YouVersion लोगो
खोज आइकन

प्रेरित 15:1-11

प्रेरित 15:1-11 NNRV

अब कोही मानिसहरूले यहूदियाबाट एन्‍टिओखियामा आएर भाइहरूलाई यस्‍तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्‍नेछैन।” तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्‍यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्‍नको फैसलाको निम्‍ति प्रेरितहरू र एल्‍डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे। मण्‍डलीका सदस्‍यहरूले तिनीहरूलाई त्‍यहाँबाट बिदा दिए। तिनीहरू फोनिके र सामरियाबाट भएर जाँदा अन्‍यजातिहरूले प्रभुलाई ग्रहण गरेको कुरा तिनीहरूलाई सविस्‍तार सुनाए। यस खबरले त्‍यहाँका भाइहरू अत्‍यन्‍तै आनन्‍दित भए। जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्‍डली, प्रेरित र एल्‍डरहरूले स्‍वागत गरे। परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्‍यहाँ दिए। तब फरिसी दलका कतिपय विश्‍वास गर्नेहरूले उभिएर भने, “अन्‍यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्‍यवस्‍था पालन गर्ने आज्ञा दिनु आवश्‍यक छ।” यस विषयमा सोच-विचार गर्नलाई प्रेरितहरू र एल्‍डरहरू भेला भए। निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्‍वरले मेरो मुखबाट अन्‍यजातिहरूले सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌ भनी तिमीहरूका बीचबाट मलाई चुन्‍नुभयो। हृदयका कुरा जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्‍तै पवित्र आत्‍मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो। उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्‍नुभएन, तर तिनीहरूका हृदय विश्‍वासद्वारा शुद्ध पार्नुभयो। यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्‍वरको परीक्षा गर्नुहुन्‍छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्‍न सक्‍यौं। तर हामी विश्‍वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्‌।”

Video for प्रेरित 15:1-11