2 कोरिन्थी 5
5
नयाँ शरीरको प्रतीक्षा
1अब हामी जान्दछौं, कि हामी बस्ने पृथ्वीको डेरा#5:1 पार्थिव शरीर भत्किगएपछि हाम्रो लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्वरबाटको हो। 2अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौं भनेर सुस्केरा हाल्छौं, 3किनकि त्यसलाई धारण गर्यौं भने हामी नाङ्गो#5:3 अर्थात् शरीरविनाको आत्मा लाई जनाउँछ देखिनेछैनौं। 4अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौं, किनकि हामी वस्त्र फुकालिएका होइन, तर हाम्रा स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौं, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्#5:4 अर्थात् हामी मृत्युको चाहना गर्दैनौं। 5अब परमेश्वरले नै हामीलाई यो विशेष उद्देश्यको लागि बनाउनुभएको हो, अनि के हुन आउनेछ, त्यसको पहिलो किस्ता स्वरूप परमेश्वरको आत्मा दिनुभएको छ।
6यसकारण हामी निश्चित छौं र जान्दछौं, कि जबसम्म हामी शरीरको वासस्थानमा छौं, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौं। 7हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौं। 8हामी निश्चित छौं, र म भन्दछु, कि हामी यस शरीरदेखि टाढा रहेर प्रभुसित नै रहन चाहन्छौं। 9यसकारण हामी शारीरिक डेरामै रहौं, अथवा यसदेखि टाढा रहौं, हामीले प्रभुलाई नै प्रसन्न पार्ने लक्ष्य राखेका छौं। 10किनकि हामीले यस शरीरमा हुँदा, असल कि खराब जे गरेका छौं, त्यसको फल पाउनलाई हामी सबै ख्रीष्टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।
मिलापको सेवा
11तब परमेश्वरको डर मान्नु के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँन चाहन्छौं। हामी जे छौं, त्यो परमेश्वरलाई थाहा छ, अनि म आशा गर्छु, कि तिमीहरूको विवेकलाई पनि थाहै होला। 12हामीले फेरि तिमीहरूको सामु आफ्नै तारीफ गर्ने चेष्टा गरिरहेका छैनौं, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौं। 13कसैले भनेजस्तै, यदि हाम्रो होश ठेगानमा छैन भने यो परमेश्वरको इच्छा पूरा गर्नको लागि हो; अनि यदि हामी होशमै छौं भने त्यो तिमीहरूको फाइदाको लागि हो। 14ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनकि हामीलाई यो पक्का छ, कि एकजना सबैको निम्ति मर्नुभएकोले नै सबै मरेका छन्। 15अनि उहाँ सबैको निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू आफ्नै लागि होइन, तर तिनीहरूको लागि मर्नुहुने र फेरि पुनर्जीवित हुनुहुनेको लागि बाँचून्।
16यसकारण अब उप्रान्त हामी कसैलाई पनि सांसारिक दृष्टिकोणले हेर्दैनौं। एकपल्ट हामीले ख्रीष्टलाई पनि यसरी नै हेरेका थियौं, तर अब त्यसो गर्नेछैनौं। 17यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; अब नयाँ आएका छन्। 18यी सबै परमेश्वरबाट नै हुन्, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, अनि हामीलाई मिलापको सेवा दिनुभएको छ, 19कि मानिसहरूको पापको लेखा तिनीहरूको विरुद्ध नराखी परमेश्वर आफैले ख्रीष्टमा संसारलाई मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि उहाँले हामीलाई मिलापको सन्देश सुम्पिनुभयो। 20परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैं हामी ख्रीष्टको निम्ति राजदूतहरू हौं। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौं: परमेश्वरसित मिलाप गर। 21हामी ख्रीष्टमा परमेश्वरका धार्मिकता बनौं भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
अहिले सेलेक्ट गरिएको:
2 कोरिन्थी 5: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.