YouVersion लोगो
खोज आइकन

प्रेरित 15:1-11

प्रेरित 15:1-11 NCV

यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्‍वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।” यसकारण तिनीहरूसँग पावल र बारनाबासको ठूलो मतभेद अनि वाद-विवाद भयो। तब यरूशलेम गई त्यहाँका प्रेरितहरू र प्रधानहरूसँग यस प्रश्नको टुङ्गो लगाउन पावल र बारनाबास केही अन्य विश्‍वासीका साथ नियुक्त गरिए। मण्डलीले तिनीहरूलाई त्यसरी पठाएपछि जब तिनीहरू फोनिके र सामरियाको बाटोहुँदै यात्रा गरिरहेका थिए, तब तिनीहरूले कसरी गैरयहूदीहरू प्रभुको बाटोमा फर्किएका थिए, सो सविस्तार सुनाए। त्यो खबरले सबै विश्‍वासीहरू प्रसन्‍न भए। जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्‍वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे। त्यसपछि फरिसी दलका केही विश्‍वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।” यस प्रश्नमा विचार गर्न प्रेरितहरू र प्रधानहरू भेला भए। ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्‍वास गरून् भनेर केही समयअगि परमेश्‍वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो। मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ। हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्‍वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो। त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्‍वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ। हामी विश्‍वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”

प्रेरित 15 पढ्नुहोस्

प्रेरित 15:1-11 को लागि भिडियो