२ इतिहास 20:5-30

२ इतिहास 20:5-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहूदा र यरूशलेमका सभाको सामुन्‍ने परमप्रभुका मन्‍दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने: “हे परमप्रभु हाम्रा पुर्खाहरूका परमेश्‍वर, के तपाईं नै स्‍वर्गमा विराजमान हुनुहुने परमेश्‍वर हुनुहुन्‍न? तपाईं जाति-जातिका सबै राज्‍यहरूमा शासन गर्नुहुन्‍छ। तपाईंकै हातमा शक्ति र बल छन्‌। तपाईंको सामना गर्ने कोही छैन। हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो प्रजा इस्राएलको सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र आफ्‍ना मित्र अब्राहामका सन्‍तानलाई सदासर्वदाको निम्‍ति त्‍यो दिनुभएको होइन? तिनीहरू त्‍यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्‍ति यसो भनेर एउटा वासस्‍थान बनाएका छन्, ‘यदि विपत्ति हामीमाथि आइलाग्‍यो भने, अर्थात्‌ न्‍यायको तरवार वा रूढ़ी वा अनिकाल पर्‍यो भने, हामी यस मन्‍दिरको अगि जहाँ तपाईंको नाउँ छ, र तपाईंको सामुन्‍ने खड़ा हुनेछौं। अनि हामी आफ्‍नो विपत्तिमा तपाईंलाई पुकार्नेछौं, र तपाईंले हाम्रो बिन्‍ती सुनेर हामीलाई बचाउनुहुनेछ’। “मिश्रदेशबाट आउँदा तपाईंले इस्राएललाई अम्‍मोनी र मोआबीहरू र सेइर पर्वतका मानिसहरूको देशमा पस्‍न मनाही गर्नुभएको थियो, र यसैले उनीहरू यहाँ आएका छन्‌। इस्राएलीहरूले उनीहरूलाई त्‍यसै छोड़िदिए, र उनीहरूलाई नाश गरेनन्‌। तर अब हेर्नुहोस्, यी मानिसहरूले हामीलाई कस्‍तो बदला दिइरहेछन्‌। तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको जग्‍गादेखि उनीहरू हामीलाई धपाउन आइरहेछन्‌। हे हाम्रा परमेश्‍वर, उनीहरूको न्‍याय तपाईं गर्नुहुन्‍न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्‍य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हामी आफ्‍ना आँखा तपाईंतिर उठाउँछौं।” यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्‍नीहरू र तिनीहरूका बालकहरूसमेत त्‍यहाँ परमप्रभुको सामुन्‍ने खड़ा भए। तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा उत्रनुभयो। तिनी मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए। तिनले भने, “हे यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात सुन्‍नुहोस्, परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ: ‘नडराओ, यस ठूलो सैन्‍यदलदेखि नआत्तिओ। किनभने लड़ाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन। भोलि उनीहरूसँग युद्ध गर्न निस्‍क। उनीहरू जीजको उकालोबाट भएर आउँछन्‌। तिमीहरूले उनीहरूलाई यरूएलको उजाड़-स्‍थानमा भएको खोलाको पल्‍लो छेउमा भेट्‌नेछौ। यो लड़ाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्‍नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्‍किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।” यहोशापात भूइँमा घोप्‍टो परे, र यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरू परमप्रभुको सामुन्‍ने दण्‍डवत्‌ गर्न घोप्‍टो परे। तब कहात र कोरहका वंशका कोही लेवीहरू खड़ा भए, र चर्को सोरले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गरे। तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड़-स्‍थानमा गए। तिनीहरू निस्‍केर जाँदा खड़ा भएर यहोशापातले भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्‍वरको