१ शमूएल 4:1-11
१ शमूएल 4:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि शमूएलको वचन इस्राएलभरि नै आयो। यतिखेर इस्राएलीहरू पलिश्तीहरूसित युद्ध गर्नलाई अगि बढ़े। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले अपेकमा छाउनी हाले। पलिश्तीहरूले इस्राएलको सामुन्ने आफ्ना पङ्क्ति बाँधे, र जब तिनीहरूका बीचमा लड़ाइँ भयो तब इस्राएलीहरू पलिश्तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका चार हजार मानिसहरू रणभूमिमा मारिए। सेना छाउनीमा फर्केर आएपछि इस्राएलका धर्म-गुरुहरूले सोधे, “आज परमप्रभुले हामीलाई किन पलिश्तीहरूद्वारा पराजित गराउनुभयो? उहाँ हामीसँग जाऊन् र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराऊन् भनेर हामी परमप्रभुका करारको सन्दूक शीलोबाट ल्याऔं।” यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र सर्वशक्तिमान् परमप्रभु, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, उहाँका करारको सन्दूक तिनीहरूले ल्याए। एलीका दुई छोरा, होप्नी र पीनहास, त्यहाँ सन्दूकको साथमा थिए। जब सन्दूक छाउनीमा ल्याइयो तब सारा इस्राएलीहरूले यति ठूलो सोरले कराए कि पृथ्वी नै काम्यो। पलिश्तीहरूले त्यो सोर सुने, र सोधे, “हिब्रूहरूको छाउनीमा भएको त्यो ठूलो हल्ला के हो?” परमप्रभुको सन्दूक छाउनीमा आयो भनी जब पलिश्तीहरूले थाहा पाए, तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्। हाम्रो त सर्वनाश भयो! यस्तो त पहिले कहिल्यै भएको थिएन। हामीमाथि हाय, यस्ता शक्तिशाली देवताहरूका शक्तिबाट हामीलाई कसले छुटाउन सक्नेछ? यी ती नै देवताहरू हुन् जसले मिश्रीहरूलाई विभिन्न महामारीद्वारा उजाड़-स्थानमा ध्वंस बनाए। हे पलिश्ती हो, आँटिला होओ, र मर्दझैँ काम गर, नत्रता जस्तो तिनीहरू तिमीहरूका कमारा थिए तिमीहरू पनि तिनीहरूका कमारा हुनेछौ। मर्दझैँ लड़ाइँ गर।” यसर्थ पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर आ-आफ्नो पालमा भागे। त्यो ठूलो हार थियो, र तीस हजार इस्राएली पैदल-सिपाहीहरू नष्ट भए। परमेश्वरको सन्दूक कब्जा गरियो, अनि एलीका दुवै छोरा, होप्नी र पीनहास मरे।
१ शमूएल 4:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि शमूएलको वचन इस्राएलभरि नै आयो। अब इस्राएलीहरू पलिश्तीहरूको विरुद्धमा लडाइँ गर्न निस्के। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले चाहिँ अपेकमा छाउनी हाले। पलिश्तीहरूले आफ्ना सेनालाई इस्राएलीहरूसँग युद्ध गर्नलाई खटाए। लडाइँ बढ्दै जाँदा पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। अनि तिनीहरूले लडाइँको मैदानमा चार हजार इस्राएलीहरूलाई मारे। जब योद्धाहरू छाउनीमा फर्के, तब इस्राएलका प्रधानहरूले सोधे, “याहवेहले पलिश्तीहरूको सामु किन हामीलाई हराउनुभयो? हामी शीलोबाट याहवेहको करारको सन्दुक ल्याऔँ, ताकि उहाँ हामीसँग जाऊन्, र हामीलाई हाम्रा शत्रुहरूबाट बचाऊन्।” यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्वरको करारको सन्दुकसँग त्यहाँ थिए। जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्लिने गरी ठूलो सोरले चिच्याए। त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?” जब याहवेहको सन्दुक छाउनीमा आएको छ भनी तिनीहरूले थाहा पाए, तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन। हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए। हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।” यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए। परमेश्वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे।
१ शमूएल 4:1-11 पवित्र बाइबल (NERV)
