YouVersion लोगो
खोज आइकन

2 शमूएल 3:22-39

2 शमूएल 3:22-39 NCV

त्यही बेला दावीदका मानिसहरू र योआबचाहिँ कुनै ठाउँबाट लुटेर आफूसँग धेरै लुटका मालसामान लिएर फर्केर आए। तर अबनेरचाहिँ हेब्रोनमा दावीदसँग थिएनन्; किनकि दावीदले अबनेरलाई पठाइदिएका थिए, र तिनी शान्तिसँग गइसकेका थिए। जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्‍ने कुरा सुनाइयो। यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्! तपाईंले नेरका छोरा अबनेरलाई जान्‍नुहुन्छ। तिनी तपाईंलाई धोका दिन र तपाईंका गतिविधि चियो गर्न अनि तपाईंले गरिरहनुभएका हरेक कुरा बुझ्न मात्र आएका थिए।” तब योआब दावीदको उपस्थितिबाट गए, र अबनेरको पछि दूतहरूलाई पठाए। तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काएर ल्याए। तर यो कुरा दावीदलाई थाहा थिएन। जब अबनेर हेब्रोनमा फर्के, तब योआबले तिनलाई गुप्‍तमा कुरा गर्ने निहुँ गरेर मूलढोकाको एकातिर लगे। त्यहाँ आफ्नो भाइ असाहेलको रगतको बदला लिन तिनको पेटमा धारिलो हतियार रोपिदिए, र तिनी मरे। पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ। योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्‍ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!” (योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।) तब दावीदले योआब र तिनीसित भएका सबै मानिसहरूलाई भने, “तिमीहरूका लुगाहरू च्यातेर भाङ्ग्रा लगाओ र अबनेरको मृत शरीरको अगि-अगि शोक गर्दै हिँड।” राजा दावीद आफू पनि मृत शरीरको पछि-पछि हिँडे। तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे; अनि दावीद राजा अबनेरको चिहानमा जोरसँग रोए। सबै मानिसहरू पनि रोए। राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र? तिम्रा हातहरू बाँधिएका थिएनन्, न त तिम्रा पाउहरूमा साङ्ला थिए, तिमी दुष्‍ट मानिसहरूको सामु ढलेझैँ ढल्यौ।” अनि सबै मानिसहरू तिनको निम्ति फेरि रोए। तब ती सबै मानिसहरू आए। अनि दिन छँदै दावीदलाई केही खान आग्रह गरे; तर दावीदले शपथ खाएर यसो भने, “यदि मैले घाम अस्ताउन अगि रोटी अथवा केही चाखेँ भने परमेश्‍वरले मप्रति कठोर व्यवहार गरून्!” सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो। यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे। तब राजाले आफ्ना मानिसहरूलाई भने, “आजको दिन इस्राएलमा एक राजकुमार र एक जना महान् पुरुष मरेका छन् भनी के तिमीहरू जान्दैनौ? आज म अभिषिक्त राजा भए तापनि म कमजोर छु। सरूयाहका यी छोराहरू मैले नियन्त्रण गर्न नसक्ने भएका छन्। याहवेहले यस दुष्‍ट काम गर्नेलाई त्यसको दुष्‍ट कामअनुसार नै प्रतिफल देऊन्!”

2 शमूएल 3 पढ्नुहोस्