विश्‍वासमा तिमीहरू स्‍थिर भइरहो, र उहाँले तिमीहरूलाई थामिराख्‍नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, र तिमीहरूको फलिफाप हुनेछ।” मानिसहरूसित सल्‍लाह गरेपछि तिनले कति जनालाई परमप्रभुको स्‍तुतिगान र उहाँका पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अगिअगि गएर गाउनलाई नियुक्त गरे। अनि तिनीहरूले यसो भनेर गाए, “परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।” तिनीहरूका प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहूदासँग युद्ध गर्न आएका अम्‍मोनी, मोआबी र सेइर पर्वतका मानिसहरूलाई अलमल्‍याइदिनुभयो, र उनीहरू परास्‍त भए। अम्‍मोनी र मोआबीहरू सेइर पर्वतका मानिसहरूका विरुद्धमा उनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब उनीहरूले सेइरका मानिसहरूलाई नाश गरिसके, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्‍धाधुन्‍ध आक्रमण गर्न लागे। जब यहूदाका मानिसहरू उजाड़-स्‍थानमा भएको अल्‍गो ठाउँमा आइपुगे र शत्रुको सैन्‍य-दललाई हेरे, तब त्‍यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्‍ये एउटै पनि उम्‍केको थिएन। जब यहोशापात र तिनका मानिसहरू लूटका माल जम्‍मा गर्न आए, तब तिनीहरूले असंख्‍य सामानहरू, लुगाफाटाहरू र बहुमूल्‍य थोकहरू लानै नसक्‍ने गरी लुटेर लगे। तिनीहरूले तीन दिनसम्‍म लूटका माल जम्‍मा गरे, किनभने ती त्‍यति धेरै थिए। चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए। तिनीहरूले त्‍यहाँ परमप्रभुको प्रशंसा गरेका हुनाले आजको दिनसम्‍मै त्‍यसको नाउँ त्‍यही छ। त्‍यसपछि यहूदा र यरूशलेमका सबै मानिसहरू यहोशापातलाई अगि लाएर विजयको साथ सहरमा फर्के, किनभने परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई विजयी तुल्‍याउनुभएको थियो। तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्‍दिरभित्र गए। परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्‍यहरूमा परमेश्‍वरको भय फैलियो। यहोशापातको राज्‍यमा शान्‍ति भयो, किनभने परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभयो।

शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्

२ इतिहास 20:5-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए, र भने: “हे याहवेह, हाम्रा पुर्खाहरूका परमेश्‍वर, के स्वर्गमा हुनुहुने परमेश्‍वर तपाईं नै हुनुहुन्‍न? तपाईंले पृथ्वीका सारा राज्यहरूमा शासन गर्नुहुन्छ। अधिकार र शक्ति तपाईंकै हातमा छन्, र कोही पनि तपाईंको विरुद्धमा खडा हुन सक्दैन। हे हाम्रा परमेश्‍वर, के तपाईंले आफ्नो जाति इस्राएलको सामु यस देशका मानिसहरूलाई धपाएर यसलाई तपाईंको मित्र अब्राहामका सन्तानहरूलाई सदाका निम्ति दिनुभएको होइन र? तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्, ‘यदि हामीमाथि कुनै विपत्ति आयो भने अथवा न्यायको तरवार अथवा महामारी अथवा अनिकाल आयो भने हामी तपाईंको नाम भएको यस मन्दिरको सामु तपाईंको उपस्थितिमा खडा भएर आफ्नो सङ्कष्‍टमा तपाईंलाई पुकार्नेछौँ; अनि तपाईंले हाम्रो अर्जबिन्ती सुनेर हामीलाई बचाउनुहुनेछ।’ “तर अब यहाँ अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरू आएका छन्। इस्राएलीहरू इजिप्टबाट भएर आउँदा तिनीहरूका प्रान्तमा तपाईंले इस्राएलीहरूलाई आक्रमण गर्न दिनुभएन। यसैकारण इस्राएलीहरू यिनीहरूलाई नाश नगरी गइहाले। तिनीहरूले हामीलाई तपाईंले उत्तराधिकारस्वरूप दिनुभएको ठाउँबाट धपाउनलाई आएर कसरी बदला लिइरहेका छन्, त्यो हेर्नुहोस्। हे हाम्रा परमेश्‍वर, के तपाईंले तिनीहरूको न्याय गर्नुहुन्‍न? किनकि हामीमाथि आक्रमण गर्ने यो विशाल फौजको सामना गर्ने शक्ति हामीमा छैन।” यहूदाका सबै मानिसहरू, तिनीहरूका पत्नीहरू, सन्तानहरू र काखका बालबच्‍चाहरूसमेत त्यहाँ याहवेहको सामु खडा भए। तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए। तिनले भने: “हे सबै यहूदा र यरूशलेमका मानिसहरू र राजा यहोशापात, सुन्‍नुहोस्! याहवेहले तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: ‘यो विशाल फौजको कारण नडराओ, र निराश नहोओ; किनकि यो लडाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो। भोलि तिनीहरूको विरुद्धमा तल जाओ। तिनीहरू जीजको घाटीबाट उकालो चढिरहेका हुनेछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको वनमा भएको घाटीमा भेट्टाउनेछौ। तिमीहरूले यो लडाइँ लड्नु पर्नेछैन। आफ्नो मोर्चा लिनू र दह्रो भई खडा रहनू। हे यहूदा र यरूशलेम, याहवेहले तिमीहरूलाई दिने छुटकारालाई हेर! नडराओ र निराश नहोओ; भोलि तिनीहरूको सामना गर्न निस्कनू र याहवेह तिमीहरूसित हुनुहुनेछ।’ ” यहोशापात भुइँतिर अनुहार पारेर घोप्टो परे; अनि यहूदा र यरूशलेमका मानिसहरू याहवेहको सामु दण्डवत् गर्न घोप्टो परे। तब कहात र कोरहतर्फका केही लेवीहरू उभिएर चर्को सोरले याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा गरे। बिहानै तिनीहरू तकोमा भएको उजाडस्थानतिर लागे। तिनीहरू निस्कँदा यहोशापातले खडा भएर भने, “हे यहूदा र यरूशलेमका मानिस हो, मेरो कुरा सुन! याहवेह आफ्ना परमेश्‍वरमाथि विश्‍वास गर, तब उहाँले तिमीहरूलाई सम्हाल्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्‍वास गर, तब तिमीहरू सफल हुनेछौ।” मानिसहरूसित सल्‍लाह लिएपछि यहोशापातले याहवेहको पवित्रताको गौरवको निम्ति उहाँको स्तुति-प्रशंसा गर्न भनी मानिसहरूलाई नियुक्त गरे। तिनीहरू फौजको अगाडि यसो भन्दै गए: “याहवेहलाई धन्यवाद देओ; किनकि उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तिनीहरूले स्तुति-प्रशंसाका गीतहरू गाइरहेको बेला याहवेहले यहूदामाथि आक्रमण गर्ने अम्मोन, मोआब र सेइर पर्वतका मानिसहरूको विरुद्धमा धरापहरू राखिदिनुभयो, र तिनीहरू परास्त भए। अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे। जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन। यसकारण यहोशापात र तिनका मानिसहरू लुटका माल बटुल्न गए। अनि तिनीहरूले उनीहरूसित प्रशस्त मात्रामा सामानहरू, लुगाहरू र मूल्यवान् चीजहरू बोक्न नसक्ने गरी पाए। लुटको माल यति धेरै थियो कि त्यो बटुल्न तिनीहरूलाई तीन दिन लाग्यो। चौथो दिन तिनीहरू बराकाहको बेँसीमा भेला भए, जहाँ तिनीहरूले याहवेहको प्रशंसा गरे। यसैकारण त्यसलाई आजको दिनसम्मै बराकाहको बेँसी भनिन्छ। तब यहोशापातको अगुवाइमा यहूदा र यरूशलेमका सबै मानिसहरू हर्षसाथ यरूशलेममा फर्के। किनकि याहवेहले तिनीहरूलाई आफ्ना शत्रुहरूमाथि रमाउने कारण दिनुभएको थियो। तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए। सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्‍वरको डर तिनीहरूमा छायो। यहोशापातको राज्य शान्तिमा रह्‍यो; किनकि तिनका परमेश्‍वरले तिनलाई चारैतिर विश्राम दिनुभएको थियो।

शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्

२ इतिहास 20:5-30 पवित्र बाइबल (NERV)

यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। तिनले भने, “हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन। तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तपाईंले यो देशमा बस्ने मानिसहरूलाई छोडन बाध्य तुल्याउनु भयो। तपाईंले तपाईंका इस्राएली मानिसहरूका सामुन्ने यो काम गर्नु भयो। तपाईंले यो देश सदाको निम्ति अब्राहामका सन्तानहरूलाई दिनु भयो। अब्राहम तपाईंका मित्र थिए। अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे। तिनीहरूले भने, ‘यदि हामी माथि कष्ट आइपरे अर्थात तरवार, दण्ड, रोग वा अनिकाल, हामी यो मन्दिरको सामुन्ने अनि तपाईंको सामुन्ने उभिने छौं। तपाईंको नाउँ यो मन्दिरमा छ। हामी तपाईंलाई पुकार्ने छौं जब हामी कष्टमा पर्छौ। त्यसबेला तपाईंले हाम्रो बिन्ती सुनिदिनु हुनेछ अनि हामीलाई बचाउँनु हुनेछ।’ “तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्। तर हेर्नुहोस् तिनीहरूलाई ध्वंश नगरेकोमा ती मानिसहरूले हामीलाई कस्तो प्रकारको पुरस्कार दिए। तिनीहरू हामीलाई तपाईंको भूमिदेखि निकाल्न वाध्य तुल्याउन आएका छन्। तपाईंले यो भूमि हामीलाई दिनु भयो। हाम्रा परमेश्वर, तिनीहरूलाई दण्ड दिनु होस्। यो विशाल सेनाको विरूद्ध हाम्रो केही शक्ति छैन, जो हामी विरूद्ध आउँदैछन्। के गर्नु पर्ने सो हामी जान्दैनौं। त्यसै कारणले हामी सहायताका निम्ति तपाईं तिर हेर्दछौं।” यहूदाका समस्त मानिसहरू तिनीहरूका बालकहरू, पत्नीहरू अनि छोरा-छोरीहरू परमप्रभुको सामुन्ने उभिए। तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माझमा। यहजीएलले भने, “मेरो कुरा सुन्नुहोस् राजा यहोशापात, यहूदा अनि यरूशलेममा बस्ने समस्त मानिसहरू। परमप्रभुले तपाईंलाई यसो भन्नु हुन्छः ‘यो विशाल सेनाको बारेमा भयभीत नहोऊ, चिन्ता नलेउ किनभने यो युद्ध तिमीहरूको युद्ध होइन। यो परमेश्वरको युद्ध हो। भोलि त्यहाँ तल जाऊ अनि ती मानिसहरूसित युद्ध गर। तिनीहरू सीसको उकालो भएर माथि आउने छन्। तिमीहरूले तिनीहरूलाई यरूएल मरुभूमिको अर्को छेऊमा भएको बेंसीको छेउमा भेट्नेछौ। यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’” यहोशापात तल निहुरिए। तिनको शिरले भूई छोयो। अनि यहूदाका सबै मानिसहरू र यरूशलेममा बस्ने मानिसहरू परमप्रभुको सामुन्ने झुके। अनि तिनीहरू सबैले परमप्रभुको उपासना गरे। कहात परिवार समूहका अनि कोरह परिवार समूहका लेवीहरू इस्राएलका परमप्रभु परमेश्वरको स्तुति गर्नका निम्ति उभिए। परमप्रभुको स्तुति गर्दा तिनीहरूको आवाज एकदमै चर्को थियो। यहोशापातका सेनाहरू बिहानै तको मरुभूमि तिर गए। तिनीहरू जसै हिंड्न थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।” यहोशापातले मानिसहरूलाई उत्साहित तुल्याए अनि निर्देशन दिए। त्यसपछि तिनले परमप्रभुका निम्ति गायकहरू चुने। ती गायकहरूलाई परमप्रभु प्रति स्तुति अर्पण गर्नलाई चुनिएका थिए किनभने उहाँ पवित्र आश्चर्यजनक हुनुहुन्छ। तिनीहरू सेनाका अघि हिंडे अनि परमप्रभुको स्तुति गरे। तिनीहरूले गीत गाए, “परमप्रभुको स्तुति गर! किनभने उहाँको प्रेम सदा-सर्वदा रहिरहन्छ।” जसै