प्रेरित 10:23-48
प्रेरित 10:23-48 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्कार गरे। भोलिपल्ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्पाका कतिपय भाइहरू तिनको साथ लागे। पर्सिपल्ट तिनीहरू कैसरिया पुगे। आफ्ना कुटुम्बहरू र घनिष्ठ मित्रहरूलाई बोलाएर जम्मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए। जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्डवत् गरे। तर पत्रुसले उनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्, म आफै पनि त मानिस नै हुँ।” तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्यहाँ तिनले धेरै जना जम्मा भएका भेट्टाए। तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्नू भनी देखाउनुभएको छ। यसैकारण डाक्ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्नुभयो? अब भन्नुहोस्।” तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्ने खड़ा भए, र भने, ‘कर्नेलियस, परमेश्वरको सामुन्ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्झना भएको छ। यसकारण योप्पामा मान्छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्।’ तब मैले तुरुन्तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्न हामी सबै परमेश्वरको सामुन्ने यहाँ उपस्थित छौं।” तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ। परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश, अर्थात् ख्रीष्टद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्छ।) यूहन्नाले प्रचार गरेको बप्तिस्मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। “अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्ड्याएर पनि मारे। उहाँलाई नै परमेश्वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो, सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्वरले साक्षीको रूपमा छान्नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्यौं। उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्यायकर्ता हुनलाई परमेश्वरद्वारा नियुक्त हुनुभएको व्यक्ति हुनुहुन्छ भन्ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ। सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।” पत्रुसले यी कुरा बोल्दाबोल्दै वचन सुन्ने सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। अन्यजातिहरूमाथि पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू आश्चर्यचकित भए। किनकि अन्य भाषामा बोलेर तिनीहरूले परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने, “हामीझैँ पवित्र आत्मा पाउने यिनीहरूलाई पानीको बप्तिस्मा हुनदेखि कसले मनाही गर्न सक्छ?” अनि तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्यहीँ रहनुहोस् भनी अनुरोध गरे।
प्रेरित 10:23-48 नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे। अर्को दिन तिनीहरूसँग पत्रुसले आफ्नो यात्रा सुरु गरे, र योप्पाका केही दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीसँगै गए। भोलिपल्ट तिनी कैसरिया पुगे। कर्नेलियस तिनीहरूका बाटो हेरेर बसिरहेका थिए र उनको स्वागत गर्न आफ्ना नातेदारहरू र घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए। जब पत्रुस त्यस घरभित्र पसे, कर्नेलियसले उनीसँग भेटे र श्रद्धाका साथ तिनले उनको खुट्टामा दण्डवत् गरे। तर पत्रुसले तिनलाई उठाउँदै भने, “उठ्नुहोस्, म आफू पनि मान्छे नै हुँ।” उनीसँगै कुरा गर्दै पत्रुस कोठाभित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएको तिनले पाए। उनले तिनीहरूलाई भने: “तपाईंहरू सबै यो कुरो जान्नुहुन्छ, कि एउटा यहूदीले गैरयहूदीसँग सङ्गत गर्नु वा उसको घरमा जानू हाम्रो व्यवस्थाविरुद्ध हो। तर कुनै पनि मानिसलाई अपवित्र वा अशुद्ध मैले भन्नु हुँदैन भनेर परमेश्वरले मलाई देखाउनुभएको छ। त्यसैले, जब मलाई तपाईंले बोलाउनुभयो, कुनै प्रश्न नगरीकनै म यहाँ आएँ। के म तपाईंहरूलाई सोध्न सक्छु, मलाई तपाईंले कति कारणले बोलाउनुभएको हो?” कर्नेलियसले जवाफ दिए: “तीन दिन अघि यसै समयमा अर्थात् अपरान्ह तीन बजेतिर म मेरो घरमा प्रार्थना गरिरहेको थिएँ। तब चहकिलो पोशाक पहिरेका एकजना स्वर्गदूत मेरो सामु अकस्मात् उभिएर भने, ‘कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ, र तिम्रो दानलाई सम्झनुभएको छ। त्यसैले पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ। तिनी सिमोन भनिने छाला बनाउनेकहाँ पाहुना भएर बसेका छन्, जसको घर समुद्रको छेउमा छ।’ त्यसैकारण तपाईंलाई मैले तुरुन्त बोलाउन पठाएँ; र तपाईं दया गरीकन आउनुभयो। अब हामीलाई भन्नका निम्ति प्रभुले तपाईंलाई निर्देशन दिनुभएको सबै कुरा सुन्न परमेश्वरको उपस्थितिमा हामी सबै यहाँ प्रतीक्षा गरिरहेका छौं।” अनि पत्रुसले भन्न थाले: “अब मैले बुझे यो सत्य रहेछ,” परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक मानिसमा उहाँको भय मान्ने र सही काम गर्नेहरूलाई उहाँ ग्रहण गर्नुहुन्छ भन्ने कुरा कति साँचो रहेछ। हामी सबैका प्रभु येशू ख्रीष्टद्वारा भनिएको शान्तिको सुसमाचार परमेश्वरले इस्राएलका मानिसहरूका निम्ति पठाउनुभएको सन्देश हो भनी तपाईं सबै जान्नुहुन्छ। यूहन्नाले गालीलमा सुरु गरेको बप्तिस्माको प्रचारदेखि सारा यहूदियाभरि भएका सबै कुरा तपाईंहरू जान्नुहुन्छ। पवित्र आत्मा र शक्तिसँग कसरी परमेश्वरले नासरतका येशू ख्रीष्टलाई अभिषेक गर्नुभयो; त्यसपछि परमेश्वर उहाँकै साथ हुनुभएकोले, शैतानको अधीनमा परेकाहरूलाई पूर्ण निको तुल्याउँदै चारैतिर कसरी असल काम गर्दै उहाँ हिँड्नुभयो, यो कुरा तपाईंहरूलाई थाहा छ। “यहूदीहरूका देशमा र यरूशलेममा उहाँले जे-जे गर्नुभयो, ती हरेक कुराहरूका साक्षी हामी छौं। उहाँलाई नै काठमा झुण्ड्याई तिनीहरूले मारे। तर मृत्युको तेस्रो दिन परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो र उहाँलाई प्रकट गराउनुभयो। सबै मानिसहरूले उहाँलाई देख्न सकेनन्, तर साक्षी हुनका निम्ति परमेश्वरले पहिल्यै छनौट गर्नुभएको हामी जस्ताले उहाँलाई देख्यौं, येशू जीवित पारिनुभएपछि उहाँसँगै हामीले खानपिन गर्यौं। उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसलाई परमेश्वरले जीवित र मृतहरूको न्यायकर्ताको रूपमा नियुक्त गर्नुभएको छ भन्ने कुराको साक्षी दिन र मानिसहरूमा यसको प्रचार गर्न हामीलाई उहाँले आज्ञा दिनुभयो। उहाँमा विश्वास गर्ने हरेक मानिसले उहाँकै नाउँद्वारा आफ्ना पापहरूबाट क्षमादान प्राप्त गर्दछ भनी अगमवक्ताहरूले साक्षी दिएका छन्।” जुन बेला पत्रुस बोलिरहेका थिए, उनको यो वचन सुन्नेहरूमाथि पवित्र आत्मा आउनुभयो। गैरयहूदीहरूमा पनि पवित्र आत्माको वरदान खन्याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्वासीहरू अचम्मित भए; किनकि उनीहरू अरू भाषाहरूमा बोलिरहेका र परमेश्वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। त्यसपछि पत्रुसले भने, “हामीहरूले झैं तिनीहरूले पनि पवित्र आत्मा पाएका छन्। अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनबाट कसैले रोक्न सक्छ र?” त्यसकारण तिनले येशू ख्रीष्टको नाउँमा तिनीहरूलाई बप्तिस्मा लिन आज्ञा दिए। अनि तिनीहरूले पत्रुसलाई तिनीहरूसँग केही दिन रहिदिन भनी आग्रह गरे।
प्रेरित 10:23-48 पवित्र बाइबल (NERV)
पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे। अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए। जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।” पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे। उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी सँगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन। त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो” कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ” पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो। “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ। “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं। “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।” पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।
