YouVersion लोगो
खोज आइकन

प्रेरितहरूका काम 10:23-48

प्रेरितहरूका काम 10:23-48 NERV

पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे। अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए। जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।” पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे। उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी सँगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन। त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो” कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ” पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो। “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ। “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं। “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।” पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।

Video for प्रेरितहरूका काम 10:23-48