१ शमूएल 5:1-9
१ शमूएल 5:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पलिश्तीहरूले परमेश्वरका करारको सन्दूक कब्जा गरेर लगेपछि उनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याए। अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए, र दागोनकै छेउमा राखे। भोलिपल्ट जब अश्दोदका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए। तर भोलिपल्ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे, अनि त्यसको टाउको र दुई हातचाहिँ छिन्नभिन्न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्यहाँ रहेको थियो। यसैकारण त्यस दिनदेखि यसो अश्दोदमा दागोनका पूजाहारीहरू र दागोनको मन्दिरमा पस्नेहरू सबै दागोनको सँघारमा खुट्टाले टेक्दैनन्। तब परमप्रभुका हातको प्रकोप अश्दोदका र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दु:ख दिनुभयो, र गिर्खाको रूढ़ीले सताउनुभयो। अनि उनीहरूको इलाकामा हूलका हूल मूसाहरू निस्के। उनीहरूका सहरहरूभरि नै मृत्यु र विनाश छायो। जब अश्दोदका मानिसहरूले यो देखे उनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई यहाँ हामीसँग राख्नुहुँदैन, किनभने उहाँका हातको प्रकोप हामीमाथि र हाम्रो देवता दागोनमाथि परेको छ।” यसैले सन्दूकलाई के गर्नुपर्छ भनी सोध्नलाई उनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दूक पारि गातमा पुर्याइओस्।” उनीहरूले त्यो त्यहाँ लगे। तर त्यो त्यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठ्यो र त्यो सहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला-साना सबैलाई उहाँले गिर्खाको रूढ़ीले सताउनुभयो।
१ शमूएल 5:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्याए। तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे। भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे। अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो। यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्। अश्दोद र त्यसका छेउछाउमा भएका मानिसहरूमाथि याहवेहको बाहुलीको भार परेको थियो; उहाँले तिनीहरूमाथि विनाश ल्याउनुभयो, र तिनीहरूलाई गिर्खाले सताउनुभयो। जब अश्दोदका मानिसहरूले यस्तो भएको देखे, तब तिनीहरूले भने, “इस्राएलको देवताको सन्दुक हामीसँग यहाँ राख्नुहुँदैन; किनकि उहाँको बाहुलीको भार हामी र हाम्रो देवता दागोनमाथि परेको छ।” यसकारण तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए, र तिनीहरूलाई सोधे, “हामीले इस्राएलका देवताको सन्दुकलाई के गरौँ?” तिनीहरूले जवाफ दिए, “इस्राएलको देवताको सन्दुकलाई गातमा पठाइदेओ।” यसकारण तिनीहरूले परमेश्वरको सन्दुकलाई गातमा सारे। तर तिनीहरूले त्यसलाई सारेपछि याहवेहको बाहुली त्यस सहरको विरुद्धमा उठ्यो; र तिनीहरूमा ठूलो आतङ्क फैलियो। उहाँले त्यस सहरका मानिसहरू, जवान र वृद्ध दुवैमाथि गिर्खाहरू पठाइदिनुभयो।
१ शमूएल 5:1-9 पवित्र बाइबल (NERV)
पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए। पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे। भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए। अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो। त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्। परमप्रभुले अश्दोदका मानिसहरू साथै छिमेकीहरूका जीवन पनि कष्ट पूर्ण बनाइदिनुभयो। परमप्रभुले तिनीहरूलाई असाध्यै दुःख दिनुभयो। गिर्खाको रूढी फैलाइ दिनुभयो। हुलका हुल मूसाहरू पठाउँनुभयो। मूसाहरू जहाज र जमिन जताततै दगुरिरहन्थे। शहरवासीहरू सबै डराउन थाले। जब अश्दोदवासीहरूले यो देखे तिनीहरूले भने, “इस्राएलको परमेश्वरको सन्दूक यहाँ राख्न सकिन्न। परमेश्वरले हाम्रा देवता दागोनलाई मात्र होइन तर उहाँले हामीलाई पनि पूरा दण्ड दिनुभयो।” अश्दोदका मानिसहरूले पश्लितीका सबै शासकहरूलाई बोलाए। अश्दोदवासीहरूले ती शासकहरूलाई सोधे, “हामीले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब के गर्नु पर्ने हो?” शासकहरूले भने, “इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई अब गात शहरमा पुर्याइयोस्।” यसरी पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हटाए। फेरि परमेश्वरको पवित्र सन्दूक जब गातमा पुग्यो तब देखि नै परमप्रभुले त्यस शहरलाई सजाय दिन थाल्नुभयो। मानिसहरूमा खैलाबैला भयो। परमप्रभुले के बालक के वृद्ध सबलाई दुःख दिनथाल्नु भयो। परमेश्वरले गातवासीहरूमा गिर्खाको रूढी फैलाइ दिनुभयो।
१ शमूएल 5:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
करारको सन्दुक कब्जा गरेर पलिश्तीहरूले एबेन-एजेरबाट अश्दोद सहरमा पुर्याए र तिनका देवता दागोनको मन्दिरमा लगी त्यसको मूर्तिको छेउमा राखे। भोलिपल्ट बिहान अश्दोदका मानिसहरूले दागोनको मूर्ति परमप्रभुको करारको सन्दुकको अघिल्तिर जमिनमा घोप्टो परेर लडिरहेको देखे। यसकारण तिनीहरूले मूर्ति उठाएर त्यसको ठीक ठाउँमा राखे। भोलिपल्ट बिहानै तिनीहरूले फेरि मूर्ति करारको सन्दुक अगाडि लडिरहेको देखे। यसपालिचाहिँ त्यसको टाउको र दुवै हात भाँचिएर ढोकामा पडिरहेको थियो र त्यसको जिउ मात्र बचेको थियो। (त्यसैकारण आज पनि अश्दोदमा भएका दागोनका पूजाहारी र भक्तहरू त्यो ठाउँ नाघेर हिँड्छन् र आफ्ना पाइला त्यसमाथि राख्दैनन्।) परमप्रभुले अश्दोदका मानिसहरूलाई कडा दण्ड दिनुभयो र तिनीहरू डराए। उहाँले तिनीहरूलाई र छेउ-छाउका इलाकामा भएका मानिसहरूलाई गिर्खा ल्याइदिएर दण्ड दिनुभयो। आफूलाई के भइरहेको छ, त्यो देखेर तिनीहरूले भने, “इस्राएलका परमेश्वरले हामी र हाम्रा देवता दागोनलाई दण्ड दिँदै छन्। करारको सन्दुक अब धेरै बेर हामीसित यहाँ रहन दिनुहुँदैन।” त्यसकारण तिनीहरूले सन्देशवाहकहरूलाई पठाएर पाँचै जना पलिश्ती राजाहरूलाई भेला गरे र तिनीहरूलाई सोधे, “इस्राएलका परमेश्वरको करारको सन्दुकलाई हामीले के गर्ने?” तिनीहरूले जवाफ दिए, “त्यसलाई गातमा पुर्याइदेओ।” गात अर्को एउटा पलिश्ती सहर थियो र तिनीहरूले सन्दुक त्यहाँ पुर्याइदिए। तर सन्दुक त्यहाँ पुगेपछि परमप्रभुले त्यस सहरलाई पनि सजाय दिनुभयो र त्यहाँ ठूलो आतङ्क फैलियो। उहाँले तिनीहरूलाई गिर्खा ल्याइदिएर सजाय दिनुभयो। अनि सहरका सारा मानिस, युवा र बुढा-बूढी सबैलाई त्यो रोग लाग्यो।