प्रेरित 10:23-48 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो सुनेर पत्रुसले ती मानिसहरूलाई भित्र लगेर स्वागत-सत्कार गरे। तिनीहरू त्यस रात त्यहीँ नै बसे। भोलिपल्ट पत्रुस र योप्पामा भएका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू ती मानिसहरूसँगै गए। पर्सिपल्ट तिनीहरू कैसरियामा आइपुगे। कर्नेलियसले चाहिँ आफ्ना इष्टमित्रहरूलाई निम्त्याएर पत्रुसको बाटो हेरिरहेका थिए। पत्रुस आएर भित्र जान लाग्दा कर्नेलियसले उनका खुट्टामा ढोगे। तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस्, म त मामुली मानिस मात्रै हुँ।” पत्रुस कर्नेलियससँग कुरा गर्दै घरभित्र पसे। त्यहाँ तिनले धेरै मानिसहरूलाई जम्मा भएका देखे। पत्रुसले तिनीहरूलाई भने, “हामी यहूदीहरूलाई अरू जातिका मानिससँग सङ्गत गर्न वा भेटघाट गर्न हाम्रो धर्मले दिँदैन भन्ने कुरा तपाईंहरू सबैलाई थाहै छ। तर कुनै पनि मानिसलाई अशुद्ध ठहराउनुहुँदैन भनेर अब परमेश्वरले मलाई देखाउनुभएको छ। यसैकारण तपाईंले मलाई बोलाउँदा म नअन्कनाई आएँ। अब भन्नुहोस्, मलाई किन बोलाउनुभएको हो?” कर्नेलियसले भने, “चार दिन अघिको कुरा हो। दिउँसो तीन बजेतिर म घरमै प्रार्थना गर्दै थिएँ। अचानक चम्किलो लुगा लगाएका मानिसले मेरो सामुन्ने उभिएर भन्नुभयो, ‘ए कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई गरेको दयाको कामलाई याद गर्नुभएको छ। योप्पा सहरमा आएका पत्रुस भनिने सिमोनलाई बोलाउन पठाऊ। उनी समुद्रको छेउ छालाको काम गर्ने सिमोनको घरमा बसेका छन्’। त्यसपछि मैले तुरुन्तै तपाईंलाई बोलाउन पठाएँ र तपाईं पनि यहाँसम्म कष्ट गरेर पाल्नुभयो। अब परमेश्वरले तपाईंलाई आज्ञा गर्नुभएको कुरा सुन्न हामी सबै प्रभुकै सामुन्ने भेला भएका छौं।” पत्रुसले भन्न सुरु गरे, “साँच्चै परमेश्वरले सबै मानिसलाई समान व्यवहार गर्नुहुन्छ। यो कुरा अब मलाई थाहा भयो। मानिस जुनसुकै जातिको होस्, परमेश्वरको आदर गर्ने र ठीक काम गर्ने मानिसलाई नै उहाँले मन पराउनुहुन्छ। तपाईंलाई थाहा छ कि येशू सबैका प्रभु हुनुहुन्छ। परमेश्वरले उहाँद्वारा शान्ति दिने सुसमाचार इस्राएलीहरूमा पठाउनुभयो। यूहन्नाले बप्तिस्माको प्रचार गरेपछि गालील क्षेत्रदेखि सुरु भएर यहूदिया देशभरि घटेका घटनाको बारेमा तपाईंहरूलाई थाहै छ। परमेश्वरले नासरतका येशूलाई खटाएर आफ्नै पवित्र आत्मा र शक्ति उहाँमा खन्याउनुभयो। परमेश्वर उहाँसँग हुनुभएकोले उहाँ भलाइको काम गर्दै भूत लागेकाहरूलाई निको पार्दै सबै ठाउँतिर जानुभयो। उहाँले यहूदिया देश र यरूशलेममा गर्नुभएका सबै कुराको हामी साक्षी छौं। यहूदीहरूले उहाँलाई क्रूसमा झुण्डाएर मारे। तर तेस्रो दिनमा परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभयो र मानिसहरूले उहाँलाई देख्न पाए। सबैकहाँ त उहाँ देखा पर्नुभएन, तर उहाँ बिउँतनुभएपछि उहाँसँगै खानपिन गर्ने हामीसँग देखा पर्नुभयो किनभने परमेश्वरले हामीलाई यो घटनाको साक्षी बनाउन अघिबाटै चुन्नुभएको थियो। सुसमाचार प्रचार गर्न र परमेश्वरले उहाँलाई जिउँदा र मरेकाहरूको न्याय गर्न खटाउनुभएको छ भनी साक्षी दिन हामीलाई आज्ञा दिनुभयो। अगमवक्ताहरूले पनि उहाँको बारेमा बताएका थिए। उहाँमा विश्वास गर्ने जतिले उहाँकै नाउँको शक्तिले गर्दा आफ्ना पापबाट क्षमा पाउनेछन् भनी तिनीहरूले अघि नै जनाएका थिए।” पत्रुस बोलि नै रहेका थिए, तब सुन्नेहरू सबैमाथि पवित्र आत्मा आउनुभयो। परमेश्वरले आफ्नो पवित्र आत्माका वरदान अरू जातिका मानिसमाथि पनि खन्याउनुभएको देखेर पत्रुससँग आएका प्रभुमा विश्वास गर्ने यहूदीहरू छक्कै परे किनभने ती सुन्नेहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरिरहेका तिनीहरूले सुने। पत्रुसले भने, “हामीले जस्तै यिनीहरूले पनि पवित्र आत्मा पाएका छन्! अब यी मानिसहरूलाई पानीको बप्तिस्मा लिन कसले रोक्न सक्छ?” यसकारण उनीहरूलाई ‘प्रभु येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिने’ आज्ञा दिए। त्यसपछि तिनीहरूले पत्रुसलाई केही दिनसम्म आफूहरूसँगै बस्न बिन्ती गरे।