ती मानिसहरूले गाउन र परमेश्वरको स्तुति गर्न शुरू गरे, परमप्रभुले अम्मोनी, मोआबी अनि सेईर पर्वतका मानिसहरू माथि गुप्त आक्रमण चलाइ दिनु भयो। ती, मानिसहरू जो यहूदा माथि आक्रमण गर्न आएका थिए। अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक-अर्कालाई पनि मारे। यहूदाका मानिसहरू मरुभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइईँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्। यहोशापात अनि तिनका सेना ती शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले अनेक पशुहरू, धन, बस्त्र अनि मूल्यवान चीजहरू पाए। यहोशापात अनि उनका सेनाले ती बस्तुहरू आफ्नै निम्ति लगे। ती चीजहरू यहोशापात अनि तिनका मानिसहरूले बोक्न सक्ने भन्दा अधिक थिए। तिनीहरूले मृत शरीरहरूबाट मूल्यवान चीजहरू लानलाई तीन दिन लगाए, किनभने चीजहरू अधिक थिए। चौथो दिनमा यहोशापात अनि तिनका सेनाले बराका उपत्यकामा भेट गरे। तिनीहरूले त्यस स्थानमा परमप्रभुको स्तुति गरे। त्यसै कारणले मानिसहरूले त्यस स्थानलाई आज पनि “बराका-बेंसी” भन्छन्। त्यसपछि यहोशापातले यहूदा अनि यरूशलेमका मानिसहरूलाई यरूशलेममा फर्काएर ल्याए। परमप्रभुले तिनीहरूलाई अत्यन्त खुशी तूल्याउनु भयो।, किनभने तिनीहरूका शत्रुहरू परास्त भए। तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए। सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो। त्यसै कारणले गर्दा यहोशापातका राज्यमा शान्ति थियो। यहोशापातका परमेश्वरले तिनलाई तिनका चारै तिर शान्ति प्रदान गर्नु भयो।

शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्

२ इतिहास 20:5-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरू यरूशलेमका बासिन्‍दाहरू मन्‍दिरको नयाँ आँगनमा भेला भए। यहोशापात राजा गएर तिनीहरूका सामुन्‍नेमा उभिए र उच्‍च सोरले प्रार्थना गरे, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, स्‍वर्गमा तपाईंले सारा संसारका जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ। तपाईं बलियो र शक्तिशाली हुनुहुन्‍छ। कसैले तपाईंको सामना गर्न सक्‍दैन। तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। जब तपाईंका प्रजा इस्राएल यस देशमा सर्दैआए, तपाईंले यस देशमा बास गर्ने मानिसहरूलाई धपाउनुभयो र आफ्‍ना मित्र अब्राहामका सन्‍तानलाई त्‍यो देश सदाकालको निम्‍ति दिनुभयो। तिनीहरूले यहाँ बसोबास गरेर तपाईंको आदरमा मन्‍दिर बनाएका छन्। हामीमाथि दण्‍डका रूपमा आपत् आइलाग्दा, लडाइँ, महामारी र अनिकाल आएको खण्‍डमा हामी आएर तपाईंको आराधना गरिने यस मन्‍दिरको सामुन्‍ने खडा हुन सक्‍छौं भनी तिनीहरूले जान्‍दछन्। आफ्‍ना कष्‍टका दिनमा तिनीहरूले तपाईंलाई प्रार्थना गर्न सक्‍छन् र तिनीहरूको बिन्‍ती सुनेर तपाईंले तिनीहरूलाई बचाउनुहुन्‍छ। “अब अम्‍मोन, मोआब र एदोमका मानिसहरूले हामीलाई आक्रमण गरेका छन्। हाम्रा पुर्खाहरू मिश्रबाट निस्‍किआउँदा तपाईंले तिनीहरूलाई ती देशमा पस्‍न दिनुभएन। हाम्रा पुर्खाहरू ती देशका बाहिरबाट घुमेर आए र तिनलाई नाश पारेनन्। त्‍यसको बदलामा तिनीहरू हामीलाई तपाईंले दिनुभएको देशबाट धपाउन आउँदै छन्। तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ! तिनीहरूलाई दण्‍ड दिनुहोस् किनभने हामीलाई आक्रमण गर्न आएको यो ठूलो सेनाअघि हामी असहाय छौं। के-कसो