अनि शमूएलको वचन इस्राएलभरि नै आयो। अब इस्राएलीहरू पलिश्तीहरूको विरुद्धमा लडाइँ गर्न निस्के। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले चाहिँ अपेकमा छाउनी हाले। पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे। जब योद्धाहरू छाउनीमा फर्के, तब इस्राएलका प्रधानहरूले सोधे, “याहवेहले पलिश्तीहरूको सामु किन हामीलाई हराउनुभयो? हामी शीलोबाट याहवेहको करारको सन्दुक ल्याऔँ, ताकि उहाँ हामीसँग जाऊन्, र हामीलाई हाम्रा शत्रुहरूबाट बचाऊन्।” यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्वरको करारको सन्दुकसँग त्यहाँ थिए। जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्लिने गरी ठूलो सोरले चिच्याए। त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?” जब याहवेहको सन्दुक छाउनीमा आएको छ भनी तिनीहरूले थाहा पाए, तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन। हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए। हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।” यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए। परमेश्वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे।
1 शमूएल 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 शमूएल 4:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू