YouVersion लोगो
खोज आइकन

प्रेरित 10:23-48

प्रेरित 10:23-48 NCV

त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन तिनीहरूसँग पत्रुसले आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए। भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए र उनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए। जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले उनीसँग भेटे र श्रद्धाका साथ तिनले उनको खुट्टामा दण्डवत् गरे। तर पत्रुसले तिनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफू पनि मान्छे नै हुँ।” उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएको तिनले पाए। उनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरो जान्‍नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई अपवित्र वा अशुद्ध मैले भन्‍नु हुँदैन भनेर परमेश्‍वरले मलाई देखाउनुभएको छ। त्यसैले, जब मलाई तपाईंले बोलाउनुभयो, कुनै प्रश्न नगरीकनै म यहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई तपाईंले कति कारणले बोलाउनुभएको हो?” कर्नेलियसले जवाफ दिए: “तीन दिन अघि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एकजना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, ‘कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छाला बनाउनेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’ त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; र तपाईं दया गरीकन आउनुभयो। अब हामीलाई भन्‍नका निम्ति प्रभुले तपाईंलाई निर्देशन दिनुभएको सबै कुरा सुन्‍न परमेश्‍वरको उपस्थितिमा हामी सबै यहाँ प्रतीक्षा गरिरहेका छौं।” अनि पत्रुसले भन्‍न थाले: “अब मैले बुझे यो सत्य रहेछ,” परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न, तर हरेक मानिसमा उहाँको भय मान्‍ने र सही काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्‍ने कुरा कति साँचो रहेछ। हामी सबैका प्रभु येशू ख्रीष्‍टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्‍वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्‍नुहुन्छ। यूहन्‍नाले गालीलमा सुरु गरेको बप्‍तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्‍नुहुन्छ। पवित्र आत्मा र शक्‍तिसँग कसरी परमेश्‍वरले नासरतका येशू ख्रीष्‍टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्‍वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहा छ। “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौं। उहाँलाई नै काठमा झुण्ड्याई तिनीहरूले मारे। तर मृत्युको तेस्रो दिन परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो र उहाँलाई प्रकट गराउनुभयो। सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्‍वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौं, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्‍यौं। उहाँ नै त्यो व्यक्‍ति हुनुहुन्छ, जसलाई परमेश्‍वरले जीवित र मृतहरूको न्यायकर्ताको रूपमा नियुक्‍त गर्नुभएको छ भन्‍ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो। उहाँमा विश्‍वास गर्ने हरेक मानिसले उहाँकै नाउँद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्‍त गर्दछ भनी अगमवक्‍ताहरूले साक्षी दिएका छन्।” जुन बेला पत्रुस बोलिरहेका थिए, उनको यो वचन सुन्‍नेहरूमाथि पवित्र आत्मा आउनुभयो। गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू अचम्मित भए; किनकि उनीहरू अरू भाषाहरूमा बोलिरहेका र परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने, “हामीहरूले झैं तिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?” त्यसकारण तिनले येशू ख्रीष्‍टको नाउँमा तिनीहरूलाई बप्‍तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।

प्रेरित 10 पढ्नुहोस्

Video for प्रेरित 10:23-48