्‍यानसँग सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌।

प्रेरित 16:1-15 को लागि भिडियो