इस्राएलभरी शमूएलको विषयमा समाचार फैलिन थाल्यो। तर एली भने साह्रै बुढो भइसकेका थिए। तर उनका छोराहरूले भने अझै पनि परमप्रभुका अघि दुष्ट कार्य गरिनै रहे। त्यस समय, इस्राएलीहरू पलिश्तीहरूका विरूद्धमा युद्ध गर्नको निम्ति तयार भए। इस्राएलीले एबेन-एजेरमा छाउनी हाले अनि पलिश्तीहरूले अपेकमा छाउनी हाले। पलिश्तीहरू इस्राएलीहरू माथि हमला गर्न तयार भए। पलिश्तीहरूले इस्राएलीहरूलाई हराए। पलिश्तीहरूले इस्राएलका 4,000 सैनिकहरू मारिदिए। बाँकी इस्राएली सैनिकहरू फर्केर छाउनीमा पुगे। इस्राएलका बूढा प्रधानले सोधे, “परमप्रभुले पलिश्तीहरूद्वारा हामीलाई किन हराउन दिनुभयो? हामीले शीलोबाट परमप्रभुका करारको सन्दूक उठाएर ल्याऊ। यसो गरेपछि परमेश्वर हामीसँग युद्ध भूमिमा जानुहुनेछ र हामीलाई हाम्रो शत्रुबाट बचाउँनु हुनेछ।” त्यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए। सर्वशक्तिमान परमप्रभुको करारको सन्दूक लिएर मानिसहरू आए। सन्दूक माथि करूब स्वर्गदूत विराजमान थिए अनि तिनीहरू त्यस्तो प्रकारले बसेका छन् जसमाथि परमप्रभुले आसन लिनुहुन्थ्यो। एलीका छोरा होप्नी र पीनहास जो सन्दूकको रेखदेख गर्दथे तिनीहरू पनि उक्त सन्दूकसँगै आए। जब परमप्रभुको करारको सन्दूक छाउनी भित्र ल्याइयो, इस्राएलीहरूले ठूलो हल्ला गरे। त्यस हल्लाले भूमि नै हल्लियो। पलिश्तीहरूले पनि इस्राएलीहरूका हल्ला सुनें। तिनीहरूले सोधे, “हिब्रूहरूका छाउनीमा यति साह्रौ हल्ला किन हुँदैछ?” पछि पलिश्तीहरूलाई थाहा भयो कि इस्राएलीहरूका छाउनीमा करारको सन्दूक आएको छ। पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन। हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए। पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।” पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए। पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे।
१ शमूएल 4:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस बेला इस्राएलसित लडाइँ गर्न पलिश्तीहरू भेला भए र इस्राएलीहरू तिनको सामना गर्न अघि बढे। इस्राएलीहरूले एबेन-एजेरमा अनि पलिश्तीहरूले अपेकमा आफ्ना छाउनी हाले। पलिश्तीहरूले हमला गरे र घनघोर लडाइँ भएपछि इस्राएलीहरूलाई हराए र लडाइँको मैदानमा प्राय: चार हजार पुरुषहरूलाई मारे। तब बाँचेका जति छाउनीमा फर्किआए र इस्राएलका अगुवाहरूलाई भने, “आज किन परमप्रभुले पलिश्तीहरूलाई हामीमाथि विजय गर्न दिनुभयो? हामी गएर शीलोबाट परमप्रभुको करारको सन्दुक ल्याऔँ र उहाँ हामीसँग जानुहुनेछ र शत्रुदेखि हाम्रा रक्षा गर्नुहुनेछ।” यसकारण तिनीहरूले शीलोमा खबर दिएर मानिसहरू पठाए र सर्वशक्तिमान् परमप्रभु, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, उहाँको करारको सन्दुक ल्याए। एलीका दुई छोरा होप्नी र पीनहास करारको सन्दुकसाथ आए। करारको सन्दुक आइपुग्दा इस्राएलीहरूले आनन्दले यस्तो ठूलो स्वर मच्चाए कि जमिन हल्लियो। पलिश्तीहरूले त्यो स्वर सुनेर भने, “हिब्रू छाउनीमा उठेका ती सबै स्वर सुन। त्यसको अर्थ के हो?” परमप्रभुको करारको सन्दुक हिब्रू छाउनीमा आइपुग्यो भनी थाहा पाएर तिनीहरू डराए अनि भने, “तिनीहरूका छाउनीमा देवता आएका छन्! हाम्रो सर्वनाश भयो! यस्तो प्रकारको कुनै कुरा अघि कहिल्यै हामीलाई भएको थिएन! त्यस्ता शक्तिशाली देवताहरूबाट कसले हामीलाई बचाउन सक्छ? तिनै देवताहरूले मिश्रीहरूलाई मरुभूमिमा नाश पारेका थिए। साहसी बन, हे पलिश्तीहरू हो! मर्दजस्तो लड, नत्र जसरी हिब्रूहरू हाम्रा दास-दासी रहेका थिए, त्यसरी नै हामी हिब्रूहरूका दासदासी हुनेछौं। यसर्थ मर्दले झैँ लडाइँ गर!” पलिश्तीहरूले खुबै बलसित लडाइँ गरे अनि इस्राएलीहरूलाई हराए। इस्राएलीहरू दगुर्दै घरतिर फर्के। ठूलो हत्या भयो। तीस हजार इस्राएली सैनिकहरू मारिए। परमेश्वरको करारको सन्दुक कब्जामा पर्यो। एलीका छोराहरू होप्नी र पीनहास दुवै मारिए।