लुस्त्रा सहरमा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखिको कुँजो भएकोले कहिल्यै हिँड्न सकेको थिएन। पावल बोल्दा उसले ध्यान दिएर सुनिरह्यो। पावलले पनि उसको अनुहारमा राम्ररी हेरे। त्यो मानिसले “म पनि निको हुन सक्छु,” भनी विश्वास गर्दोरहेछ भन्ने पावलले थाहा पाए। पावलले ठूलो सोरमा भने, “उठ र आफ्नो खुट्टामा उभ।” यसो भनेको सुन्नेबित्तिकै त्यो मानिस जुरुक्क उठ्यो अनि आफ्नो खुट्टा टेकेर हिँड्न थाल्यो। पावलले यस्तो काम गरेको देखेर त्यहाँका मानिसहरूले आफ्ना लुकोनिया भाषामा कराएर भन्न लागे, “देवताहरू त मानिस भएर हामीहरूकहाँ आएछन्।” उनीहरूले बारनाबासलाई जिउस भनिने देवता सम्झे र पावलले नै मुख्य प्रचार गरेकोले उनलाई चाहिँ हर्मेस भनिने देवता सम्झे। जिउस देवताको मन्दिरचाहिँ त्यस सहरको छेउमा नै थियो। त्यो मन्दिरको पूजाहारी फूल-माला र बहरहरू लिएर सहरको ढोकामा आए। तिनीहरूले बारनाबास र पावलका सामु बहरहरू बलि चढाउन ठीक परे। यो कुरा थाहा पाउनेबित्तिकै पावल र बारनाबासले आपत् मान्दै आ-आफ्नो लुगा च्यातेर दगुर्दै मानिसको हुलमा गएर कराउँदै भने, “हैन, तपाईंहरूले यो के गर्नुभएको? हामीहरू पनि तपाईंहरूजस्तै दु:ख-सुख झेल्ने मानिस मात्रै हौं। हामी तपाईंहरूलाई परमेश्वरले दिनुभएको सुसमाचार सुनाउन आएका हौं। यस्तो नचाहिँदो काम छोडेर स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै कुरा सृष्टि गर्नुहुने जिउँदो परमेश्वरलाई मान्नुपर्छ। उहिलेका मानिसहरूलाई त परमेश्वरले आफूखुसी गर्न दिनुभएको थियो। उहाँले कहिले पनि असल र भलाइको कामहरू गर्न छोड्नुभएको छैन। उहाँले आकाशबाट पानी पारेर ठीक समयमा उब्जनी गराइदिनुहुन्छ। प्रशस्त खानेकुरा जुटाइदिएर मानिसहरूको हृदयलाई हर्षले भरिदिनुहुन्छ। यसरी परमेश्वरका कामहरूले नै उहाँको साक्षी दिन्छन्।” यी सबै कुरा भनेर पावल र बारनाबासले आफूलाई चढाउन ठीक पारेको बलिलाई धेरै मुस्किलले रोक्न सके। त्यसपछि पिसिदिया क्षेत्रको एन्टिओखिया र आइकोनियन सहरबाट केही यहूदीहरू त्यहाँ आए। तिनीहरूले मानिसको हुललाई उक्साएर पावललाई ढुङ्गाले हिर्काएर मार्न लगाए अनि मर्यो भन्ने सम्झी उनलाई घिस्सार्दै लगेर सहरबाहिर फ्याँकिदिए। तर प्रभुका चेलाहरू आएर पावलको वरिपरि जम्मा हुँदा उनी उठेर सहरतिर लागे। भोलिपल्ट उनी बारनाबाससँगै डर्बी सहरमा गए।
प्रेरित 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 14:8-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू