अनि शमूएलको वचन इस्राएलभरि नै आयो। यतिखेर इस्राएलीहरू पलिश्तीहरूसित युद्ध गर्नलाई अगि बढ़े। इस्राएलीहरूले एबेन-एजेरमा र पलिश्तीहरूले अपेकमा छाउनी हाले। पलिश्तीहरूले इस्राएलको सामुन्ने आफ्ना पङ्क्ति बाँधे, र जब तिनीहरूका बीचमा लड़ाइँ भयो तब इस्राएलीहरू पलिश्तीहरूद्वारा पराजित भए, अनि तिनीहरूका चार हजार मानिसहरू रणभूमिमा मारिए। सेना छाउनीमा फर्केर आएपछि इस्राएलका धर्म-गुरुहरूले सोधे, “आज परमप्रभुले हामीलाई किन पलिश्तीहरूद्वारा पराजित गराउनुभयो? उहाँ हामीसँग जाऊन् र हामीलाई हाम्रा शत्रुहरूको हातबाट मुक्त गराऊन् भनेर हामी परमप्रभुका करारको सन्दूक शीलोबाट ल्याऔं।” यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र सर्वशक्तिमान् परमप्रभु, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, उहाँका करारको सन्दूक तिनीहरूले ल्याए। एलीका दुई छोरा, होप्नी र पीनहास, त्यहाँ सन्दूकको साथमा थिए। जब सन्दूक छाउनीमा ल्याइयो तब सारा इस्राएलीहरूले यति ठूलो सोरले कराए कि पृथ्वी नै काम्यो। पलिश्तीहरूले त्यो सोर सुने, र सोधे, “हिब्रूहरूको छाउनीमा भएको त्यो ठूलो हल्ला के हो?” परमप्रभुको सन्दूक छाउनीमा आयो भनी जब पलिश्तीहरूले थाहा पाए, तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्। हाम्रो त सर्वनाश भयो! यस्तो त पहिले कहिल्यै भएको थिएन। हामीमाथि हाय, यस्ता शक्तिशाली देवताहरूका शक्तिबाट हामीलाई कसले छुटाउन सक्नेछ? यी ती नै देवताहरू हुन् जसले मिश्रीहरूलाई विभिन्न महामारीद्वारा उजाड़-स्थानमा ध्वंस बनाए। हे पलिश्ती हो, आँटिला होओ, र मर्दझैँ काम गर, नत्रता जस्तो तिनीहरू तिमीहरूका कमारा थिए तिमीहरू पनि तिनीहरूका कमारा हुनेछौ। मर्दझैँ लड़ाइँ गर।” यसर्थ पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर आ-आफ्नो पालमा भागे। त्यो ठूलो हार थियो, र तीस हजार इस्राएली पैदल-सिपाहीहरू नष्ट भए। परमेश्वरको सन्दूक कब्जा गरियो, अनि एलीका दुवै छोरा, होप्नी र पीनहास मरे।
१ शमूएल 4 पढ्नुहोस्
सुन्नुहोस् १ शमूएल 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ शमूएल 4:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू