YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 4

4
माटोको भाँडामा धन
1यसकारण परमेश्‍वरको कृपाले हामीले यो सेवा पाएको हुनाले हामी हताश हुँदैनौं। 2बरु हामीले गुप्‍त अनि शर्म लाग्दा मार्गहरू त्यागेका छौं। हामी छल गर्दैनौं, न ता परमेश्‍वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौं। यसको विपरीत हामी परमेश्‍वरको दृष्‍टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौं। 3अनि यदि हामीले प्रचार गरेको सुसमाचारमा घुम्टो लागेको छ भने त्यो घुम्टोचाहिँ नष्‍ट हुनेहरूको लागि मात्र लागेको हो। 4परमेश्‍वरको प्रतिरूप, ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस युगको देवले अविश्‍वासीहरूको मनलाई दृष्‍टिविहीन तुल्याइदिएको छ। 5किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौं, अनि हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौं। 6तर “अन्धकारमा ज्योति चम्कोस्,”#4:6 उत्प 1:3 आज्ञा गर्नुहुने परमेश्‍वरले, ख्रीष्‍टको अनुहारमा देखिएको परमेश्‍वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभयो।
7तर यो सबैभन्दा ठूलो शक्‍ति हामीबाट होइन, तर परमेश्‍वरबाट हो भनी देखाउनलाई हामीसित यो धन माटाको भाँडामा छ। 8हामी चारैतिरबाट थिचिएका छौं, र पनि पिसिएका छैनौं; अन्योलमा परेका छौं, र पनि हताश भएका छैनौं; 9सताइएका छौं, तर त्यागिएका छैनौं; प्रहारद्वारा ढलेका छौं, तर नष्‍ट भएका छैनौं। 10हाम्रो शरीरमा येशूको जीवन देखियोस् भनेर हामी सधैं आफ्ना शरीरमा उहाँको मृत्यु बोकेर हिँड्छौं। 11किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्‍टको निम्ति सधैं मृत्युको लागि सुम्पिएका छौं। 12यसरी हामी सधैं मृत्युको सामना गर्छौं, ताकि तिमीहरूले अनन्त जीवन प्राप्‍त गर्न सक।
13धर्मशास्त्रमा यसरी लेखिएको छ: “मैले विश्‍वास गरें, र म बोलें।”#4:13 भजन 116:10 त्यही विश्‍वासको आत्माद्वारा हामी पनि विश्‍वास गर्छौं, अनि बोल्छौं। 14किनकि हामी जान्दछौं, कि जसले प्रभु येशूलाई मृत्युबाट पुनर्जीवित पार्नुभयो, उहाँले येशूसँगै हामीलाई पनि पुनर्जीवित पार्नुहुनेछ, अनि उहाँको उपस्थितिमा हामीलाई तिमीहरूसितै उपस्थित गराउनुहुनेछ। 15यी सबै तिमीहरूकै फाइदाको लागि हुन्, जसमा धेरै मानिसहरूमा पुगिरहेको अनुग्रहले परमेश्‍वरको महिमाको लागि धन्यवाद पोखिनदेओस्।
16यसकारण हामी हरेस खाँदैनौं। किनकि हाम्रो र बाहिरी मनुष्यत्व नष्‍ट भए तापनि हामी भित्री मनुष्यत्वमा दिनानुदिन नयाँ हुँदै जाँदैछौं। 17किनकि हाम्रो हल्का र क्षणभरको कष्‍टले हामीलाई अनन्तको महिमा प्राप्‍त हुनेछ, जुन यी सबै कष्‍टहरूको तुलनामा केही पनि होइन। 18यसकारण हामी आफ्ना आँखा देखिने थोकहरूमा होइन, तर नदेखिने थोकहरूमा केन्द्रित गर्दछौं। किनकि देखिने थोक क्षणिक हुन्छ, तर नदेखिनेचाहिँ अनन्तको हुन्छ।

अहिले सेलेक्ट गरिएको:

2 कोरिन्थी 4: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्