YouVersion लोगो
खोज आइकन

1 शमूएल 5:1-9

1 शमूएल 5:1-9 NCV

पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्‍याए। तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे। भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे। अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो। यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्‍ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्। अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले सताउनुभयो। जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने, “इस्राएलको देवताको सन्दुक हामीसँग यहाँ राख्नुहुँदैन; किनकि उहाँको बाहुलीको भार हामी र हाम्रो देवता दागोनमाथि परेको छ।” यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए, र तिनीहरूलाई सोधे, “हामीले इस्राएलका देवताको सन्दुकलाई के गरौँ?” तिनीहरूले जवाफ दिए, “इस्राएलको देवताको सन्दुकलाई गातमा पठाइदेओ।” यसकारण तिनीहरूले परमेश्‍वरको सन्दुकलाई गातमा सारे। तर तिनीहरूले त्यसलाई सारेपछि याहवेहको बाहुली त्यस सहरको विरुद्धमा उठ्यो; र तिनीहरूमा ठूलो आतङ्क फैलियो। उहाँले त्यस सहरका मानिसहरू, जवान र वृद्ध दुवैमाथि गिर्खाहरू पठाइदिनुभयो।

1 शमूएल 5 पढ्नुहोस्