गर्ने भनेर हामी जान्‍दैनौं, तर हामी सहायताको निम्‍ति तपाईंतिर आँखा उचाल्‍छौं।” यहूदाका सबै पुरुषहरू आफ्‍ना स्‍वास्‍नी, बाल-बच्‍चालाई साथमा लिएर त्‍यहाँ मन्‍दिरमा उभिएका थिए। भीडमा भएका एक जना लेवीमाथि परमप्रभुको आत्‍मा उत्रनुभयो। तिनको नाम यहासेल थियो। तिनी जकरियाका छोरा थिए। तिनी मत्तन्‍याह, यहीएल र बनायाहबाट जन्‍मेका र आसापका गोत्रका पुरुष थिए। यहासेलले भने, “हे राजन्! अनि यरूशलेम र यहूदाका सबै बासिन्‍दाहरू हो! परमप्रभु भन्‍नुहुन्‍छ कि तिमीहरू यो ठूलो सेनाको सामना गर्न हताश नहुनू वा नडराउनू! लडाइँ परमेश्‍वरमा निर्भर छ, तिमीहरूमा होइन। भोलि तिनीहरू जीजको घाँटीबाट आएका बेलामा तिनीहरूमाथि हमला गर्नू। यरूएलको छेउको उजाड-भूमिमा पुर्‍याउने बेसी टुङ्गिएको ठाउँमा तिमीहरूसित तिनीहरूको भेट हुनेछ। तिमीहरूले यो लडाइँ लड्‍नुपर्नेछैन। खालि आफ्‍ना स्‍थानमा गई जागा होओ र पर्खिबस। परमप्रभुले तिमीहरूलाई विजय दिनुभएको देख्‍नेछौ। हे यहूदा र यरूशलेमका बासिन्‍दाहरू हो, दुबिधामा नपर, नडराओ! लडाइँ गर्न निस्‍क र परमप्रभु तिमीहरूसित हुनुहुन्‍छ!” तब यहोशापात राजाले भूइँसम्‍म टाउको निहुराएर प्रणाम गरे र सबै मानिसहरूले पनि तिनीसित घोप्‍टिएर परमप्रभुलाई पुजे। कहात र कोरह गोत्रका लेवीहरूले खडा भएर चर्को सोरले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गरे। भोलिपल्‍ट सबेरै मानिसहरू तकोछेउको उजाड-भूमिमा गए। तिनीहरू निस्‍कँदैगर्दा यहोशापातले तिनीहरूलाई यसरी भने, “हे यहूदा र यरूशलेमका मानिसहरू हो! परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरू दरिला हुनेछौ। अगमवक्ताहरूले भनेका कुरामा भरोसा राख र तिमीहरू सफल हुनेछौ।” मानिसहरूसित सल्‍लाह गरेर राजाले केही गीत गाउन र बाजा बजाउनेहरूलाई पवित्र अवसरमा तिनीहरूले पैरने पोशाक लाउने र सेनाको अघि-अघि यसरी गाउँदै हिंड्‍ने आज्ञा दिए, “परमप्रभुको प्रशंसा गर! उहाँको प्रेम अमर छ!” जसै तिनीहरूले गाउन थाले, परमप्रभुले आक्रमण गर्ने सेनाहरूका बीचमा आतङ्क फैलाउनुभयो। अम्‍मोनी र मोआबीहरूले एदोमी सेनामाथि हमला गरे र त्‍यसलाई ध्‍वस्‍त पारे। त्‍यसपछि तिनीहरूले एक-अर्कामाथि आपसमा हमला गर्न थाले र घमासान युद्ध गरे। यहूदाका सेना उजाड-भूमिमा भएको एउटा धरहराछेउ आइपुग्‍दा तिनीहरूले आफ्‍ना शत्रुहरूलाई हेरे र ती सबै मरेर जमिनमा लडिरहेका देखे। एक जना पनि जिउँदो थिएन। यहोशापात र तिनका फौज लुटका माल बटुल्‍न अघि बढे र तिनीहरूले धेरै गाई-वस्‍तु, अन्‍न-पानी, लत्ता-कपडा र अरू दामी थोकहरू हात पारे। तीन दिनसम्‍म तिनीहरूले लुटका माल बटुले। तर पनि यति बिघ्‍न सामान थियो कि तिनीहरूले सबै कुरा उठाउन सकेनन्। चौथो दिन तिनीहरू बराकाहको बेसीमा जम्‍मा भए र परमप्रभुका सारा कामको निम्‍ति उहाँको प्रशंसा गरे। त्‍यसैकारण त्‍यस बेसीलाई ‘बराकाह’ भन्‍दछन्। यहोशापातले विजयको हर्षको साथ यरूशलेममा आफ्‍ना सेना फर्काइलगे किनभने परमप्रभुले तिनका शत्रुहरूको हार गराउनुभएको थियो। सहरमा पुगेपछि तिनीहरू वीणा र तुरहीको सङ्गीतसाथ मन्‍दिरमा गए। कसरी परमप्रभुले इस्राएलका शत्रुहरूलाई हराउनुभएको थियो, त्‍यो सुन्‍ने हरेक जाति भयभीत भयो र यहोशापातले शान्‍तिसित राज्‍य गरे। परमेश्‍वरले तिनलाई चारैतिरबाट सुरक्षित राख्‍नुभयो।

शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्