लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन। त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्वास रहेछ भनी थाहा पाए। त्यसैले तिनले उच्च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्क उठ्यो, र हिँड्न थाल्यो। पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!” तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्न थाले; किनकि पावल नै मुख्य वक्ता थिए। सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे। तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने, “मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्टि गर्नुहुने परमेश्वरकहाँ फर्कनुहोस् भन्न हामी तपाईंहरूसमक्ष आएका हौँ। बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो। तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।” यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो। त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे। तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए।
प्रेरित 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 14:8-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू