अनि पत्रुसले भन्न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्वरले पक्षपात गर्नुहुन्न। तर हरेक मानिसमा उहाँको भय मान्ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्ने कुरा कति साँचो रहेछ। हामी सबैका प्रभु येशू ख्रीष्टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्नुहुन्छ। यूहन्नाले गालीलमा सुरु गरेको बप्तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्नुहुन्छ। पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्वरले नासरतका येशू ख्रीष्टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहै छ। “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे। तर मृत्युको तेस्रो दिन परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो। सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्यौँ। उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्वरले जीवित र मृतकहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो। उहाँमा विश्वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।” जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्नेहरूमाथि पवित्र आत्मा आउनुभयो। गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू अचम्मित भए। किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने, “हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?” त्यसकारण तिनले येशू ख्रीष्टको नाममा तिनीहरूलाई बप्तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।
प्रेरित 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:34-48
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू