YouVersion लोगो
खोज आइकन

प्रेरित 10:34-48

प्रेरित 10:34-48 सरल नेपाली

पत्रुसले भन्‍न सुरु गरे, “साँच्‍चै परमेश्‍वरले सबै मानिसलाई समान व्‍यवहार गर्नुहुन्‍छ। यो कुरा अब मलाई थाहा भयो। मानिस जुनसुकै जातिको होस्, परमेश्‍वरको आदर गर्ने र ठीक काम गर्ने मानिसलाई नै उहाँले मन पराउनुहुन्‍छ। तपाईंलाई थाहा छ कि येशू सबैका प्रभु हुनुहुन्‍छ। परमेश्‍वरले उहाँद्वारा शान्‍ति दिने सुसमाचार इस्राएलीहरूमा पठाउनुभयो। यूहन्‍नाले बप्‍तिस्‍माको प्रचार गरेपछि गालील क्षेत्रदेखि सुरु भएर यहूदिया देशभरि घटेका घटनाको बारेमा तपाईंहरूलाई थाहै छ। परमेश्‍वरले नासरतका येशूलाई खटाएर आफ्‍नै पवित्र आत्‍मा र शक्ति उहाँमा खन्‍याउनुभयो। परमेश्‍वर उहाँसँग हुनुभएकोले उहाँ भलाइको काम गर्दै भूत लागेकाहरूलाई निको पार्दै सबै ठाउँतिर जानुभयो। उहाँले यहूदिया देश र यरूशलेममा गर्नुभएका सबै कुराको हामी साक्षी छौं। यहूदीहरूले उहाँलाई क्रूसमा झुण्‍डाएर मारे। तर तेस्रो दिनमा परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्‍न पाए। सबैकहाँ त उहाँ देखा पर्नुभएन, तर उहाँ बिउँतनुभएपछि उहाँसँगै खानपिन गर्ने हामीसँग देखा पर्नुभयो किनभने परमेश्‍वरले हामीलाई यो घटनाको साक्षी बनाउन अघिबाटै चुन्‍नुभएको थियो। सुसमाचार प्रचार गर्न र परमेश्‍वरले उहाँलाई जिउँदा र मरेकाहरूको न्‍याय गर्न खटाउनुभएको छ भनी साक्षी दिन हामीलाई आज्ञा दिनुभयो। अगमवक्ताहरूले पनि उहाँको बारेमा बताएका थिए। उहाँमा विश्‍वास गर्ने जतिले उहाँकै नाउँको शक्तिले गर्दा आफ्‍ना पापबाट क्षमा पाउनेछन् भनी तिनीहरूले अघि नै जनाएका थिए।” पत्रुस बोलि नै रहेका थिए, तब सुन्‍नेहरू सबैमाथि पवित्र आत्‍मा आउनुभयो। परमेश्‍वरले आफ्‍नो पवित्र आत्‍माका वरदान अरू जातिका मानिसमाथि पनि खन्‍याउनुभएको देखेर पत्रुससँग आएका प्रभुमा विश्‍वास गर्ने यहूदीहरू छक्‍कै परे किनभने ती सुन्‍नेहरूले अन्‍य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। पत्रुसले भने, “हामीले जस्‍तै यिनीहरूले पनि पवित्र आत्‍मा पाएका छन्! अब यी मानिसहरूलाई पानीको बप्‍तिस्‍मा लिन कसले रोक्‍न सक्‍छ?” यसकारण उनीहरूलाई ‘प्रभु येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा लिने’ आज्ञा दिए। त्‍यसपछि तिनीहरूले पत्रुसलाई केही दिनसम्‍म आफूहरूसँगै बस्‍न बिन्‍ती गरे।

प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:34-48 को लागि भिडियो