तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए, र भने:
“हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्वर, के स्वर्गमा हुनुहुने परमेश्वर तपाईं नै हुनुहुन्न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन। हे हाम्रा परमेश्वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र? तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्, ‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’
“तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले। तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्। हे हाम्रा परमेश्वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।”
यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए।
तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए।
तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्वरको हो। भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ। तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ”
यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे। तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्वरको प्रशंसा गरे।
बिहानै तिनीहरू तकोमा भएको उजाडस्थानतिर लागे। तिनीहरू निस्कँदा यहोशापातले खडा भएर भने, “हे यहूदा र यरूशलेमका मानिस हो, मेरो कुरा सुन! याहवेह आफ्ना परमेश्वरमाथि विश्वास गर, तब उहाँले तिमीहरूलाई सम्हाल्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर, तब तिमीहरू सफल हुनेछौ।” मानिसहरूसित सल्लाह लिएपछि यहोशापातले याहवेहको पवित्रताको गौरवको निम्ति उहाँको स्तुति-प्रशंसा गर्न भनी मानिसहरूलाई नियुक्त गरे। तिनीहरू फौजको अगाडि यसो भन्दै गए:
“याहवेहलाई धन्यवाद देओ;
किनकि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए। अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे।
जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन। यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो। चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए, जहाँ तिनीहरूले याहवेहको प्रशंसा गरे। यसैकारण त्यसलाई आजको दिनसम्मै बराकाहको बेँसी भनिन्छ।
तब यहोशापातको अगुवाइमा यहूदा र यरूशलेमका सबै मानिसहरू हर्षसाथ यरूशलेममा फर्के। किनकि याहवेहले तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि रमाउने कारण दिनुभएको थियो। तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए।
सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्वरको डर तिनीहरूमा छायो। यहोशापातको राज्य शान्तिमा रह्यो; किनकि तिनका परमेश्वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो।