प्रेरित 10:34-48
प्रेरित 10:34-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ। परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश, अर्थात् ख्रीष्टद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्छ।) यूहन्नाले प्रचार गरेको बप्तिस्मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। “अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्ड्याएर पनि मारे। उहाँलाई नै परमेश्वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्वरले साक्षीको रूपमा छान्नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्यौं। उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्यायकर्ता हुनलाई परमेश्वरद्वारा नियुक्त हुनुभएको व्यक्ति हुनुहुन्छ भन्ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।” पत्रुसले यी कुरा बोल्दाबोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू आश्चर्यचकित भए। किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, “हामीझैँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाही गर्न सक्छ?” अनि तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे।
प्रेरित 10:34-48 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि पत्रुसले भन्न थाले: “अब मैले बुझेँ, कि यो सत्य रहेछ,” परमेश्वरले पक्षपात गर्नुहुन्न। तर हरेक मानिसमा उहाँको भय मान्ने र ठिक काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्ने कुरा कति साँचो रहेछ। हामी सबैका प्रभु येशू ख्रीष्टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्नुहुन्छ। यूहन्नाले गालीलमा सुरु गरेको बप्तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्नुहुन्छ। पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्वरले नासरतका येशू ख्रीष्टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहै छ। “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौँ। तिनीहरूले उहाँलाई नै काठमा झुण्ड्याएर मारे। तर मृत्युको तेस्रो दिन परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, र उहाँलाई प्रकट गराउनुभयो। सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौँ, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्यौँ। उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्वरले जीवित र मृतकहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो। उहाँमा विश्वास गर्ने हरेक मानिसले उहाँकै नामद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।” जुन बेला पत्रुस बोलिरहेका थिए, तिनको यो वचन सुन्नेहरूमाथि पवित्र आत्मा आउनुभयो। गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू अचम्मित भए। किनकि तिनीहरूले अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने, “हामीहरूले झैँ यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?” त्यसकारण तिनले येशू ख्रीष्टको नाममा तिनीहरूलाई बप्तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।
प्रेरित 10:34-48 पवित्र बाइबल (NERV)
पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो। “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ। “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं। “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।” पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।
प्रेरित 10:34-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पत्रुसले भन्न सुरु गरे, “साँच्चै परमेश्वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ। यो कुरा अब मलाई थाहा भयो। मानिस जुनसुकै जातिको होस्, परमेश्वरको आदर गर्ने र ठीक काम गर्ने मानिसलाई नै उहाँले मन पराउनुहुन्छ। तपाईंलाई थाहा छ कि येशू सबैका प्रभु हुनुहुन्छ। परमेश्वरले उहाँद्वारा शान्ति दिने सुसमाचार इस्राएलीहरूमा पठाउनुभयो। यूहन्नाले बप्तिस्माको प्रचार गरेपछि गालील क्षेत्रदेखि सुरु भएर यहूदिया देशभरि घटेका घटनाको बारेमा तपाईंहरूलाई थाहै छ। परमेश्वरले नासरतका येशूलाई खटाएर आफ्नै पवित्र आत्मा र शक्ति उहाँमा खन्याउनुभयो। परमेश्वर उहाँसँग हुनुभएकोले उहाँ भलाइको काम गर्दै भूत लागेकाहरूलाई निको पार्दै सबै ठाउँतिर जानुभयो। उहाँले यहूदिया देश र यरूशलेममा गर्नुभएका सबै कुराको हामी साक्षी छौं। यहूदीहरूले उहाँलाई क्रूसमा झुण्डाएर मारे। तर तेस्रो दिनमा परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्न पाए। सबैकहाँ त उहाँ देखा पर्नुभएन, तर उहाँ बिउँतनुभएपछि उहाँसँगै खानपिन गर्ने हामीसँग देखा पर्नुभयो किनभने परमेश्वरले हामीलाई यो घटनाको साक्षी बनाउन अघिबाटै चुन्नुभएको थियो। सुसमाचार प्रचार गर्न र परमेश्वरले उहाँलाई जिउँदा र मरेकाहरूको न्याय गर्न खटाउनुभएको छ भनी साक्षी दिन हामीलाई आज्ञा दिनुभयो। अगमवक्ताहरूले पनि उहाँको बारेमा बताएका थिए। उहाँमा विश्वास गर्ने जतिले उहाँकै नाउँको शक्तिले गर्दा आफ्ना पापबाट क्षमा पाउनेछन् भनी तिनीहरूले अघि नै जनाएका थिए।” पत्रुस बोलि नै रहेका थिए, तब सुन्नेहरू सबैमाथि पवित्र आत्मा आउनुभयो। परमेश्वरले आफ्नो पवित्र आत्माका वरदान अरू जातिका मानिसमाथि पनि खन्याउनुभएको देखेर पत्रुससँग आएका प्रभुमा विश्वास गर्ने यहूदीहरू छक्कै परे किनभने ती सुन्नेहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। पत्रुसले भने, “हामीले जस्तै यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्! अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिन कसले रोक्न सक्छ?” यसकारण उनीहरूलाई ‘प्रभु येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिने’ आज्ञा दिए। त्यसपछि तिनीहरूले पत्रुसलाई केही दिनसम्म आफूहरूसँगै बस्न बिन्ती गरे।